सिप र सिर्जनालाई उमेरले छेक्दैन | Khabarhub Khabarhub

सिप र सिर्जनालाई उमेरले छेक्दैन

खाटमा सुतेर टिकटक हेर्दै दिन नफालौं


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको जीवनमा आफ्नै कथा हुन्छ। कतिपय मानिसको जीवनको कथाले समाजलाई दिशाबोध गर्ने ऐना झैँ काम गर्दछ। साहित्य सिर्जनामार्फत् आफ्नो पुस्ताको साहित्य सन्देश आउने पुस्तालाई हस्तान्तरण गर्ने प्रयासमा सक्रिय साहित्यकार धेनुलक्ष्मी सिंहसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

आफ्नो परिचय कसरी दिनुहुन्छ ?
म पहिला आफूलाई चिनाउँदा एउटा छोरी भएर चिनाउँथे। त्यसपछि कसैको पत्नी भनेर र अहिले आएर आफूले आफूलाई चिनाउन चाहन्छु। म पूर्व शिक्षक हुँ। यो समयमा विभिन्न सीप सिकेर आफ्नो छुट्टै पहिचान बनाएको छु। त्यसैले धेरै मान्छेले मलाई फूल विशेषज्ञ भनेर चिन्नुहुन्छ। म फूल विशेषज्ञ होइन फूललाई माया गर्ने मान्छे हुँ।

तपाईंको पारिवारिक पृष्ठभूमि पोखरा त्यसैगरी तानसेन र काठमाडौंमा रहेछ। यो पृष्ठभूमि के हो ?
मेरो माइती पोखरा हो। पोखरामा जन्म भएको हो। बुबा माणिकलाल वैद्य भूतपूर्व जिल्ला न्यायाधीश हुनुहुन्थ्यो। आमा सुदूरपश्चिम डोटीकी हुनुहुन्थ्यो। उहाँहरूको म सातौँ सन्तान हुँ। हाम्रो १२ जनाको हराभरा परिवार थियो। सबै शिक्षित थिए। म शिक्षण गर्दै गर्दा विवाह भयो। म तानसेन पुगेँ। तानसेनबाट श्रीमानको जागिरको शिलशिलामा म काठमाडौंमा आएर बसेँ। अहिले नयाँ सीप र सिर्जनाका साथ जीवन चलिरहेको छ।

साहित्य सिर्जनामा पहिलादेखि नै रुचि थियो कि ?
मैले पहिलादेखि नै अलिअलि लेख्थेँ। तर आफैले राख्थेँ। लेखेर लुकाएका कुराहरू अहिले यो पुस्तक पढ्दा थाहा हुन्छन्। यसमा २० वर्ष पुराना कविता छन्। म कतै घुम्न जाँदा टिपोटहरू टिपी राख्थे। त्यसरी यात्रा संस्मरण पनि लेखेको थिए। कतिपय कुराहरू पहिला नै पब्लिक भइसकेका छन्। निजामती श्रीमती संघको पत्रिका, पोखरेली दिदी बहिनीको पत्रिका फेवामा प्रकाशित भइसकेका छन्। अहिले परिवारमा केही फुर्सद भएकोले साहित्य सिर्जना र फूल रोप्न र गोडमेललमा सक्रिय छु।

बोटबिरुवा प्रतिको रुचि कसरी आयो ?
गृहिणी र शिक्षिका हुँदा त्यो बेलामा समयको व्यवस्थापन गर्न गाह्रो थियो। तर पोखरामा जन्मिएको भएर प्राकृतिक श्रोतले भरिपूर्ण त्यो ठाउँ मेरो माइतीमा पनि फुलहरू लटरम्म हुन्थे। घरमा पनि बगैँचा बनाइराखेको थियो। त्यही भएर फूलमा रुचि बढ्दै गयो।

तपाईंले फोहोर मैला व्यवस्थापनको लागि आफूले तालिमहरू पनि लिनुभएको छ। त्यसको उपयोग चाहिँ कसरी गर्नुहुन्छ ?
२० वर्ष अगाडि नै मैले फोहोर मैला व्यवस्थापनको लागि तालिम लिएकी थिएँ। पोखरेली दिदीबहिनी समूहको तर्फबाट तालिम लिए। भान्साबाट खेर गइरहेका वस्तु किन बाहिर पठाउने ? त्यहीबाट हामीले मल बनाउन सक्छौँ। जसलाई हामी कालो हिरा भनेर चिन्छौँ। त्यसबाट गमलामा बोरामा बारीमा तरकारीहरू रोपेर विषादीरहित तरकारी फलाउन सक्छौँ।

