कालीगण्डकीमा व्यावसायिक अकबरेखेती « Khabarhub

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।

गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती  सुरु गरिएको हो ।

बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठूलो महत्त्व राख्ने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

‘कालीगण्डकी गाउँपालिकाभित्रका विभिन्न ठाउँमा ठूलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुँदैछ’, उनले भने, ‘कृषकले उत्पादन गरेको खुर्सानीको बजारीकरणको जिम्मेवारी गाउँपालिकाले नै लिनेछौँ । यसले किसानलाई व्यावसायिक रूपमा खुर्सानी उत्पादनमा लाग्न थप प्रेरित गर्नेछ ।’

प्रतिकेजी अकबरेको बजार मूल्य न्यूनतम २२५ रुपैयाँ निर्धारण गरिएको छ । उत्पादन भएको समयमा बजारमा चलेको मूल्यका आधारमा थप गरिने जनाइएको छ । 

परियोजनामार्फत पालिकाका विभिन्न पाँच स्थानका नर्सरीबाट बेर्ना उत्पादन गरी किसानलाई निःशुल्क उपलब्ध गराइएको परियोजनाका बजार सहजकर्ता मुक्ति पाण्डेले जानकारी दिए । समग्रमा एक लाख ८३ हजार ३०० वटा बेर्ना १३० भन्दा बढी किसानलाई निःशुल्क वितरण गरिएको उनले बताए । 

‘यहाँका कृषकलाई निःशुल्क रूपमा बेर्ना, मल्चिङ प्लास्टिक र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराएका छौँ’, सहजकर्ता पाण्डेले भने, ‘भर्खरै–भर्खरै कृषकले बेर्ना लगाउनुभएको छ, आगामी दसैँसम्ममा उत्पादन लिन सकिन्छ ।’

कालीगण्डकी–१ किपटका पृथ सिञ्जाली मगरले यसपटक १० रोपनी क्षेत्रफलमा आठ हजार अकबरेका बेर्ना लगाएको बताउनुभयो । गाउँपालिकाबाट बेर्ना, मल्चिङ प्लास्टिक र प्राविधिक सहयोग निःशुल्क पाएपछि व्यावसायिक खेती सुरु गरेको उनको भनाइ छ । 

‘सिँचाइका लागि पर्याप्त पानीको सुविधा नभए पनि यहाँ ठूला बारीका पाट छन्’, उनले भने, ‘बाउबाजेको पालादेखि नै रैथाने बाली तथा मुख्यगरी मकै लगाइँदै आएको भए पनि यसपटक व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेको हुँ ।’

अकबरे खुर्सानीको बजार मूल्य राम्रो रहेको र उत्पादन पनि छिटो हुने भएकाले मकैखेतीलाई विस्थापित गरी अकबरेको व्यावसायिक खेती सुरु गरेको सिञ्जाली मगरले बताए । विगतमा घरायसी प्रयोजनका लागि लगाइएको अकबरे खुर्सानीको उत्पादन राम्रो भएकाले पनि व्यावसायिक उत्पादनका लागि सहज भएको उनको धारणा छ ।

‘हामीले उत्पादन गरेको खुर्सानीको अहिले नै न्यूनतम मूल्य तोकिएको छ भने बजारीकरण पनि गाउँपालिकाले गरिदिने भएपछि बजार खोज्नुपर्ने झन्झट कृषकलाई नहुने भो । त्यसैले पनि हामी उत्साहित छौँ’, सिञ्जाली मगरको भनाइ छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : २९ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की