प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको एक वर्ष बितिसकेको छ। बृहत् शान्ति सम्झौता भएको १७ वर्ष भएको छ। तर द्वन्द्व पीडितसँग जोडिएका धेरै कुरा आजको दिनसम्म माओवादीले अलपत्र पारेको छ। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पक्षधर कुनै पनि नेता यसमा अहिले पनि जवाफदेही बन्न सकिरहेका छैनन्। चुनाव सकिएको एक वर्ष बितिसक्दा पनि जनताको पक्षमा कुनै पनि राजनीतिक पार्टीले प्रदेश वा केन्द्रमा रहेर राम्रो भूमिका देखाउन सकेका छैनन्। यी र यस्तै विषयमा आधारित रहेर विश्लेषक लोककृष्ण भट्टराईसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश:
अहिले गणतन्त्रलाई राजतन्त्रवादीले उल्ट्याइदिने भए भन्ने चर्चा सुनिन्छ। के हाम्रो संविधान र परिवर्तन यत्ति कमजोर धरातलमा पुगेको हो ?
त्यस्तो छैन। यो मान्छेको मनोविज्ञान मात्र हो। गणतन्त्र प्राप्त भएपछि सरकार चलाउनेहरू गणतन्त्रमा आमूल सुधार गरेर जनताका माग पुरा गर्न नसकेको एउटा पक्ष हो। नेपालमा राजनीतिक मान्छेको आलोचना हुन्छ तर डेलिभरी दिने कर्मचारीतन्त्रले हो। एउटा चिठी मन्त्रालयबाट सिडियो अफिसमा पुग्न १० दिन लाग्छ। त्यसैले राजनीतिज्ञ नै देशभक्त भएनन्। यसलाई चुस्त दुरुस्त पार्न दलहरू सक्रिय हुनुपर्छ। वीरेन्द्रको सन्तान सकिएपछि नेपालमा राजतन्त्र मान्ने कोही छैनन्। त्यस कारण अहिले राजतन्त्र आउने कुरा मलाई लाग्दैन। त्यसैले सबैले अब देश विकास गर्नुपर्छ त्यसको लागि आन्दोलन होइन राष्ट्रिय सहमति गरेर प्रणालीविरुद्ध होइन भ्रष्टाचारको विरुद्धमा लाग्नुपर्छ।
गणतन्त्रवादीलाई राजतन्त्रको भूतले किन दपेटेको होला ?
कसैले जुलुस निकाल्दैमा दपेटेको हुँदैन। भ्रष्टाचार विरुद्ध जुलुस निकाल्न पाइन्छ। तर राजतन्त्रको पक्षमा निकाल्ने जुलुसको अर्थ छैन।
वीरेन्द्रका सन्तान सकिएपछि नेपामा राजतन्त्र मान्ने कोही छैनन्। अहिले राजतन्त्र आउने कुरामा मलाई विश्वास छैन। अब देश विकास गर्नुपर्छ । लोकतन्त्र विरुद्ध होइन राष्ट्रिय सहमति गरेर भ्रष्टाचारको विरुद्धमा लाग्नुपर्छ।
अहिले एउटै खालको समानान्तर गतिविधि गरेर एकले अर्कोलाई सिध्याउने गतिविधि किन भइराखेका छन् ?
त्यो दुवै पक्षमा संयमता आवश्यक छ। दुर्गा प्रसाईं आफूलाई उद्योगपति भन्छन्। उनले पनि शान्त ढंगले आन्दोलन गर्न सक्छन्। बैंकिङ प्रणालीलाई सुधार गर्नुपर्छ भन्ने आन्दोलन गर्दा फलानालाई कुट्छु र मार्छु भन्नु हुँदैन। महेश बस्नेतको सवाल युवा संघसँग सम्बन्धित छ। उनले कति मान्छे लान्छन् भनेर भन्न सकिँदैन। आन्दोलन नै गर्ने भए सबै भ्रष्टाचार विरुद्धको आन्दोलनमा लागौं। संविधान संशोधन गरौँ, लोकतन्त्र विरुद्ध उन्नत लोकतन्त्र रोजौं। भ्रष्टाचार गरेर नेता बन्ने बाटो बन्द गरौं। भ्रष्टाचार गर्नेलाई राजनीतिमा प्रवेश नै नदिने गरी कारबाही गर्न कानुनी व्यवस्था गरौं।
राजनीतिमा ठेक्का पट्टा बिचौलिया प्रवृत्तिको विकास गर्ने नै नेता हुन्। यिनले राजनीतिमा सुधार गर्लान् ?
प्रणाली फ्याँक्ने होइन नेतालाई फ्याँक्ने राजनीति हुनुपर्छ। नेता मात्र बिचौलिया होइनन्। कर्मचारी पनि बिचौलिया छन्। राजनीतिले आदेश दिएको कुरा कर्मचारीले मान्दैनन्। पावर लगाएर भन्सारमा जाने परिपाटी छ। त्यसलाई अन्त्य गरेर प्रतिस्पर्धाबाट राम्रो मान्छे गाउँमा पढाउन जाने उन्नत लोकतन्त्र ल्याउनुपर्छ।
अहिले सत्ता र शक्तिको लागि जुनसुकै मूल्य चुकाउन नेता तयार देखिएका छन्। यही पद्धतिमा हुर्किएका नेताबाट अब के अपेक्षा गर्ने ?
हुन्छ। पञ्चायत नै फ्याँक्ने आन्दोलनमा पनि म सहभागी भएको हुँ। ४६ सालको आन्दोलनको सञ्चालक हुँ। तर आन्दोलन सकारात्मक पक्षका लागि हुनुपर्छ। यो प्रणाली विरुद्धको आन्दोलन आज आवश्यक छैन।
आन्दोलन नै गर्ने भए सबै भ्रष्टाचार विरुद्धको आन्दोलनमा लागौं। संविधान संशोधन गरौँ, लोकतन्त्र विरुद्ध उन्नत लोकतन्त्र रोजौं। भ्रष्टाचार गरेर नेता बन्ने बाटो बन्द गरौं।
राजनीतिमा देखिएन यस्ता पात्रलाई शुद्धिकरण गर्ने ठाउँ कहाँ देख्नुहुन्छ ?
यस्ता पात्रलाई जनताले नै फ्याँक्छन्। जसको लागि निर्वाचन प्रणालीमा शुद्धिकरण गर्नुपर्छ। अब निर्वाचन कानुन संसदले बनाउनुपर्छ। जो मान्छेले जनप्रिय काम गर्दैन जनताले नै फ्याँक्दै जान्छन्। ६२÷६३ सालको आन्दोलनले फ्याँकेको हो उनीहरूले आत्मालोचना गरे। त्यसपछि जनताले एक पटक साथ दिए। लोकतन्त्रमा प्रणाली फ्याँक्ने होइन, जनताको काम नगर्ने दललाई फ्याँक्ने हो।
कम्युनिस्टलाई २०७४ सालमा जनताले अवसर दिएका थिए। तर कहाँ राम्रो गरे ?
उनीहरु एक वर्षसम्म लडाइँ गरेर बसे। प्रचण्ड, केपी ओली र माधव नेपालले जनताका अगाडि यो विषयमा आत्मालोचना गर्नुपर्छ।
पुराना नेता र दलबाट देश राम राज्य बन्छ भनेर हामीले कति पुस्ता बिताउनु पर्ने हो ?
यी दल र नेताबाट देश नबन्ने भए नयाँ पार्टी बनाउनुपर्छ। अरूको पनि हिसाब हेर्दा १०/२० प्रतिशत भने पनि यिनले राम्रो काम गरेका छन्। अहिलेसम्म देशको विकासको आधार कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीले राखेको देखिन्छ। जनताले परिवर्तन फेरि खोजेका छन्। त्यही अनुसार रवि लामिछाने, सिके राउत संसदमा छन्।
सिंहदरबारमा पुगेर अवसर नपाउँदासम्मका लागि मात्र विकल्प देखिए भन्ने आरोप त उनीहरुमाथि पनि छ नि ?
काम गर्न थालेपछि आलोचना त भइहाल्छ। राम्रा सांसद पनि छन्। संसदमा राम्रो बोल्छन्। एउटाले नराम्रो गर्याे भन्नु हुँदैन। राम्रोलाई अवसर दिनुपर्छ।
राजनीतिमा विशेष गरी सामाजिक आर्थिक र राजनीतिक पक्ष राम्रो हुनुपर्छ भनिन्छ, अहिले हामीसँग कुन गतिलो छ ?
देशको राजनीति बलियो बन्न पहिले व्यापार घाटा घटाउनुपर्छ। देश रेमिटेन्स अर्थतन्त्रमा गयो। त्यसलाई मिलाउन कृषि र ऊर्जामा सबै भन्दा बढी बजेट राखेर अगाडि बढ्नुपर्छ।
देशको राजनीति बलियो बन्न पहिलो काम व्यापार घाटा घटाउनुपर्छ। देश रेमिटेन्स अर्थतन्त्रमा गयो। त्यसलाई मिलाउन कृषि र ऊर्जामा सबै भन्दा बढी बजेट राखेर अगाडि बढ्नुपर्छ।
कहाँबाट अर्थतन्त्र समस्यामा गयो ?
२०४८ सालमा योजना आयोगको उपाध्यक्ष रामशरण महत र महेश आचार्य थिए। त्यो बेला गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहको झगडा परेको थियो। गणेशमानले यसो नगर उत्पादनमा बजेट राख्नुपर्छ भन्दा रामशरणले विदेशी सिस्टम भनेर निजी सम्पत्ति भन्दै कौडीको मूल्यमा बेच्ने कामको सुरुवात गरे। जब कांग्रेस शासनमा जान्छ निजीकरण भन्छ। अहिले सबै पार्टीका नेताले कौडीको मोलमा बेचेका उद्योगका कुरा गर्छन्। हाम्रा उद्योग लथालिंग भएपछि हाम्रो अर्थतन्त्र समस्यामा परेको हो। अहिले राजा महेन्द्रले खोलेका कृषि केन्द्रहरू रित्ता छन्। यस्तो खालको लथालिङ्ग परिपाटीले अर्थतन्त्र समस्यामा पर्यो।
राजनीतिको यो लथालिङ्ग परिपाटीले आन्दोलन सुरु भएको त होइनन् ?
भ्रष्टाचार विरुद्धमा भए आन्दोलन र विद्रोह आवश्यक छ। त्यो राम्रो पनि हो। विकास नै नभएको होइन, विकास भएको छ तर चरम भ्रष्टाचार भयो। त्यसैले नागरिकको आन्दोलन भ्रष्टाचार विरोधी हुनुपर्छ। अहिले विदेशमा परनिर्भर हुनुको कारण युवा जति सबै बाहिरिनु नै हो। देशमा ४५ देखि ६५ वर्षसम्मका मानिस छन् उनीहरूले गरेको कृषिबाट खाना कहाँ पुग्छ त ? अमेरिका जस्तो राष्ट्रमा २१ प्रतिशत बजेट कृषिमा छ। चीनमा २३, भारतमा १७ प्रतिशत बजेट कृषिमा छ। हाम्रोमा भने २.९ प्रतिशत बजेट मात्र कृषिमा राखेका छन्। संसारको विकासको आधारशिला ऊर्जा र कृषि नै हो। त्यसैले १५ प्रतिशत भन्दा माथि बजेट कृषिमा राख्नुपर्छ भनेर मैले बारम्बार भनिरहेको छु।
अमेरिका जस्तो राष्ट्रमा २१ प्रतिशत बजेट कृषिमा छ। चीनमा २३, भारतमा १७ प्रतिशत बजेट कृषिमा छ। हाम्रोमा भने २.९ प्रतिशत बजेट मात्र कृषिमा राखेका छन्। संसारको विकासको आधारशिला ऊर्जा र कृषि नै हो। त्यसैले १५ प्रतिशत भन्दा माथि बजेट कृषिमा राख्नुपर्छ ।
हिजो नागरिकमाथि भएको विभेदविरुद्ध १० वर्ष संघर्ष गरेको पार्टीका नेता आज सुनको थालमा भात खाने भए। बुर्जुवा शिक्षा भनेर दुनियाँका छोरालाई पढ्न नदिएका माओवादी नेताले उनका छोराछोरी डाक्टर, पाइलट र इन्जिनियर बनाए। उसकै नेता तथा कार्यकर्ता गाउँ रित्तिएर साम्राज्यवादी अमेरिकाको लागि पैदल यात्रा हिँडेका छन्। अनि विद्रोह त स्वाभाविक होइन र ?
हो माओवादीमा समस्या देखियो। प्रचण्डले नेता नियन्त्रण गर्न सकेनन् भनेर वैद्यले विद्रोह गरेकै हुन्। यो प्रणालीको विकल्प राजतन्त्र होइन, जनवादी गणतन्त्र हुन्छ । हामी सबैले अहिलेको युगमा केही मान्छे राजतन्त्रको समर्थक होलान् तर त्यत्तिले यो प्रणाली त्यो बाटोमा जाँदैन। यो भन्दा उन्नत प्रणाली ल्याउन छुट्टै खालको चुनाव प्रणाली, उन्नत लोकतन्त्र ल्याउनुपर्छ। राजा वीरेन्द्रले बहुदल घोषणा गरे जस्तो हामीले सडकमा विशाल आन्दोलन गरेर निर्वाचन कानुन परिवर्तन गर्नुपर्छ। भ्रष्टाचारको विरुद्धमा सबै एक हुनुपर्छ। अहिले सांसद्मा रहेका दलहरू नेताहरू सुध्रिनुपर्छ र पैसा खर्च गरेर निर्वाचन लड्ने परिपाटीको अन्त्य गर्नुपर्छ।
प्रतिक्रिया