महोत्तरीमा केशोर र बयरको बजार बढ्दै | Khabarhub Khabarhub

महोत्तरीमा केशोर र बयरको बजार बढ्दै


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको छ ।  श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष)केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र बयरको बजार बढेको छ । 

वसन्तपञ्चमी पनि भनिने यस पर्वमा सरस्वतीको पूजाका लागि  बयर र केशोरको महत्व निकै हुन्छ । बस्ती-बस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजामा  प्रसादका रूपमा बयर र केशोरको प्रयोग गरिने भएकाले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् । पर्व नजिकिँदै गर्दा किसान केशोर खन्न र बजार पुर्‍याउन तल्लीन देखिन्छन् ।

‘लगातार बाक्लो हुस्सुसँगैको चिसो स्याँठले राम्ररी काम गर्न  कठिन भए पनि  केशोर बिक्रीको बेला भएकाले धमाधम खन्न लागेका छौँ’,  बर्दिबास-९ पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘अबका चार दिन केशोरले बजार पाउने त हो ।’

यस वर्ष  श्रीपञ्चमी पर्व माघ मध्यअघि नै पर्दा केशोर खन्न ठीक बेला भए पनि लगातारको चिसोले यसमा कालो धब्बा लागेर दुःख दिएको सम्बद्ध किसानले बताए  । बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहितका जिल्लाका उत्तरवर्ती नगर क्षेत्रका बस्तीमा केशोरको व्यावसायिक खेती हुँदै आएको छ । यस भेगको केशोर देशका विभिन्न भागका साथै  भारतको पश्चिम बङ्गालसम्म पुग्ने हुँदा अहिले केशोरका व्यापारीको चहलपहल पनि बढेको छ ।

केशोरको व्यावसायिक खेती हुने भए पनि यहाँ बयरको भने व्यावसायिक खेती फस्टाएको छैन । उन्नत जातका बयरका बिरुवा नरोपिँदा यहाँको बजारमा पुराना बयरले माग धान्न नसकेपछि हाटबजारमा बाहिरबाट मनग्ये बयर आउने गरेको छ । ‘बयरका रूख त छन्  तर उनै पुराना, जे फल्छन् भगवान् भरोसे’, भङ्गाहा-४ पलारका किसान जयकरण बाँतरले भने,  ‘यो पनि वसन्तपञ्चमी ताका टिप्न सकिएन भने झरेर खेर जान्छ, त्यसैले टिप्दैछौँ ।’ यता उन्नत जातका बयरको खेती नथालिँदा भारतबाट आउने बयरमा आश्रित हुन परेको किसान बताउँछन् । स्थानीय सरकारले उन्नत जातका बयरका बिरुवा उपलब्ध गराइदिए आफूहरू खेती गर्न इच्छुक रहेको जयकरणकै छिमेकी महेश सर्दार बाँतरले बताए ।

यसैगरी माटोमुनि फल्ने केशोर तयार हुने समय पनि माघ मध्यभित्र नै हो । खन्न ढिलो हुनासाथ माटोमुिन नै फल कुहिँदै जाने, कालो धब्बा लाग्ने र स्वाद बिग्रने भएको हुँदा केशोर खन्न किसान व्यस्त देखिएका हुन् । ‘केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमी आउन  अब केही दिनमात्र बाँकी छ, आउने बिहीबारसम्म पर्वका लागि यसको बजार हुन्छ, त्यसैले घरका सबै केशोर खन्न जुटेका छौँ’, बर्दिबास-७ मनहरिपुरका किसान रोशन यादवले भने । टाढाटाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि मौसमले राम्रो साथ नपाएको बताए । खनेको केशोर तत्कालै नबिग्रने हुँदा मनहरिपुरमा अहिले घरघरैजसो आँगनमा खनेका केशोरका थुप्रा देखिन्छन् ।

जिल्लामा बयरको व्यावसायिकरुपमै खेती गर्ने किसान त थोरै छन् । तर केशोर खेती भने जिल्लाका उत्तरवर्ती क्षेत्रका बस्तीमा किसानले व्यापकरूपमा गर्दै आएका छन् । सरस्वती पूजाका बेला यस भेगमा उत्पादित केशोर मुलुकभित्रकै टाढाटाढाका बजार र भारतीय बजारसम्म पुग्ने गरेको गौशाला-१० का किसान अरुण कुशवाहाले बताए ।

स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्वविशेषको प्रसाद सामग्रीमात्र  नभई मौसममा फल्ने फलका रुपमा खाने चलन आमरूपमा बस्न सके यसको बजार विस्तार अझ हुने स्वास्थ्यकर्मीको भनाइ छ । खानामा अरुचि हटाउन, पाचनक्रिया मजबुत बनाउन, कोशिकाहरु सक्रिय बनाउन  र रगत शुद्धीकरणका लागि पनि केशोर उपयोगी फल रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए । 

अहिले उत्पादन भएको केशोर खनेर चिस्यानघरमा राख्नसके वैशाख-जेठको गर्मीयाममा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ तर चिस्यानघरको अभावमा केशोरलाई सुरक्षित राख्न कठिन भएको उनको गुनासो थियो ।

 

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ३ : २० बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित