साताको ब्रिफिङ : सेनापतिको गर्जनदेखि पर्यटनमन्त्रीको पुत्लासम्म | Khabarhub Khabarhub

साताको ब्रिफिङ : सेनापतिको गर्जनदेखि पर्यटनमन्त्रीको पुत्लासम्म

बमकुमारीको दीक्षान्त, प्रचण्ड सरकारको वार्षिक मूल्यांकन


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कने गरेको छ । यो साता पनि हामीले केही मुख्य घटनाबारे चर्चा गरेका छौं, जुन यहाँहरुलाई रुचीकर लाग्न सक्छ ।

आम पाठकहरुको गुनासो के रहने गरेको छ भने मिडियामा अचेल नकारात्मक समाचार धेरै आउँछन् । जतासुकै हिंसा, अपराध, बेथिति र भ्रष्टाचारका खबर मात्र आउँछन्, सकारात्मक समाचार सुन्नै पाइँदैन । अनि पाठकको अर्को पनि गुनासो आउने गरेको छ– राजनीतिका समाचार बढी आए, जसमा आम नागरिकलाई वितृष्णा छ ।

हुन त देशको अवस्था नै अहिले राजनीतिक अराजकता, बेथिति र आर्थिक मन्दीको चपेटाले आक्रान्त बनेको स्थिति छ । तथापि हामीले केही सामाजिक एवं प्रेरणादायी विषयहरु पनि पाठकसमक्ष पस्कने गरेका छौं । स्वास्थ्यसँग सम्बन्धी ज्ञानवद्वक एवं चेतनामूलक सामग्री पनि हामीले यो साता पस्केका छौं ।

हेर्नुहोस् केही लिंकहरु –

खुल्ला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको परीक्षामा रोक नलगाउन सर्वोच्चको आदेश

छोरी हुँदा पढ्ने सपना आमा भएपछि पूरा

शहरमा अल्लो, ठेकी र काठे काँइयोको बखान

हैट ! डालोको व्यापार नफापेर कलाकार

जाडोमा प्यारालाइसिसको जोखिम, उच्च रक्तचाप बढ्न नदिनुस्

‘चोपेन्द्र’ बन्नुअघि र पछिका मुकुल

अब, यो साता चर्चामा आएका थप समाचारको चर्चा गरौं –

 बमकुमारीले बनाइन् सुखद खबर

दशरथ रंगशालामा यो साता भव्य समारोहका बीच त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सम्पन्न भयो । समारोहमा देखिएको भव्य सहभागितासँगै युवाका तस्बिरले यो साता सामाजिक सञ्जाल रंगियो । यसैक्रममा सोसल मिडियामा आएको एउटा तस्बिरले सबैको ध्यान खिच्यो । तस्बिर थियो– रोल्पा कोर्चाबाङकी ७२ वर्षीया बमकुमारी बूढामगरको ।

हरेक साता मिडियामा आउने नकारात्मक खबरका बीच बमकुमारीले बनाएको यो एउटा सुखद खबर थियो । ७२ वर्षको उमेरमा उनी समाजशास्त्रमा स्नातकोत्तर गरेर दीक्षान्त समारोहमा सहभागी भइन् । पढाइका लागि उमेरले छेक्दैन भन्ने प्रेरणाको स्रोत बनिन् बमकुमारी ।
रोल्पा जिल्लाबाट २०३० सालमा एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला बनेकी बमकुमारी २०३९ सालमा राष्ट्रिय पञ्चायतको सदस्य (सांसद) बनेकी थिइन् । उनले २०५१ सालमा स्नातक उत्तीर्ण गरेकी थिइन् ।

चर्चित कमेडियन कलाकार खड्गबहादुर पुन मगर (खबपु) ले खुशी हुँदै हजुरआमालाई बधाइ दिएका छन्, ‘ त्रि.वि.को ४९ औं दीक्षान्त समारोह २०८० मा स्नातकोत्तर तहको समाजशास्त्र विषयमा दीक्षित हुनभएकोमा आदरणीय बुजु (हजुरआमा) लाई हार्दिक बधाई तथा शुभकामना । रोल्पाको पहिलो एसएलसी पास गर्ने महिलादेखि सिङ्गो हाम्रो पहिचान मुद्दा बोकेर कहिले नथाक्ने हजुरप्रति गर्व छ बुजु …!’

राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा आयोजित समारोहमा दीक्षित हुने विद्यार्थीहरुको संख्या उल्लेख्य थियो । स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ जना थिए । विद्यार्थी र अभिभावकसमेत गरी करिब २६ हजार मानिसको भौतिक उपस्थितिमा रंगशालामा दीक्षान्त समारोह आयोजना गरिएको त्रिविले जनाएको छ ।

त्रिविको ४९औँ दीक्षान्त समारोह (तस्बिरसहित)

यो वर्षको दीक्षान्त समारोहमा धेरै मानिसको सहभागिता गराएर त्रिभुवन विश्वविद्यालयले गिनिज बुकमा रेकर्ड स्थापित गरेको मिडियामा चर्चा पनि चल्यो । तर, त्यो गिनिज बुकको रेकर्ड नभएर अफिसियल वल्र्ड रेकर्ड (ओडब्ल्युआर) को रेकर्ड मात्र थियो ।

जब सेनापति संसदीय समितिमा गर्जिए…..

