खेलकुद

बखत स्मृति कप प्रभात मावि रोवाले उचाल्यो

By खबरहब

January 23, 2023

मुगु – बखत स्मृति कप प्रभात माध्यमिक विद्यालय रोवाले हात पारेको छ। हरेक वर्ष सञ्चालन हुँदै आएको बखतबहादुर शाही फाउन्डेसनद्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधि प्रभात माध्यमिक विद्यालय रोवाले हात पारेको हो।

२१औँ बखतबहादुर स्मृति दिवसको अवसरमा यही ४ माघबाट सदरमुकाम गमगढी बजारमा सञ्चालन भएको प्रतियोगिताको उपाधि भिडन्तमा महाकाली नमुना माविलाई २-० गोल अन्तरले पराजित प्रभात मावि रोवा विजेता बनेको हो।

गत वर्षहरूमा बखत स्मृतिको अवसरमा भलिबल, फुटबल र देउडा प्रतियोगिता सञ्चालन भएका थिए। भने यस वर्ष भने फुटबल र देउडा प्रतियोगिताको सञ्चालन गरिएको स्व, बखत बहादुर फाउन्डेसन मुगुले जनाएको छ।

विजेता प्रभात मावि रोवाले शिल्ड ट्रफी, गोल्ड मेडलसहित २५ हजार नगद जितेको छ। उपविजेता महाकाली माविका विद्यार्थीले शिल्ड ट्रफी, सिल्भर मेडलसहित १५ हजार नगद पुरस्कार पाएको बखतबहादुर शाही फाउण्डेसन सचिव दीपक रावलले जानकारी दिए।

उनका अनुसार खेल अवधिभर उत्कृष्ट खेलाडी प्रभात मावि रोवाका धर्म सेजुवाललाई प्रदान गरिएको बताए। प्रतियोगितामा ११ विद्यालयका १६ टिमले सहभागिता जनाएका  थिए।