एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले आज काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। युवा संघले तीनकुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्दैछन्। यस्ता प्रदर्शन किन आवश्यक छन्। यसले राजनीतिक क्षेत्रमा कस्तो असर पार्छ ? किन राजनीति यो अवस्थामा पुग्याे भन्ने विषयमा खबरहबका लागि नेकपा (माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलसँग शसिन्द्र गौतमले गरेको कुराकानीको सम्पादित अंशः
आज हुने दुर्गा प्रसाईं र महेश बस्नेतको प्रदर्शन वा भिडन्तलाई कसरी हेर्नु भएको छ ?
यो भिडन्त अहिले जुन चर्चामा आएको छ त्यही स्तरमा होला भन्न सकिँदैन। सरकारले त्यो भिडन्त नहोस् भन्नका लागि वा आफ्नो सत्ताको विरुद्धमा धेरै ठुलो कार्यक्रम हुन्छ कि भन्ने लागेर योजना बनाएको छ। सरकारले यो प्रदर्शनलाई कमजोर बनाउने र एक्लैएक्लै गर्न दिने योजना बनाएको देखिन्छ। भिडन्ततिर नै जाला नजाला भनेर अहिले भन्न सकिँदैन।
यसमा इगोको क्यास देखिन्छ। किनभने कुनै समयमा दुर्गा प्रसाईं ओलीकै पार्टीमा केन्द्रीय सदस्य भएका हुन्। ओलीको प्रिय पात्र पनि हुन्। प्रचण्ड र ओलीलाई घरमा बोलाएर झर्के थालमा मार्सी चामलको भात खुवाएको प्रसङ्ग पनि आएको हो। त्यसैले उहाँहरूको सैद्धान्तिक राजनीतिक अन्तर हो भन्ने मलाई लाग्दैन।
नेपालका कम्युनिस्ट नेताको सक्कली अनुहार बस्नेत र प्रसाईं हुन् भनेर बुझ्दा उचित होला ?
यहाँ एउटै खालको कम्युनिस्ट भएको भए अहिले बाहिर सतहमा आउँदा कम्युनिस्ट यस्तो हुने रहेछन् भनेर जनताले बुझ्थे। तर यहाँ त प्रचण्डदेखि एमालेसम्मका विभिन्न क्वालिटीका कम्युनिस्ट छन्। कसलाई कम्युनिस्ट मानेर अगाडि बढ्ने भन्ने समस्या छ। यसले त्यसको प्रतिनिधित्व गर्छ भनेर भन्न सकिँदैन।
हामी नेपालको कम्युनिस्ट आन्दोलनको मूल क्रान्तिकारी धारको नेतृत्व दाबी गर्छौ भन्छौँ। अर्कोले आफूलाई देखाउँछ। त्यसैले अहिले यही पार्टीको नेता कम्युनिस्ट पार्टीको नेता, कम्युनिस्ट पार्टीको प्रतिनिधित्व हो भनेर किटान गर्न सकिँदैन। कम्युनिस्ट आन्दोलन जति लोकप्रिय थियो। जति सम्मानित थियो त्यो केही कम्युनिस्ट पार्टी र नेताले गर्दा अपमानित भएको छ। मान्छेले घृणा गर्ने चिज भएको छ। यो दुःख लाग्दो कुरा हो।
१७ वर्ष सम्मको शान्ति प्रक्रियाको एजेन्डा काँचै हुनुको मुख्य कारण के हो ?
त्यो एजेन्डालाई लागु गर्ने मुख्य जिम्मेवारी हस्ताक्षरकर्ताको हो। जुन गिरिजाप्रसाद कोइराला र प्रचण्ड हुन्। हस्ताक्षरकर्ताको पहलकर्मी हुनुपर्नेमा गिरिजाले पनि जीवनकालमा ध्यान दिएको जस्तो देखिएन। हाम्रो पार्टी भित्रको मतभेदको विषय यो पनि थियो। प्रचण्डले पनि गरेको देखिएन। हामीले शान्ति प्रक्रियामा आउँदा धेरै कुरा गुमाएर आएका थियौँ र पहिला शान्ति प्रक्रिया निष्कर्षमा पुग्नु पर्याे भन्ने हाम्रो भनाइ थियो। तर प्रचण्डले हुन्छ/हुन्छ भन्दै त्यसमा अगाडि नबढी प्रधानमन्त्री र सरकारमा कसरी जान सकिन्छ भनेर खोज्नुभयो। प्रचण्ड जता ठूलो आम्दानी गर्न सकिन्छ त्यता गएको देखियो।
त्यसैले हस्ताक्षरकर्ताको मुख्य जिम्मेवारी नहुनुमा प्रचण्ड मूल दोषी हुन्। अरु राजनीतिक पार्टीको विषयमा पनि जोडिने शान्ति प्रक्रिया हो। उनीहरूले ध्यान नदिनु र यिनीहरूलाई ट्रयापमा पार्न दबाब बढाउन सकिन्छ कि भनेर यसलाई चाँडै निष्कर्षमा पुग्नमा सक्रियता देखाएनन्। अरु पार्टीको पनि कमजोरी भएको कारण कुनै पार्टीले आफ्नो जिम्मेवारी पुरा गरेका छैनन्।
एकतामा अनेकता र अनेकतामा एकता खोजेर कम्युनिस्ट एकीकरण सम्भव छ ?
अहिले कम्युनिस्ट एकीकरण सम्भव छैन। कतिसम्म सम्भव छ भने, टिआरसीको विषयमा चर्चा चलेर सर्वोच्च अदालतले व्यक्तिगत मुद्दाहरू दर्ता गराउन थालेपछि माओवादीहरू एकजुट हुनुपर्छ भनेर प्रचण्डलाई याद आयो होला। हामीलाई बोलाएर एकता गरौँ भन्नु भएको थियो। त्यसबेला मैले पुरानो सम्झना स्वरूप एमाले बनाउने भनेर एमालेसँग भएको छोटो कुराकानीमा उहाँले एकताको कुरा गर्दा एकता भएको हो। तर व्यवहारिक बन्न सकेन। कतिसम्म एकता गर्न सकिन्छ भन्ने कुरा हाम्रो वस्तुगत परिस्थितिमा आधारित भएर गरौँ, तपाईंहरूले उग्र दक्षिणपन्थी भनेकालाई हामीले एकताबद्ध गर्छौँ र हामीले उग्र वामपन्थी भनेकोलाई तपाईंहरूले एकताबद्ध गर्नुहोस् दुई पार्टी बनौँ भनेका थिए। मैले त्यही सम्झाएँ।
अहिलेको कम्युनिस्ट आन्दोलन पनि त्यही अवस्थामा छ । यहाँ दुई वटा कम्युनिस्ट पार्टी बनायो भने त्यसले समेट्ने सम्भावना पनि छ। तै पनि सानातिना विषयमा अलग भएर बस्नु उचित लाग्दैन। त्यसैले अहिले विप्लवबाट अलग भएर बहुमतको साथीसँग पार्टी एकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी राखेर एकताको पक्षमा छौँ। तर भएभरका सबै कम्युनिस्ट पार्टी नाम राखेका पार्टीहरू एकताबद्ध भएर जाने स्थिति अहिले छैन।
माओवादीका धेरै सटर खुलेका छन्। जसमा तपाईंले पनि खोल्नु भएको छ। यो पार्टीको हेडमास्टर हुने रहर हो कि बाध्यता ?
यसलाई बाध्यता ठानिन्छ। किनकि सत्तामा नरहेको कम्युनिस्ट पार्टी सञ्चालन गर्न कठिन कुरा हो। सरकारमा जान किन मरिहत्ते गर्छन् भन्नेमा यो एक कारण हो। सुविधा सबैलाई चाहिन्छ जुन सत्तामा सरकारमा छ।
हाम्रो जस्तो सरकारमा जाने नीति नभएको पार्टी बाहिर बसेर चलाउन गाह्रो हुने भएकाले हेडमास्टर हुन रहर गर्नै पर्दैन। लाइन, विचार नमिलेको कारणले आफूलाई लागेको कुरा लागु गर्न प्रयास गर्ने कारणले धेरै सटर खुल्छन्। जति बेला हामीले जनयुद्ध सुरु गरेका थियौँ, त्यो भन्दा पछि पार्टी ठूलो हुँदै आयो। अन्तिममा गएर यो एजेन्डालाई अरु पार्टीले स्वीकार गरेर गणतन्त्र आयो। त्यो स्थिति भोलि पनि दोहोरिन्छ। त्यसपछि हामीले सटर खोलेको सही साबित हुन्छ।
प्रचण्ड, तपाईँले जुराएको नाम भनिन्छ कसरी सोच्नुभयो ?
हाम्रो पार्टी भूमिगत भएकोले नामहरू माइनोट बुकमा लेख्दा अर्कै नाम लेख्थ्यौँ। किनकि त्यो माइनोट बुक सरकारको हातमा पुग्यो भने यही मान्छे भनेर मुद्दा लगाउन मिल्छ, चिनिन्छ। त्यसबाट बच्न अर्को नाम प्रयोग गरिन्थ्यो। धेरै साथीहरू गिरफ्तार हुँदा ती नाम बाहिर आए। त्यसपछि चितवनमा बैठक बसेर नाम फेरौँ सबैले नाम सोचौँ भनियो। बैठकमा मैले आफ्नो नाम प्रचण्ड राखेँ र उनले गौरव राखेका रहेछन्। उनलाई प्रचण्ड मन पर्याे । उनले प्रचण्ड राखे र मैले गौरव राखेँ।
कुनै पूर्वाग्रह नराखी प्रचण्डको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?
प्रचण्डको सबैभन्दा ठूलो गुण भनेको उनी गतिशील हुन्। जुन काम गर्छन् त्यसलाई फत्ते गर्ने विभिन्न तिकडमहरू गर्ने, विभिन्न पात्रलाई प्रयोग गर्ने, जस्तो परिस्थितिमा आफू खेल्न सक्छन्। अहिले पनि ३२ सिटले ८९ सिटको कांग्रेसलाई साथमा लिएका छन्। यो सामान्य अवस्था होइन। त्यो उनको क्वालिटी हो। उनी अलिकति डाइनामिक र अवसरवादी छन्।
एक पटकको विश्व कम्युनिस्ट आन्दोलनले नै उनलाई निकै महत्त्व दिएको थियो। उनी त्यसको नेताको रूपमा परिचित हुँदै थिए। अहिले एउटा नायक हुन लागेको मान्छे खलनायकको रूपमा चिनिएका छन्। यस्ता कुरामा नजाने हो भने उनी डाइनामिक र हरेक किसिमका दाउपेच गर्न सिपालु नेता हुन्। तर यो संसारलाई बदल्ने कुरा मुख्य हो। त्यो कुरामा उनी असफल भए।
प्रचण्ड र बाबुरामको एकता कत्तिको सम्भव छ ?
राजनीति र विचारको हिसाबले यो सम्भव छ। दुवै लोकतान्त्रिक गणतन्त्रवादी हुन्। उनीहरू फुट्नु पर्ने नै थिएन। एकता गर्ने ठाउँ त्यहाँ छ। अर्को उनीहरूको बिचमा धेरै महत्वाकांक्षा छ जहाँ एकले अर्कोलाई निषेध नै गरेर पनि आफू माथि जाने प्रवृत्तिका कारण एक ठाउँमा आउन सकेका छैनन्। यो दुवै कारण विद्यमान भएकोले यही हुन्छ भन्न सकिँदैन। मैले सुने अनुसार बाबुरामको पार्टी भित्र भएका मान्छेहरू एकता गर्नुपर्छ नत्र यो पार्टी छोडिन्छ भनेर धम्क्याएको जस्तो देखिन्छ। यसरी हेर्दा यो एकता होला जस्तो पनि देखिन्छ।
तपाईं प्रचण्डले कुन अविष्ट पुरा गरिदिए भने माओवादीको मूल धारमा प्रवेश गर्नुहुन्छ ?
जुन उद्देश्य राखेर हामीले जनयुद्ध सुरु गर्याैँ । नेपाली जनताले धरै छोराछोरीको बलिदानी गरे, त्यसले हासिल गरेको उपलब्धिलाई लिएर जाने हाम्रो कर्तव्य हुन्थ्यो। तर त्यसलाई बिचमा सम्झौतामा टुंग्याइदिएर त्यो क्रान्तिकारी आन्दोलनलाई तहसनहस पारे। त्यसैले अहिले उनले जुन विचार परित्याग गरेका छन्। उनी जनगणतन्त्रवादीबाट लोकतान्त्रिक गणतन्त्रमा आएका छन्। अब उनले यो विचारलाई परिवर्तन गर्नुपर्छ। संसदबाट परिवर्तन हुन्छ भन्ने जुन भ्रम उनले छरेका छन्, यसबाट सच्चिनु पर्छ । संसदबादबाट नेपालमा जनगणतन्त्र पनि आउँदैन, समाजवाद पनि ल्याउन सकिँदैन। त्यसैले उनले यो सबै कुरामा बाटो छोडेका छन्। फेरि बाटो बिराए भनेर त्यही ठाउँमा आएर म सच्चिन्छु भन्यो भने सिद्धान्त कोही मान्छे सच्चिनै सक्दैन भन्न सकिँदैन। नत्र प्रचण्ड सच्चिने जस्तो पनि देखिँदैन। अहिलेको स्पिड हेदा प्रचण्डलाई यो सुझाव दिए पनि काम लाग्दैन।
https://www.facebook.com/khabarhubofficial/videos/1037824390803432
प्रतिक्रिया