प्रधानसेनापति प्रभुराम शर्माले यो साता संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेका प्रश्नहरुको जवाफ दिए । शर्माको प्रस्तुति राजनीतिक वृत्तमा राम्रैसँग चर्चाको विषय बन्यो । उनले आफूलाई निकै कडारुपमा प्रस्तुत गरेका थिए । सांसदहरुलाई पटक–पटक उनले ‘तपाईहरुले बनाएको कानुन’ भन्दै आफ्ना तर्कहरु राखेका थिए ।

काठमाडौंबाट तराई जोड्ने फास्ट ट्रयाकको काम ६ वर्षमा पनि अघि नबढेको, समयमै ठेक्काहरु लाग्न नसकेको, र अनियमितताका कुराहरु पनि उठेको जस्तो विषय सांसदहरुले उठाएका थिए । समितिमा प्रश्न सोध्ने क्रममा रास्वपा सांसद रवि लामिछानेले फास्ट ट्रयाक चिप्लेकिरा ट्रयाक वा कछुवा ट्रयाकजस्तो भएको गुनासो पोखेका थिए । साथै, सेनापति शर्मालाई सांसदहरुले जर्नेलहरुको उमेरसम्बन्धी विवादका विषयमा पनि प्रश्न गरेका थिए ।

सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा सेनापति शर्माले पुरानो कानुन नसच्याएका कारण चारवटा रुख काट्न ९ महिना लागेको भन्दै कानुन सच्याउनुपर्ने माग गरे ।

त्यसैगरी व्यक्तिको जग्गा परेका ठाउँमा सरकारले मुआब्जा दिएर क्लियर नगर्दा ठेक्का लगाउन नसकिएको जवाफ दिए । सेनालाई बदनाम गर्न केही तत्वहरु लागिपरेको भन्दै उनले आक्रोश पोखे । सेनाविरुद्ध प्रचार गर्नेलाई कानूनी कारवाही हुनुपर्ने पनि उनले बताए ।
सेनाले रहरले ठेक्का लिएको होइन, सरकारले गर भनेपछि हात हालेको शर्माको जवाफ थियो । खोकनाको विवादबारे पनि आफूलाई राम्रोसँग थाहा भएको उनले बताएका थिए ।

हेर्नुहोस् प्रधानसेनापति शर्माले समितिमा दिएको जवाफ

सेनाका अधिकारीहरुको उमेरसम्बन्धी विवादलाई उचालेर संस्थालाई बदनाम गराउन खोजिएको शर्माले जवाफ दिएका थिए । अन्तिममा उनले ‘आज मलाई प्राविधिक पनि बनाउनुभयो’ भन्दै व्यंग्य गरेका थिए ।

अख्तियारमा मुद्दा परेको अवस्थामा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनलाई फास्ट ट्रयाकको ठेक्का किन दिइयो भन्ने सांसदको प्रश्नमा प्रधानसेनापति शर्माले आफूहरुको ईच्छा नभए पनि दबावमा दिनुपरेको रहस्य खोले ।

त्यसो त यसैसाता संसदीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि बोलाएर एनसेलको सेयर खरीद विक्रीबारे सोधेको थियो । दाहालले आफ्नी छोरी गंगालाई विचरा भन्दै एनसेल प्रकरणमा उनको नाम मुछेर गरिएको आक्रमण संविधान र व्यवस्थाकै विरुद्ध भएको तर्क गरेका थिए ।

विवादमा मुछिए संस्कृति मन्त्री

यो साता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । क्रिश्चियन धर्मावलम्बीहरुको कार्यक्रमलाई सम्वोधन गर्न पुगेका किरातीले भनेका थिए- क्रिश्चियनहरुको विरोध गर्नु संविधानको विरोध गर्नु हो । संविधानको विरोध गर्नु भनेको देशद्रोही काम गर्नु हो । र, देशद्रोही काम गर्नेलाई जेलमा कोचिन्छ ।

मन्त्री किरातीको अभिव्यक्तिको विरोधमा राप्रपाले सडकमा उनको पुत्लासमेत जलाएको छ । विभिन्न दल र संघ–संस्थाहरुले उनको अभिव्यक्तिलाई साम्प्रदायिक सदभाव भड्काउने अभिव्यक्तिको संज्ञा दिएका छन् । किरातीले भने आफू सामाजिक सदभावको पक्षमा रहेको प्रतिक्रिया दिएका छन् । माओवादी निकटका समर्थकहरुले भने किरातीको बचाऊ गरेका छन् ।

हरेक हप्ता कुनै न कुनै काण्ड भइरहने नेपालको राजनीति अघिल्लो साता एनसेल खरीद–विक्री प्रकरणबाट तातिएको थियो, यसपटक मन्त्री किरातीले तताए । यही प्रकरणबाट उनको मन्त्री पद खुस्किने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

