सरकारी क्याम्पसका शौचालय : न चुकुल, न पानी | Khabarhub Khabarhub

सरकारी क्याम्पसका शौचालय : न चुकुल, न पानी


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

देशको जेठो शैक्षिक महाविद्यालय त्रिभुवन विश्वविद्यालयले भर्खरै दीक्षान्त समारोह गर्‍यो। यहाँबाट दीक्षित हजारौं विद्यार्थीले नयाँ नयाँ सपनाका योजना सुनाए । राष्ट्रपति र प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र लिँदा उनीहरु मख्ख परे । कतिले थप अध्ययनका लागि विदेशिने बताए । 

प्रज्ञा र चेतनाका विषयमा सरकारी प्रतिवद्धता प्रकट भए । सरकारी विश्वविद्यालयको नाम अंकित गाराउनसँगै त्रिभुवन विश्वविद्यालयसंग दुखका अरु पाटा पनि छन् । चरम राजनीतिकरणले दिनप्रतिदिन त्रिविले विद्यार्थी गुमाउँदै गएको छ भने आफैँले सार्वजनिक गरेको परीक्षाको वार्षिक क्यालेण्डरसम्म लागू गराउने हुति उसंग छैन । 

मुलुकको समकालीन राजनीतिक नेतृत्वमा त्रिभुवन विश्वविद्यालयबाटै दीक्षित विद्यार्थी छन् । विद्यार्थीको अधिकांश समय क्याम्पसमा बित्छ । यही शैक्षिक थलोबाटै उनीहरूले ३ घण्टे जाँचको प्रमाणपत्र मात्र बुझ्दैनन् । शिक्षा, स्वास्थ्य, खानपान, देशका सामाजिक आयामको अध्ययन गर्छन । देशका लाखौं विद्यार्थीलाई शिक्षाको उज्यालो दिने काठमाडौंका चर्चित क्याम्पसका सरसफाइका विषयमा अध्ययन गर्ने जमर्को गरिएको छ ।  सरसफाइको पहिलो र आधारभूत ढोका शौचालयलाई यसको केन्द्रबिन्दु बनाइयो । 

शुरुमा लागौं ललितपुरको पाटनढोकास्थित पाटन क्याम्पसमा। बाहिरी वातावरण हेर्दा ठिकै देखिए पनि त्यस क्याम्पसको शौचालयको अवस्था निकै नाजुक थियो । यहाँको शौचालयभित्र पस्दा गाउँमा रहेका विद्यालयका अव्यवस्थित शौचालय नै व्यवस्थित रहेको भान पथ्र्यो । पढाईको गुणस्तर अर्को पाटो भयो । तर पाटन क्याम्पसको शौचालय निराशाजन देखियो । अझ आश्चर्य त यसको व्यवस्थापनका विषयमा न क्याम्पस प्रशासनसँग एजेण्डा थियो, न स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीसँग नै । काठमाडौंमै रहेका नाम चलेका क्याम्पसका कतिपय शौचालयमा त चुकुलै नभएको पाइयो । 

काठमाडौँको प्रदर्शनी मार्गमा अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) २०१८ सालमा स्थापना भएको हो । मानविकी र समाजशास्त्र पढाई हुने देशकै ठूलो क्याम्पस मानिन्छ आरआर । यहा स्नातक र स्नातकोत्तर तहको बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा पढाई हुन्छ ।

तर आरआरको शौचालयको अवस्था हेर्ने हो भने निकै नाजुक छ । आरआरमा शौचालयको भवन बाहिरबाट हेर्दा ठिकै देखिन्छ तर शौचालय भित्र छिर्दा नाक, मुख छोपेर भित्र पस्नुपर्ने अवस्था छ । ४–५ हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको यहाँका विद्यार्थीको गुनासो छ । 

महिला शौचालयमा महिनावारी भएको बेला प्याड व्यवस्थापन गर्ने ठाउँ नभएका कारण आफूलाई समस्या भएको बताउँछिन् आरआर क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत मरियम भट्टराई । उनले भनिन् ‘हाम्रो महिला शौचालय व्यवस्थित नहुँदा महिला विद्यार्थीहरूलाई चरम कठिनाइ भएको छ । भएको शौचालयका रुम पनि सञ्चालन नगरिएको हुँदा लाइन लागेर बस्नुपर्ने अवस्था छ।’ अर्की विद्यार्थी रूपा मैनाली शौचालय अव्यवस्थित हुँदा त्यसको असर अध्ययनमा परेको बताउँछिन्अहिलेको मानव सभ्यतामा सर्वाधिक सफा शौचालय हुनुपर्ने अवधारणा आइरहेका बखत यस्तो पवित्र ठाउँका शौचालय दुर्गन्धित हुनु शैक्षिकस्थलकै बेइज्जत हो । उनी थप्छिन, मानिसले रिफ्रेस भएर निस्कने ठाउँ नै दूषित भएपछि यसभन्दा माथिका अरु विषय उठाउनै लाजमर्दो हो । रुपाको प्रश्न छ– कम्तिमा एउटा टुक्रो साबुन र हर्पिक नहुने पनि शौचालय हुन्छ ? यस विषयमा क्याम्पस प्रशासनसंग पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको विद्यार्थीहरूको भनाइ छ । प्याड मेसिन जडान भएको तर प्याड निकाल्न नमिल्ने सास्तीबाट विद्यार्थी पीडित बनेका छन् । 

शौचालयको  दुर्गन्धले पढाई प्रभावित
आरआरको पुरुष शौचालयको ठीक माथिल्लो क्लासमा पढ्ने विद्यार्थीहरूलाई सिधै शौचालयको  दुर्गन्धले बस्नै नसकिने अवस्थामा पुर्‍याएको छ । क्लासको ठिक तलतिर शौचालय भएकाले त्यसको  दुर्गन्धले टाउकै दुख्ने गरेको यहाँ अध्ययनरत लक्ष्मण गिरीले बताए । गिरीले भने ‘४५ मिनेटको क्लास पनि घन्टौँ जस्तो लाग्छ । कतिबेला यो क्लासबाट निस्किऊँ जस्तै हुन्छ । झन शौचालयको त कुरा के गर्नु त्यो शौचालयभित्र जानुभन्दा बरु नजानु नै बेस लाग्छ मलाई ।’ विद्यार्थीहरूका थुप्रै गुनासो क्याम्पस प्रशासनले सम्बोधन गर्न नसकेको उनले गुनासो गरे । 

बीए तेस्रो वर्षमै अध्ययनरत विकास आचार्यले आरआर क्याम्पसका महिला र पुरुषले प्रयोग गर्ने दुबै शौचालय दुर्गन्धित, अव्यवस्थित रहेको बताए । उनले यसमा क्याम्पस प्रशासनको मुख्य कमजोरी रहेको बताएका छन् । शौचालय व्यवस्थितको लागि क्याम्पस प्रशासनले सरसफाइ कर्मचारी खटाएर दुर्गन्ध हटाउन आवश्यक स्रोत साधन क्याम्पसले उपलब्ध गराउनुपर्ने बताए । 

यदि क्याम्पसमा यी स्रोत साधन उपलब्ध नभए कुनै दातृ निकायबाट सहयोग मागेरै भएपनि क्याम्पसको यो समस्या समाधान गर्दै व्यवस्थित बनाउनुपर्ने उनको भनाई छ । उनले भने ‘कलेजले विद्यार्थीहरूलाई दोष देला तर यो नितान्त कलेज प्रशासनको कमजोरी हो । यसले विद्यालय वातावरण दुर्गन्धित मात्रै हैन विभिन्न रोगको संक्रमण पनि गराउन सक्छ ।’ 

यस क्याम्पसले ठूला–ठूला राजनीतिज्ञ, पत्रकार, कलाकार उत्पादन गरेको छ । तर शौचालय व्यवस्थापनको पक्षमा ध्यान दिन सकेको छैन् । यसै क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययन गरिरहेका अर्का छात्र विष्णु देवकोटाले आरआर क्याम्पस विगत लामो समयदेखि एउटा इतिहास बोकेको स्थापित क्याम्पस भएको बताएका छन् ।

यहाँका महिला र पुरुष शौचालय खासै व्यवस्थित नभएको र पुरानो संरचनामा बनेका शौचालयलाई व्यवस्थित तरिकाले पुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले विद्यार्थीहरूलाई शौच गर्न समस्या  भएको बताए । सरसफाइ कर्मचारी खटाएर क्याम्पसको शौचालय व्यवस्थापनमा विद्यालय प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 

त्यस्तै अर्का विद्यार्थी जंग तामाङले शौचालयको अवस्था निकै लज्जास्पद रहेको बताएका छन् । उनले भने ’शौचालय जानेबित्तिकै त्यो हरेकले आँखाबाट आँसु नै निस्केला जस्तो हुन्छ । ट्वाइलेट जानुपर्दा ठूलै अपराध गरेर त्यहाँ गएर जाकिए जस्तो हुन्छ । ’

क्याम्पस प्रशासन भन्छ-कमजोरी छ 
आरआर क्याम्पसका सहायक क्याम्पस प्रमुख रविनदास श्रेष्ठ शौचालय व्यवस्थापनको विषयमा छलफल भइरहेको र छिट्टै समस्या समाधान हुने बताउँछन । उनले क्याम्पस शौचालय व्यवस्थित नभएको स्वीकारेका छन् । यसैबीच उनले पुरुष शौचालय पुरानो ठाउँबाट कक्षाकोठा नजिक सारिएको हुनाले कक्षाकोठामा ट्वाइलेटको

दुर्गन्ध आएको उनले बताए । बर्खामा पानी पर्दा भलको समस्याले गर्दा पुरानो ठाउँबाट नयाँ ठाउँमा सार्नुपरेको जानकारी श्रेष्ठले दिए ।
उनले भने ‘पुरुष शौचालय ठीक कक्षाकोठाको तल परेकाले कक्षाकोठामा बस्न कठिन भयो  भन्ने गुनासो आइरहेको छ । त्यसको व्यवस्थापन गर्न घनिभूत छलफल भइरहेको छ । जतिसक्दो छिट्टै कक्षा कोठा सार्ने काम हुन्छ । महिला शौचालयका समस्याबारे पनि प्रशासन जानकार छ । तत्काल सफाइका सामान राख्न लगाइने छ ।’ 

हरेक दिन शौचालय सफा राखिदिन आग्रह गरेपनि सफाइ कर्मचारीका कारण समस्या आएको उनको भनाइ छ । सहायक प्रमुख श्रेष्ठले सरसफाइका विषयमा विद्यार्थीले पनि लापरवाही गर्ने गरेको बताए । विद्यार्थीहरूको लापर्बाहीका कारण पनि यस्तो समस्या आएको उनले बताए । 

श्रेष्ठको आग्रह छ– ‘विद्यार्थीले पनि फोहोर जताततै फालिदिनु भएन । सफाइ कर्मचारी थोरै, फोहोर गर्ने धेरै भएपछि समस्या सधैँ निरन्तर रहने नै भयो ।’

कानुन व्यवसायी र न्यायमूर्ति जन्माउने नेपाल ल क्याम्पसका शौचालयमा पनि पानीको प्रमुख समस्या रहेको विद्यार्थीहरूको गुनासो छ । क्याम्पसका हरेक तलामा शौचालय भएपनि पानी नभएको विद्यार्थी कृसल थापाले बताए । उनले भने, म यस क्याम्पसमा आएको १ वर्ष भयो, मैले देखेको भोगेको प्रमुख समस्या भनेकै पानी हो । तलको पुरुष शौचालय फोहोरले प्रयोग योग्य नै छैनन् । माथिल्लो तलाका शौचालय सफा त छन तर बेला बेलामा पानी आउँदैन । थापाले थपे । स्वच्छ पानी, सफा शौचालय मानव जीवनका लागि अनिवार्य आवश्यकता हो । पानी नहुँदा यसले समस्या निम्त्याइरहेको बताउँछिन् यहाँ अध्ययनरत विद्यार्थी सदीक्षा ढुंगाना । उनले भनिन् ‘एएलबीको शौचालय चैं सफा छैन तर माथि रहेको बीएलएलबीको चै सफा नै छ तर पानी कहिले हुन्छ कहिले हुँदैन ।

त्यस्तै शौचालयमा हुनुपर्ने ह्याण्डवास पनि नहुँदा समस्या हुने गरेको उनले बताइन् । यो विषयमा क्याम्पस प्रशासनसँग कुरा गर्नुभएको छैन ? भन्ने प्रश्नमा उनले भनिन्, ‘स्ववियु पदाधिकारीलाई पटक पटक भनेको त हो, तर उहाँहरूले वास्ता गर्नुभएन । विद्यार्थी सुप्रिया सुतिहार पानी नै नभएपछि शौचालयको अवस्था कस्तो होला ? प्रतिप्रश्न गर्दै भन्छिन– न साबुन हुन्छ, सरसफाइ गर्ने हर्पिक नै ।  उपत्यकाभित्र रहेका ठूलाठूला क्याम्पसहरुका शौचालय अपाङ्गमैत्री नहुँदा फरक क्षमता भएका विद्यार्थीहरूको लागि झन समस्या भएको छ । 

त्रिभुवन विश्वविद्यालय अन्र्तगत त्रिचन्द्र क्याम्पस, शंकरदेव क्याम्पसका विद्यार्थीहरूले पनि फोहोर शौचालय प्रयोग गरिरहेका छन् । शौचालय निर्माण गर्दा मापदण्डमा आधारित भएर निर्माण नहुँदा यी यस्ता विविध समस्या निम्तिएको बताउँछन् शंकरदेवका एक विद्यार्थी सन्जु बडु । उनले भने। विद्यालय क्याम्पसका शौचालय प्राय फोहोर नै हुन्छन् व्यवस्थित तरिकाले कतै पनि निर्माण गरिएको मैले देखिन । कतै पानी छैन कतै शौचालयका ढोकामा चुक्कुल नै छैन, कतै शौचालय नै प्रयोगविहीन अवस्थामा छन् । यसमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । 

शौचालय निर्माण गर्दा पानी ट्याङकी, डस्टबिन, बेसीन, बिजुली बत्ती, प्यान, भेन्टिलेसन, अपाङगमैत्री बनाउनुपर्छ । तर सबै क्याम्पसहरूले मापदण्डमा आधारित शौचालय निर्माण गरेका छैनन् । कतिपय क्याम्पसका शौचालय मापदण्डमै आधारित भएपनि सफा र व्यवस्थित बनाउन नसक्दा शैक्षिक वातावरण प्रदूषित भएको छ र विद्यार्थीहरू सास्ती खेप्न बाध्य छन् । 

कतिका त शौचालय भवन जीर्ण भइसकेका छन् । शौचालयमा पानीको व्यवस्था छैन, डस्टबिन छैनन्, साबुन छैन, शौचालयभित्र छिर्नै नसकिने अवस्था छ । यी यस्ता विविध समस्याले विद्यार्थीहरूमा प्रत्यक्षरूपमा नकारात्मक प्रभाव पर्न गइरहेको छ । अझ पिउने पानी त आफैँले बोकेर लैजानुपर्ने अवस्था छ ।

शैक्षिकस्थल ज्ञानको मन्दिर हो । जुन जस्तो वातावरणमा हुर्कियो, उसको स्वभाव त्यस्तै बन्दै जाने हुँदा शैक्षिक स्थललाई पठनमैत्री बनाउन यससँग जोडिएर आउने स्वच्छ पानी, स्वस्थ शौचालयसंगै सफाइयुक्त खानपान रहेको क्यान्टिन बनाउने तर्फ त्रिवि प्रशासन संवेदनशील हुन आवश्यक छ । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ३३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

बागलुङ– कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय

नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : महानिरीक्षक कुँवर

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक,

वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै

काठमाडौं– काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता 

गोदावरी– कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण

वर्ल्ड लिंकले हार्‍यो मुद्दा, सरकारलाई २ अर्बभन्दा बढी रोयल्टी तिर्नुपर्ने

काठमाडौं – निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले रोयल्टी