सहारा बनेको छोरो बाकसमा फर्किदा… « Khabarhub

सहारा बनेको छोरो बाकसमा फर्किदा…


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– मुलुकभर दसैँको रौनक बढिरहेको बेला आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो ।

टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुबेको हो ।

छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार, आफन्त र टोलबासीका आँखा रसाए ।

‘दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो’, छिमेकी सुरेश पालले भने, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किँदाको स्थिति निकै दुःखदायी बनेको छ ।’

आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ ।

दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए ।

‘दीपेश र उनका भाइ वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्’, दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।’

कञ्चनपुरको रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाइलाई जसरी भए पनि डाक्टर बनाउने थियो । 

दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आएकी थिइन् ।

आमा पार्वती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुन् । दीपेशका भाइ वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बीपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन् ।

विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  १२ : ११ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका