‘मर्निङ वाक’ मा पनि हात्तीकै त्रास « Khabarhub

‘मर्निङ वाक’ मा पनि हात्तीकै त्रास


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

झापा– झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उनी हात्तीको आक्रमणमा परे। उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भयो ।

झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौँको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर बिहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती बिहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन् । 

एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका रैथाने हात्तीका कारण ‘मर्निङ वाक’ त्रासमय हुने गरेको छ । ‘बिहानै सडकमा हात्ती हिँड्दै गरेका हुन्छन्, मर्निङ वाक गर्न पनि डराउने अवस्था आयो’, मेचीनगर–१० धुलाबारीका गङ्गाधर पराजुलीले सुनाए। 

‘मर्निङ वाक’ मात्र होइन, विहान सडक आसपास फूल टिप्न हिँड्ने चलन पनि हात्तीकै कारण घट्दै गएको छ । हालै धुलाबारी बजारभित्रै बगैँचामा फूल टिपिरहेका बेला जङ्गली हात्तीको आक्रमणमा परी ८० वर्षीया पानालाल देवी साहको घटनास्थलमै मृत्यु भयो । ‘मर्निङ वाक’ गर्ने, च्याउ र निगुरो टिप्ने र घाँस र दाउरा संकलन गर्ने मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन् । झापाको जङ्गलमा टिपेको च्याउ र निगुरो बेचेर जीविका चलाउनेहरु धेरै छन् ।

पूर्वपश्चिम राजमार्गको चारआली जङ्गल खण्डमा दिनहुँ ५० भन्दा बढी महिला तथा बालबालिका निगुरो र च्याउ बेच्न बस्ने गरेका छन् । उनीहरु एकाबिहानै घना जङ्गलभित्र पसेर निगुरो र च्याउ संकलन गर्छन् र सडक किनारमा पसल थाप्छन् । 

निगुरो र च्याउ खोज्ने मानिसहरु हात्ती आक्रमणको जोखिममा छन् । जङ्गल पार गरेर सडकमा आउनुपर्ने र एकाविहानै जङ्गलभित्र ती वस्तु खोजी गर्नुपर्ने भएकाले उनीहरु कुनै पनि बेला हात्तीको निशानामा पर्न सक्छन् । 

हात्ती नियमित हिँड्ने बाटोमा चारआलीको निचाझोडा र जलथल वनसहित दर्जनौं सामुदायिक वन क्षेत्र छन् । मेचीनगर, अर्जुनधारा, बुद्धशान्ति, बिर्तामोड, भद्रपुर, हल्दिबारी, बाह्रदशी, कनकाई, शिवसताक्षीलगायतका क्षेत्रमा पनि हात्ती भेटिन्छन् । 

स्थानीय शिक्षक रञ्जित परियारका अनुसार निगुरो र च्याउ खोज्ने चारआली जङ्गल हात्तीले बाहुनडाँगीदेखि जलथलसम्मको पचास किलोमिटर विचरण गर्ने मुख्य बाटो मै पर्दछ । ‘दिनहुँजसो हात्ती यताउता हिँडिरहेका हुन्छन्, मानिसहरु ज्यान जोखिममा पारेर च्याउ र निगुरो टिपिरहेका हुन्छन्’, उनले भने , ‘हात्ती जङ्गलमा छ कि छैन भन्ने थाहा हुने कुरा भएन । ‘साइरन’को व्यवस्था पनि छैन ।’

डिभिजन वन कार्यालय झापाले हात्ती विचरण गर्ने जङ्गल आसपास सर्वसाधारणको सतर्कताका लागि सूचना पाटी राखेको छ । कार्यालयले हात्तीलाई नजिस्काउन, नजिक नजान र नमार्न स्थानीयलाई चेतावनी दिए पनि घाँस, दाउरा, च्याउ र निगुरोको संकलन स्थानीयको जीविकासँग जोडिएका कारण जोखिम बढेको छ ।

भद्रपुर नगरपालिका वडा नं. ७ का गिरेन कर्मकार हल्दिबारी गाउँपालिका वडा नं.२ स्थित चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मारिए । दमक वडा नं. ३ का कमैया राई हम्सेदुम्से सामुदायिक वनमा हात्तीको आक्रमणमा मारिए । 

वन्यजन्तु संरक्षण क्षेत्रमा कार्यरत अभियन्ता शङ्कर लुइँटेल जङ्गली हात्ती सामान्यतया आफू खतरामा परेको महसुस गरेपछि मात्रै आक्रमणमा उत्रिने बताउँछन् । हात्ती आहारा खोज्दै मानिसको बस्ती, खेतबारी र सहरतिर जाने गरेको हुँदा उसको लक्ष्यमा बाधा महसुस गरेपछि आक्रामक हुने गरेको उनको भनाइ छ ।

‘मानिस र हात्तीको हिँड्ने र जीवन धान्ने क्षेत्र एउटै हो,’ अभियन्ता लुइँटेलले भने, ‘हात्तीका लागि जङ्गलमा आहारा छैन । त्यसो भएकाले हात्तीहरू मानव बस्ती र खेतबारीसम्मै आइपुग्छन् । बालीनाली जोगाउने मान्छेको प्रयास र जसरी पनि बाली खाएर पेट भर्नुपर्ने हात्तीको बाध्यताका कारण मानव–हात्ती द्वन्द्व चर्किएको हो ।’

डिभिजन वन कार्यालय झापाको तथ्यांकअनुसार विगत एक दशकमा झापामा हात्तीको आक्रमणमा ६० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : ०२ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