एक त घर भित्रका स्वस्थ खानेकुराहरू खान पाइने भयो र घरबाट निस्केका जैविक पदार्थहरू घरबाहिर सरकारलाई बोझ नभई हामीले घरको कुनामा मल बनाएर व्यवस्थापन गर्न सक्छौँ। लकडाउनको समयमा मेरो काम धेरै फस्टायो। विभिन्न कौसी खेती, कौसी करेसाबारी क्रान्ति, फूलबारीका लागि मानिस सक्रिय भए। त्यसमा संलग्न भएपछि म भित्रको जोस र जाँगरले फस्टाउने मौका पायो।

साहित्यतर्फ रुचि कसरी आयो ?
म खुसी हुन कविताहरू लेख्थेँ। घरमा विवाद भयो र चित्त बुझेन र मन दुख्यो भने पनि मुक्तक लेख्थेँ। मलाई सन् २००२ मा डिभी पर्याे। यहाँ घर व्यवस्थित थियो। तर डिभी पर्यो भनेर हामी अमेरिका गयौं। त्यहाँ ९ महिना बसेँ। त्यहाँ बेहोर्नु परेका कुराहरूलाई समेटेर कविताहरू लेखेँ। त्यसलाई सम्पादन गरेर दुई चार वटा मात्र किताबमा राखेको छु।

भर्खरै विमोचन गर्नु भएको ‘आमाको प्रेरणा मेरो सिर्जना’ यो शीर्षक राख्नुको कारण के हो ?
मेरो आमा नै अहिलेसम्मका मेरा सिर्जनाका प्रेरक हुनुहुन्छ। उहाँ अनेकौ सिपले भरिपूर्ण हुनुहुन्थ्यो। उहाँको सिपलाई सानैदेखि हेर्दै गर्दा सिक्ने मौका पाएँ।

‘प्यारी आमा’ शीर्षकको कविता कस्तो समयमा लेख्नुभयो ?
आमा बितेर जानु भएपछि मातातिर्थ औंसीमा सबैले आमालाई सम्झिन्छन्। कसैले कविता लेखेर त कसैले पुष्प चढाएर सम्झिन्छन्। मातातीर्थ औंसीको वरिपरि सपनामा आमालाई देखिन्छ। सपनामै आमाले केही खानेकुरा बनाएर दिनुहुन्छ। त्यो बेलाको भावुकताले सिर्जना फुर्छ। अब लेख्छु भनेर सिर्जना हुँदैन।

आफ्नो मनमा लागेको कुरा लेख्दै गर्दा पाठकको रुचि अर्को तिर हुनुसक्छ। सर्जकका लागि त्यो पनि समस्या छ नि?
अहिले मैले विस्तारै सिक्दै छु। यो पुस्तकमा मेरो व्यक्तिगत कुरा धेरै भए। अब समाजलाई परिवर्तन गर्नसक्ने खालको कुरा लेख्न सकिन्छ कि भन्नेमा ध्यान दिएको छु।

आफ्नो पुस्तकमा सबै भन्दा राम्रो लागेको विषय कुन हो ?
यो पुस्तकमा मैले आफ्नो जीवनका धेरै कुरा राखेको छु। २० वर्ष पहिलेका कुरा पनि राखेको छु। धेरै यात्रा संस्मरण लेखेको छु। त्यसैले सबैले यसलाई मन पराउनुभएको छ। फूल तथा बगैंचाहरुलाई स्याहार, सम्भार र त्यो सम्बन्धी बचाउ गर्ने टिप्स दिएको छु त्यो मनपर्छ। त्यसले गर्दा अरूलाई पनि सन्देश मूलक ज्ञान मिल्छ।

यो पुस्तकमा ‘परदेशीको दुःख’ भन्ने कविता छ। त्यसलाई कसरी व्याख्या गर्नु हुन्छ ?
परदेशमा नेपालमा जस्तो सजिलो छैन। खानलाई गाह्रो भएको होइन। तर नेपालको पैसाले कति थेग्छ र ? अमेरीकालाई मानिसहरूले स्वप्न नगरी जस्तो मान्छन्। हामी आमाछोरीले जुन दुःख त्यहाँ महसुस गरेका थियौं त्यसलाई पनि लेखेकी छु। एक्लोपन महसुस हुँदाको पीडालाई कवितामा लेखेकी छु। आजकलको नयाँ पुस्ताहरू पहिलाको जस्तो छैनन्। त्यहाँ गएर पढेर नेपालमा नै केही गर्छु भनेर फर्किएकाहरू पनि धेरै छन्। उहाँहरूलाई धन्यवाद दिनु पर्छ।

घरपरिवारबाट कत्तिको सहयोग र साथ पाउनुभयो ?
मेरो घरपरिवार शिक्षित थियो। मेरो ससुरा कविराज वैद्य दशरथमान सिंह हुनुहुन्थ्यो। उहाँको परिवारमा सबै कुरा राम्रो थियो। नियम कानुन थियो र सासूले पनि सबै कुरा सिकाउनु हुन्थ्यो। त्यसैले मलाई असहज परिस्थितिको सामना गर्नुपरेन।

म शिक्षामा हुँदा विवाह भएर एक वर्ष बेतलबी बिदा लिएर बसेको थिएँ। त्यो बेलामा घर र माइती गरेर उहाँहरूलाई रिझाउने आफ्नो सिपले खुसी पार्ने प्रयत्न गरेँ।

अब तपाईंका योजना के के छन् ?
अहिले यो पुस्तक निस्कियो। यसमा मेरो धेरै जना शुभचिन्तकहरूले प्रतिक्रिया पनि दिनुभयो। एक जना मित्रले यो पुस्तक निकाल्नु भयो बधाई छ। ‘यो साहित्यको भारी हलुङ्गो हुँदैन। अर्को नलेखेसम्म त्यो भारीले थिच्ने छ’, भन्नुभयो। त्यसैले भविष्यमा कविता र कथा सिर्जनामा लाग्छु।

तपाईँलाई एकदमै मन पर्ने साहित्यकार वा सिर्जना गर्ने जो व्यक्ति हुनुहुन्छ, उहाँको प्रेरणाबाट तपाईं यो ठाउँमा आउनु भयो ?
मलाई प्रेरणा त कर्ण शाक्यको ‘सोच खोज’ भन्ने किताब पढेर मिल्यो। यो लेखक भनेर भन्दिन म किताब पल्टाउँदा जसले जीवन जिउने प्रेरणा दिन्छ त्यस्तो खालको किताबहरू मलाई पढ्न मन लाग्छ।

पछिल्लो समय किताब पढ्ने प्रवृत्ति घट्दो क्रममा छ। यसको लागि तपाईंले अर्को माध्यमबाट पनि ल्याउनुपर्छ कि ?
हामी पुरानो शिक्षामा पढेर आएको हुनाले बल्ल कम्प्युटर चलाउन सक्षम भयौँ। यो डिजिटलमा मलाई अलिकति गाह्रो हुनसक्छ। डिजिटलबाट लेख्ने राम्रो हो भन्छौँ। तर मलाई त पुस्तक पढ्न जत्तिको आनन्द कम्प्युटर र अनलाइन हेरेर आए जस्तो लाग्दैन।

एउटा कुनै सिर्जना छ तपाईँको मन छोएको ?
सानो बेलामा युधीर थापा लगायतको उपन्यासहरू पढेर हुर्किएको हुँ। हालसालै पढेको कर्ण सरको किताबबाट धेरै ज्ञान लिएको छु। प्रकाश सायमीले महिलाहरूले लेख्नुपर्छ भनेर उत्साह गर्नुहुने रहेछ। त्यस्तो सिर्जना र सर्जक मलाई मनपर्छ।

उमेर र सिर्जना के रहेछ ?
हामीले यस्तो काम गरौँ जसमा उमेर कुनै बाधक नबनोस्। चढ्दो उमेरमा सबै जना सगरमाथा नै चढ्छन्। हामी जस्तो ढल्दो उमेरका महिलाहरूले पनि केही गर्न सक्छौँ। केही सिक्नु छ भने उमेर कहिले पनि बाधक बन्दैन। उमेरले गर्दा यो गर्न सक्दिन नभनौँ। सक्ने कामहरू गर्नुपर्छ। सकारात्मक सोचलाई प्रवाह गर्नुपर्छ। आफूले जानेको कुरा अरूलाई सिकाउनुपर्छ। केही सिक्नु छ भने उमेर बाधक हुँदैन। खाटमा सुतेर, टिकटक हेरेर, इन्टरनेट हेरेर दिन खेर नफालौँ। हामीले जानेको कुरा सिकाऔँ र नजानेको सिकौँ उमेर भनेको अंक मात्र हो।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : १८ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी – गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत