आज असार ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
भारतमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु
भारत उत्तर प्रदेशको इटावामा विवाह समारोहबाट फर्कने क्रममा पार्क गरिएको ट्रकमा कार ठोक्किदा दुई युवाको मृत्यु भएको छ । सिभिल लाइन प्रहरी इलाकाअन्तर्गत राष्ट्रिय राजमार्गमा दुर्घटना भएको हो ।
मृतक आशिष र शैलेन्द्र जसवन्तनगर प्रहरी चौकी क्षेत्र तामेरी गाउँका बासिन्दा रहेको प्रहरीले बताएको छ । घटना बारे अनुसन्धान शुरु गरिएको छ ।
इटावाका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सञ्जय कुमारले जनाएअनुसार जसवंतनगरबाट सो गाडी इटावा शहरमा आएको थियो । फर्कने क्रममा सडकको छेउमा रिकिएको ट्रकसँग कार ठोक्किएको हो ।
भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता
अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच दुई पक्षीय वार्ता भएको छ ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनको वार्ताको क्रममा रक्षा र एचवान बी भिसा सम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू भएको छ।
सम्झौता अनुसार भारत र अमेरिकाको सम्बन्धलाई थप सुदृढ बनाउन दुई भारतीय सहरहरुमा अमेरिकी वाणिज्य दूतावास खोलिने छ। त्यस्तै भारतीय लडाकु विमानको इन्जिन अब भारतमा नै बन्ने छ। अमेरिकाले अब एचवान बी भिसा प्रकृयामा पनि केहि महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ।
यो परिवर्तन भारतीय विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै गरिन लागेको जनाएको छ। गत वर्ष अमेरिकाले एक लाख पच्चिस हजार भारतीय विद्यार्थीहरूलाई भिसा प्रदान गरेको थियो।
अस्ट्रेलियन पादरीले ७२ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टि
अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्व्यवहारको दोषी प्रमाणित भएका छन् ।
हालै ८९ वर्षीय पूर्व पादरी जेराल्ड रिड्सडेलले बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टि भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टि भएको छ ।
नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई थप सजाय हुनसक्छ । गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो । उनीविरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो । उनै पादरीमाथि थप अर्को आरोप पुष्टि भए पछि उनी पुनः चर्चामा आएका हुन् ।
भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो । उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ ।
हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२ औं मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो । १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३०० किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए ।
पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३ औं अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि अगस्ट १५ मा अदालतमा पेश गरिने छ ।
टाइटनिक पर्यटन पनडुब्बी बिष्फोट, पाँच जनाको मृत्यु
टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरूलाई मृत्यु घोषणा गरिएको हो ।
सो सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, ‘बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको छ ।’
रोयटर्सका अनुसार क्यानडाली जहाजबाट खटाइएको रोबोट ड्राइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो,’ अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने।
‘/७ मिटरका टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् ? भनेर कुनै उल्लेख गरिएको छैन।
‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट संग सम्बन्धित छ,’ मौगरले भने । संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्क बिच्छेद हुन पुगेको थियो । समुद्रको गहिराइमा प्रवेश गरेको २ घन्टा ४५ मिनेटमा नै सम्पर्क बिच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी विज्ञहरूले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरू फेला परे पछि बिष्फोट भएको पुष्टि भएको हो ।
कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्यो थियो कि, ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन्,’
उक्त पनडुब्बीमा दुई पाकिस्तानी मुलका अर्बपति बाऊ छोरा, बेलायती अर्बपति र पाइलटसहित पाँच जना सवार थियो ।
चीनको एक रेष्टुरेन्टमा भएको विष्फोटमा ३१ जनाको मृत्यु
उत्तरपश्चिम चीनको निङसिया हुई स्वायत्त क्षेत्रमा रहेको रेष्टुरेन्टमा बुधबार भएको विस्फोटमा परी ३१ जना मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।
घाइते भएका सात जनाको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।
क्षेत्रीय राजधानी यिनचुआनको जिङकिङ जिल्लाको व्यस्त सडकमा बुधबार राति ८ः४० बजे रेष्टुरेन्टबाट खाना पकाउने ग्यास चुहावटपछि विस्फोट भएको थियो ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनीहरूको अवस्था स्थिर रहेको र सामान्य घाइते भएका एक जना बुधबार राति उपचारपछि अस्पतालबाट बाहिरिएका छन् ।
रेष्टुरेन्टका म्यानेजर, शेयरधनी र कर्मचारीसहित नौ जनालाई सार्वजनिक सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । नौ जनाको सम्पत्ति रोक्का गरिएको छ । मृतकको सनाखतको काम भइरहेको छ । विष्फोटको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्रीसमा भएको डुङ्गा दुर्घटनामा २८० भन्दा बढी पाकिस्तानी परेको आशङ्का
गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरुका परिवारले आशङ्का व्यक्त गरेका छन् ।
गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्गहुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेकोे उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।
घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुङ्गासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ ।
पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सवालको जवाफ दिँदै भने, “अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन् ।”
सनउल्लाहका अनुसार डुङ्गा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो ।
उनले भने, “सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन ।”
पाकिस्तान एक आश्चर्यजनक आर्थिक मन्दीको चपेटामा छ । यसका कारण धेरै पाकिस्तानी परिवारहरू गरिबीमा फसेका छन् र सुरक्षित जीवनको खोजीमा अवैध आप्रवासनले बढावा पाएको छ । प्रायजसो युवाहरू युरोपमा पुगी वित्तीयरूपमा आफुलाई बलियो बनाउन र परिवारको रेखदेखका लागि सम्पत्तिको जोहो गर्न चाहन्छन् ।
तिनीहरूले लिने मार्गहरू भिन्न भिन्न रहने गरेका छन् । कतिपयले कानुनी रूपमा नै उत्तरी अफ्रिकामा पुगी त्यहाँबाट मौका पाउँदा समुद्रको जोखिमपूर्ण यात्रा गर्दै युरोप छिर्छन् भने केहीले इरान र टर्की हुँदै जमिनको बाटो यूरोपको यात्रा तय गर्छन् ।
पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) ले मृतकका परिवारबाट डिएनए नमूना सङ्कलन गरिरहेको छ । अहिलेसम्म १९३ वटा रगत र कपालको नमूना लिइएको छ ।
तर बेपत्ता हुनेको सङ्ख्या फेला परेका शवको सङ्ख्याभन्दा निकै बढी छ, जसले पाकिस्तान प्रशासित काश्मिर र पूर्वी पञ्जाब प्रान्तका शोकसन्तप्त परिवारको आशालाई कमजोर बनाएको छ ।
घटनामा दुई भतिजा गुमाएका ५५ वर्षीय जफर इक्बालले भने, “हामीले कम्तीमा पनि शव ल्याउनुपर्छ ताकि आमाबाबु र आफन्तले मानसिक शान्ति पाउन सकून् ।”
पाकिस्तान प्रशासित काश्मिरको बन्दली गाउँबाट एएफपीसँग कुरा गर्दै उनले भने, “सरकारले जतिसक्दो चाँडो अनुसन्धान पूरा गर्नुपर्छ ।”
पञ्जाब र पाकिस्तान प्रशासित काश्मिरमा स्थानीयका अनुसार विदेश पठाउन ‘एजेन्ट’ भनिने मानव तस्करहरूको कालो बजार फस्टाउँदै गएको छ, जसले ठूलो शुल्क तिरेर युरोपमा अवैध आप्रवासनको व्यवस्था गर्छन् ।
इस्लामाबादस्थित एफआईएका एक अधिकारीले एएफपीसँग शुक्रबार भने, “अहिलेसम्म २५ जना एजेन्टलाई पक्राउ गरिएको छ ।”
“मानव तस्करविरुद्ध छापा मार्ने काम भइरहेको छ र अनुसन्धान जारी छ,” उनले भने ।
प्रतिक्रिया