प्रधानमन्त्री दाहालको मूल्यांकन

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व सम्हालेको आगामी मंगलबार १ वर्ष पुग्दैछ । दाहाल ०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका हुन् । यसै सातादेखि प्रधानमन्त्रीको एक वर्षे कामको मूल्यांकन विभिन्न मिडियामा आउन थालेको छ ।

यसैवीच शुक्रबार मात्रै प्रधानमन्त्री दाहालले प्रभावकारी काम नगर्ने मन्त्रीहरुलाई पुस १० पछि हटाउने बताएका छन् । साथै उनले अबको वर्ष जनताले सम्झनेखालका प्रभावकारी काम गर्ने दाबी गरेका छन् । उनले १० बजे नै नियमित रुपमा सिंहदरबारमा उपस्थित हुने घोषणासमेत गरेका छन् ।

आखिर पुष्पकमल दाहाल नेतृत्वको सरकारले यो एक वर्षमा कस्तो काम ग¥यो, के काम गर्न सकेन ? सम्भवतः आगामी केही दिन यसबारे राष्ट्रिय बहस हुनेछ ।

साताका घटनाक्रम

यो साताका महत्वपूर्ण घटनाक्रममा धनगढीमा डाक्टर गोविन्द केसीले गत शुक्रबार थालेको अनसनमा स्थानीयको असन्तुष्टि र अवरोध पनि चर्चामा रह्यो ।

सरकारले उखु किसानलाई मुक्तानी दिन बाँकी रहेको ५२ करोड निकासा गर्ने मन्त्रिपरिषदले निर्णय ग¥यो । त्यस्तै भूकम्प पीडितका लागि २ अर्ब ३४ करोड निकासा गर्ने निर्णय पनि यसै साता मन्त्रिपरिषदले गर्‍यो ।

चौधरी ग्रुपले पाएको ग्रामीण दूरसञ्चार सेवासम्बन्धी लाइसेन्स नवीकरण दस्तुर नबुझाएका कारण खारेज गरिदिने निर्णय दुरसञ्चार प्राधिकरणले गर्‍यो । त्यस्तै, एनसेललाई सरकारी स्वामिथ्त्वमा ल्याउन राज्य व्यवस्था समितिले निर्देशन दियो । अनि यही साता एनसेलले सेयर खरीद विक्री सम्बन्धी कागजात प्राधिकरणलाई बुझायो ।

रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर –१ निवासी भरत शाहको यो साता निधन भयो । उता, युक्रेनी सेनामा रहेका भनिएका ४ नेपालीको उद्धारका लागि नेपालले युक्रेनसँग कूटनीतिक पहल थालेको समाचार पनि यो साता मिडियामा आयो । रुसी सेनामा रहेका नेपालीको उद्धारका लागि सरकारले प्रभावकारी पहल गर्न नसकेको गुनासो यो साता पनि कायमै रह्यो । यस विषयमा नेपालले कूटनीतिक पहल लिन नसकेको देखियो । रुसमा नेपालीहरुलाई लुट्ने नेपाली दलालमाथि कारवाही गर्न गृह प्रशासनले चासो नदिएको पीडितको गुनासो रह्यो ।

रुसी सेनाबाट उम्केका पूर्वप्रहरीको बयान : नयाँ जुनी पाइयो

आर्थिक क्षेत्रको कुरा गर्दा मन्दी बढेका खबरहरु यो साता पनि जारी रहे । बाणिज्य बैंकहरुले पुस १ देखि लागू हुनेगरी मुद्दतीको निक्षेपतर्फ ब्याज घटाएको खबर आयो । मंसिरसम्म ९.६१ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर पुस १ देखि ८.९३ मा झर्ने बैंकहरुले जनाएका छन् । कात्तिकमा यो दर ९.९६ प्रतिशत थियो ।

खेलकूदतर्फको चर्चा गर्दा नेपाल सुपर लिग (एनएसएल)का लिग चरणका खेल अन्तिम चरणमा पुगेका छन । यो सिजनको एनएसएलमा पोखरा थन्डर्स प्लेअफमा छनोट हुने पहिलो टिम बन्यो । त्यस्तै धनगढी एफसी पनि लिगको प्लेअफमा पुग्दा प्लेअफमा पुग्ने बाँकी टिमको अंकगणित रोचक मोडमा पुगेको छ ।

प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगिता पुस ५ देखि काठमाडौंमा सुरु भएको छ । पुस १७ गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता पहिलो पटक राउन्ड रोविनका आधारमा भएको छ । ८ टोली रहेको प्रतियोगितामा शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन पनि यसैसाता सकियो । डिसेम्बर १९ मा युएईमा गरिएको अक्सनबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने खेलाडीको अनुबन्ध भयो । मिचेल स्टार्क इण्डियन प्रिमियर लिग खेल्ने इतिहासकै महँगो खेलाडी बने । अष्ट्रेलियन लेफ्ट आर्म फास्ट बलर स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।

यो पनि…

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : १३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको