बालबालिकामा किन बढ्दै छ कब्जियतको समस्या ? | Khabarhub Khabarhub

बालबालिकामा किन बढ्दै छ कब्जियतको समस्या ?


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बालबालिकामा पेट दुख्ने, झाडापखाला लागिरहने, वाकवाकी लाग्ने र वान्ता गर्ने समस्या धेरै देखिँदै आएका छन्। बालबालिकामा एक महिनासम्म दिसा गर्न गाह्रो भएमा, गोटा परेमा वा कडा दिसा भए त्यसलाई कब्जियत भनिन्छ। फाइबर र रेसायुक्त खानपानको कमी, जंक तथा फास्टफुडको कारण बालबालिकामा कब्जियतको समस्या देखिने गरेको चिकित्सक बताउँछन्। बालबालिकामा कब्जियत किन हुन्छ ? कसरी हुन्छ ? कब्जियत भएको कसरी थाहा पाउने ? यी र यस्तै जिज्ञासाको विषयमा आधारित रहेर खबरहबका लागि बाल रोग विशेषज्ञ डा. सुमित अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय बालबालिकामा कब्जियतको समस्या किन भइरहेको छ ?
अस्वस्थकर खानपान र शारीरिक परिश्रमको अभावमा यो समस्या बढेको छ। वयस्क व्यक्ति मात्र नभएर अहिले बालबालिकामा पनि यो समस्या बढ्नुमा पानी, रेसादार फलफूल तथा सागसब्जीको अपुगका कारण पनि बालबालिकालाई कब्जियत हुने गर्दछ। कब्जियत हुँदा ठुलो आन्द्रामा जमेर बसेको फोहर ढिलो गरी बाहिर निस्कने गर्छ। जब ठुलो आन्द्राले राम्ररी काम गर्न सक्दैन र आन्द्रामा टाँसिएर बसेको फोहोरलाई मलद्वारबाट बाहिर फाल्न सक्दैन त्यही अवस्थामा कब्जियत हुनेगर्छ। कब्जियतको समस्याका कारण पेट राम्ररी सफा नहुनुका साथै कडा र सुख्खा दिसा आउने हुन्छ।

बालबालिकामा कब्जियत हुँदा के कस्ता लक्षण देखा पर्छन् ?
बालबालिकामा कब्जियत हुँदा कम्तीमा एक महिनासम्म दिसा गर्न गाह्रो हुने, शौचालयमा धेरै समय लगाउने, दिसा साह्रो हुने, गोटा पर्ने, कडा दिसा गर्ने, दिसा गर्दा मलद्वार दुख्ने, हप्तामा तीन पटक भन्दा पनि कम पटक दिशा लाग्ने, असाध्यै पेट दुख्ने, रगत सहितको कडा दिशा आउने र बालबालिकालाई लगाइदिएको भित्री कपडामा माटो जस्तो दिशा देखिने र ६ वर्ष मुनिको बच्चामा हुने, तौल नबढ्ने, अरू लक्षण देखिने भयो भने एक पटक डाक्टरको सल्लाह लिनुपर्दछ।

कब्जियत हुनुका कारणहरू के के छन् त ?
कब्जियत हुनुको प्रमुख कारणको रूपमा लामो समय दिसा रोकेर राख्नु नै हो। बालबालिका खेल्न भनेपछि हुरुक्कै हुने गर्दछन्। यतिसम्म कि उनीहरू दिसा र पिसाब आएको पनि थाहा पाउँदैनन्। दिसा आए पनि शौचालय जान रुचाउँदैनन्। जसका कारण उनीहरूमा कब्जियतको समस्या हुन्छ। यसका साथै फाइबरयुक्त खानेकुराको कमी, पर्याप्त मात्रामा पानी सेवन नगर्नु, झोलिलो पदार्थ सेवन नगर्नाले पनि बालबालिकामा कब्जियतको समस्या निम्तने गर्दछ। अन्य औषधिको सेवनका कारण पनि बालबालिकामा कब्जियतको समस्या हुनसक्छ।

नबोल्ने यस्तो भयो भनेर नभन्ने बालबालिकामा कब्जियत भएको कसरी थाहा पाउने ?
जबसम्म बच्चा ट्वाइलेट जान सक्दैन तबसम्म आमाबाबालाई थाहा हुन्छ। बच्चा आफै ट्वाइलेट जाने भएपछि कति बेला दिसा गर्याे गरेन थाहा हुँदैन। त्यस्ता बच्चाहरू पेट दुख्यो भनेर आउँछन्। हामीले कारण सोधेर कब्जियत भएको थाहा पाउन सक्छौं। धेरै बालबालिकामा पेट दुख्यो भने अरू कारण भनेर अरू उपचार हुने हुँदा पनि यो समस्या बढेको छ। अहिले पेटसम्बन्धी उपचारमा आएका बच्चामध्ये झन्डै ८० प्रतिशतमा कब्जियत देखिएको छ।

यसको समयमा उपचार भएन भने पछि कस्तो जटिलता हुनसक्छ ?
समयमा उपचार भएन भने यसले अरु असर निम्त्याउँछ। जसमा छोरी मान्छेहरूमा युरिनको इन्फेक्सन हुने हुन्छ। कतिपय बालिकामा यसकै कारणले किड्नी फुल्ने समस्या हुन्छ। पेट दुख्दा ग्यास्ट्रिक पनि हुन्छ र साइकोलोजिकल असर पनि हुनसक्छ। त्यसैले कब्जियत भइसकेपछि हामीले घरमा नै पानी प्रशस्त खुवाउने, बच्चालाई समय समयमा ट्वाइलेट लग्ने, हरियो सागपात धेरै खुवाउने गर्नुपर्छ। यसो गर्दागर्दा पनि भएन भने अस्पताल जानु पर्दछ।

यो समस्या नआओस् भनेर अभिभावकले के गर्ने ?
खानामा हरियो सागपात र सलाद बच्चालाई समय समयमा खुवाउने गर्नुपर्छ। पानी धेरै पिउने, दैनिक रूपमा बच्चालाई खाना खाएको ५ देखि २० मिनेट भित्रमा ट्वाइलेट गराउने गर्नुपर्छ। खाना खाइसकेपछि हाम्रो आन्द्राहरू बढी चल्छ। त्यसैले त्यो समय ट्वाइलेट गराउनु उपयुक्त हुन्छ। हाम्रो बिहान गराउनु पर्दछ भन्ने भनाइ छ तर सुरुमा बानी लगाउँदा खाना खाएपछि गराउनु पर्दछ।

बालबालिकामा पेटमा कुनै पनि समस्या नआओस् भनेर पहिला नै के–के कुरामा ध्यान दिन सकिन्छ ?
सबै भन्दा पहिला ब्यालेन्स डाइट गराउनुपर्छ। एक भाग कार्बोहाइड्रेट, एक भाग साग सलाद र एक भाग दाल खुवाउनुपर्छ। यसरी खुवाउन सकियो भने पेटसँग सम्बन्धित धेरै रोगको समस्या कम हुन्छ। नियमित व्यायाम गर्ने गराउनु पर्दछ। हामी सबै जनाले नियमित व्यायाम, सन्तुलित आहार गर्ने, उचित मात्रामा पानी पिउने, खाना खानु भन्दा अगाडि राम्ररी हात धुने गर्नुपर्छ। बालबालिकालाई दिसा रोक्न दिनु हुँदैन। बिहान र बेलुका दिसा गर्न लगाउनुपर्छ। सानो बच्चा जन्मिएको ४८ घण्टाभित्र दिसा गरेन भने पनि चिकित्सकलाई देखाउनुपर्छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ७ : ०९ बजे

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको