विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

आज भदौ ६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण

चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ ।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो० ले जनाएको छ।

भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न सबैलाई बधाई दिएका छन् ।

इसरोले चन्द्रमामा यान अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक चन्द्रमाको दक्षिणी ध्रुवमा पानीमा आधारित बरफको खोजी गर्नु रहेको इसरोले जनाएको छ ।

यसअघि अमेरिका, पूर्वसोभियत सङ्घ र चीनले चन्द्रमाको भूमध्य रेखा नजिक ‘सफ्ट ल्यान्डिङ’ गरेका थिए । यद्यपि चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै मुलुकको यानले पनि अवतरण गरेका छैनन् ।

सन् २०१९ मा दक्षिणी ध्रुव नजिक आफ्नो चन्द्रयान–२ अवतरण गर्ने भारतको प्रयास असफल भएको थियो । त्यतिबेला चन्द्रयान–२ चन्द्रमाको सतहमा खसेको थियो । त्यसैले आज भारतीय मात्र नभई अन्तरिक्ष विज्ञानमा रुची राख्ने सबैको दृष्टि चन्द्रयान–३ मा छ ।

पाकिस्तानमा १२ घण्टादेखी ‘तुइन’ मा फसेका बालबालिकाको मध्यरातमा उद्धार

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठ जनाको अबेर राति उद्धार गरिएको छ ।

पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन् । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका लागि स्थलगत अभियान सुरु गरेको थियो ।

खैबर पख्तुनख्वाको बट्टाग्राम जिल्लाको पहाडी क्षेत्रमा प्रतिकूल मौसमबीच सूर्यास्त हुनुअघि पाकिस्तानी सेनाको विशेष सेवा समूहले दुई बालबालिकालाई उद्धार गरेको हो । पाकिस्तानको सरकारी प्रसारक पीटीभी न्यूजले सेनालाई उद्धृत गर्दै रातको अन्धाकार र मौसमको कारणले हवाई अपरेशन स्थगित गरेको र वैकल्पिक माध्यम मार्फत उद्धार प्रयास सुरु गरेको जनाएको थियो ।

बट्टग्राम जिल्लाको अल्लाई तहसीलमा बिहान करिब ८ बजे बालबालिका विद्यालय जाँदै गर्दा उक्त घटना भएको हो । अल्लाई तहसीलका अध्यक्ष मुफ्ती गुलामुल्लाहलाई उद्धृत गर्दै पाकिस्तान मिडियाले जनाएअनुसार उक्त क्षेत्रमा कुनै सडक वा पुल नभएकोले खोला पार गर्न स्थानीयहरूले निजी क्षेत्रबाट सञ्चालित चेयरलिफ्टको प्रयोग गर्दै आएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार केबल बिग्रिएको कारण एउटा चेयरलिफ्ट सडकको बीचमा ९०० फिटको उचाइमा अड्किएको थियो । घटनामा ६ बालबालिकासहित आठ जना फसेका थिए ।

पाकिस्तानी फौजको सुरक्षा कारवाहीमा चार आतङ्कवादी मारिए

पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षा फौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् ।

वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद भएका सेनाको सञ्चार विभागले आज जनाएको हो । कारवाहीमा दुई जना आतङ्कवादी पनि घाइते भएका छन् । झडप भएको स्थानबाट आतङ्कवादीलाई निमिट्यान्न पार्न विशेष कारवाही जारी रहेको जनाइएको छ । साथै सेनाले देशबाटै आतङ्कवादलाई निर्मूल गर्न प्रतिबद्ध रहेको बताएको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शेहवाज शरिफले सुरक्षा फौजको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनले देशको राष्ट्रिय सेनालाई आफ्नो दलको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आतङ्कवादलाई परास्त गर्न पाकिस्तानी सैनिकलाई सफलता मिल्ने विश्वास व्यक्त गरको छन् । साथै उनले शहादत प्राप्त गरेको सैनिक जवानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गत वर्ष नोभेम्बरमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानले सरकारसँगको युद्धविराम भङ्ग गरेपछि विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा आतङ्कवादी गतिविधिमा वृद्धि भइरहेको बेला सुरक्षा फौजले उक्त प्रान्तमा विशेष अभियान सञ्चालन गरेको छ ।

यसैबीच, खैबर पख्तुनख्वाको बारा क्षेत्रमा गुप्तचर सूचनामा आधारित कारवाहीका क्रममा दुई जना आतङ्ककारी मारिएका पाकिस्तानी सेनाको सञ्चार विभागलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । यसै साताको प्रारम्भमा उत्तरी वजिरिस्तानको रामजाक क्षेत्रमा गरिएको कारवाहीमा पनि दुई जना आतङ्ककारी मारिएका थिए ।

अन्तरसेवा जनसम्पर्क महानिर्देशक मेजर जनरल अहमद शरीफ चौधरीले गत जुनमा आयोजित एक पत्रकार सम्मेलनमा यो वर्ष गुप्तचर सूचनामा आधारित १३ हजार एक सय १७ वटा सुरक्षा कारवाही सञ्चालन गरेर एक हजार एक सय ७२ जना आतङ्कारीलाई मारेको बताएका थिए ।

ग्रीसमा भीषण डढेलो, १८ जनाको शव फेला
उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोका कारण मृत्यु भएका १८ जनाको शव फेला परेको छ । डढेलोबाट प्रभावित क्षेत्रमा १८ जनाको शव फेला परेको ग्रीक दमकल सेवाले जनाएको छ ।

प्रारम्भीक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी रहेको हुनसक्ने अनुमान गरिएको छ । टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ ।

डढेलोका कारण अलेक्जान्ड्रोपोलिस सहरको एउटा अस्पताल खाली गर्नुपरेको छ । यसका कारण त्यहाँ उपचाररत नवजात शिशु र सघन हेरचाहका बिरामीहरू प्रभावित भएका छन् ।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल सन्देशहरू पठाएका छन् ।

मङ्गलबार यस क्षेत्रका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने तीव्र हावाका कारण पनि ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ ।

थाइल्याण्डका नयाँ प्रधानमन्त्रीमा थाभिसिनद्वारा पदभार ग्रहण

राजाको समर्थनमा थाइल्याण्डका नयाँ प्रधानमन्त्री बनेका मोगुल स्रेथा थाभिसिनले बुधबार पदभार ग्रहण गरेका छन् ।

अर्बपति पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग लामो समयदेखि सम्बद्ध फेउ थाई पार्टीकी पूर्व धनाड्य थाभिसिनको नियुक्तिले मेको आम निर्वाचनपछि महिनौंदेखिको राजनीतिक गतिरोध अन्त्य गरेको छ ।

थाक्सिन १५ वर्षको निर्वासनबाट स्वदेश फर्केको केही घण्टापछि मंगलबार संसदीय मतदानबाट ६१ वर्षीय थाभिसिनलाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गरेको पुष्टि गरिएको थियो । त्यसैगरी थाक्सिनलाई भ्रष्टाचारको पुरानो मुद्दामा तत्काल जेल चलान गरिएको छ ।

स्थानीय समयानुसार मंगलबार साँझ ६: ०० बजे फेउ थाई मुख्यालयमा आयोजित एक समारोहमा श्रीताले राजा महा वजिरालोङकोर्नको सरकार गठनको लिखित आदेश प्राप्त गरेका थिए । थाइल्यान्डको पछिल्लो सरकारलाई सत्ताच्युत गर्ने पूर्व सेनाप्रमुख प्रयुत चान ओ चाले श्रेतालाई बधाई दिँदै शुभकामना दिएका छन् ।

मे महिनामा भएको चुनावमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले युवा र शहरी असन्तोषको लहर चलाएपछि प्रयुतको दल पराजीत हुन पुगेको हो ।

तर एमएफपीले शाही अपमान कानूनमा सुधार गर्न र शक्तिशाली निहित व्यापारिक स्वार्थहरू विरुद्ध लड्ने बताएपछि थाइल्याण्डको अभिजात वर्गलाई तर्साएको थियो । यही कारण एएफपी नेता पिता लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो ।

यसले चुनाव उपविजेता फेउ थाईका लागि एक गठबन्धन निर्माण गर्न बाटो खोल्यो जसमा प्रयुतको पार्टी र सन् २००६ मा थाक्सिनलाई सत्ताच्युत गर्ने जनरलहरू र २०१४ मा उहाँकी बहिनी यिङ्गलकसँग सम्बन्धित अर्को गठबन्धन रहेको छ ।

थाई राजनीतिको पछिल्लो दुई दशक थाक्सिन समर्थक पार्टीहरू र राज्यको शक्तिशाली सैन्य समर्थक र राजावादी संस्थापनबीचको तिक्ततापूर्ण सङ्घर्षले रङ्गिएको छ ।

थाक्सिनलाई मंगलबार आठ वर्षको जेल सजाय सुनाइएको थियो, तर उहाँको पुनरागमनको समय र फेउ थाईको सैन्य समर्थक पार्टीहरूसँग सत्ता साझेदारी गर्ने निर्णयले धेरैलाई उनलाई उदारता प्रदान गर्न ‘ब्याकरुम’ सम्झौता गरिएको अनुमान गर्ने आधार खडा गरेको छ । यद्यपि, पार्टीले यसलाई अस्वीकार गरेको छ ।

म्यानचेस्टर सिटीका पूर्व मालिक ७४ वर्षीय थाक्सिनलार्ई बुधबार कारागारको क्वारेन्टाइनबाट प्रहरी अस्पतालमा सारिएको थियो ।

थाइ सञ्चारमाध्यमका अनुसार उनलाई बैङ्ककको डाउनटाउनमा रहेको प्रहरी जनरल अस्पतालको १४ औं तल्लामा रहेको एक निजी भीआईपी कोठामा राखिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ५८ बजे

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र 

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन्