विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज मंसिर ७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

सुरुङमा फसेका कामदारहरूको उद्धार कार्य जारी
भारतमा करिब दुई सातादेखि भत्किएको सडक सुरुङमा फसेका ४१ जना कामदारलाई छुट्याएर अन्तिमसम्म भग्नावशेष खनेपछि एम्बुलेन्सहरूलाई बिहानैदेखि तयारी अवस्थामा राखिएको छ ।

घटनास्थलमा एएफपीका पत्रकारहरूले बिहानको समयमा आपतकालीन सवारीहरू तयारी अवस्थामा राखिएको देखेको बताएका छन् । हिमाली राज्य उत्तराखण्डको सुरुङबाट उनीहरूलाई चाँडै मुक्त गरिने आशा अधिकारीहरूले गरेका छन् ।

नोभेम्बर २२ मा निर्माणाधीन सुरुङको एक भाग खसेपछि इन्जिनियरहरूले करिब ५७ मिटर माटो, कङ्क्रिट तथा भग्नावशेषबाट स्टिलको पाइप खन्ने काम गरिरहेका छन् ।

कयौँ दिनको दर्दनाक सुस्त प्रगतिपछि शक्तिशाली ड्रिलिङ मेसिनका साथ इन्जिनियरहरू बुधबार दु्रत गतिमा अगाडि बढेका छन् । यद्यपि धातुका रडहरूका कारण मार्ग अवरुद्ध हुँदा केबल १२ मिटर अगाडि बढ्ने काम सुस्त भएको छ ।

इन्जिनियरहरूले रड काट्नका लागि पाइपभित्र पस्ने र सो समयमा शक्तिशाली ड्रिलिङ गरिने मध्यरातमा उद्धार टोलीका वरिष्ठ सदस्य हरपाल सिंहले बताएका छन्। चिन्तित आफन्तहरू हिन्दु मन्दिर बनाइएको स्थलमा जम्मा भएका छन् । एक पुजारीले सुरुङभित्र फसेका कामदारहरूको सुरक्षित उद्धारका लागि प्रार्थना गरिरहेका छन् ।

‘जुन दिन उनीहरू सुरुङबाट बाहिर आउँछन् त्यो दिन हाम्रा लागि सबैभन्दा खुशीको दिन हुनेछ’, ३५ वर्षीय चञ्चल सिंह विष्टले भने। सुरुङभित्र उनका २४ वर्षीय भाइ पुष्कर सिंह आर्य फसेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बुधबार साँझ दुर्घटनास्थलमा पुगेर काम युद्धस्तरमा भएको बताए । भग्नावशेष खस्नुका साथै महत्त्वपूर्ण भारी मेसिन बारम्बार बिग्रिएर उद्धार कार्यमा अवरोध भएको छ ।

नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा
बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ द्वारा बुधबार जारी वरियतामा उल्लेख छ ।

अठासी वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरियतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँ पटक हो ।

शीर्ष १० सूचीमा बेइजिङपछि न्यूयोर्क महानगरीय क्षेत्र, साङ्घाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिङ्टन, गुआङ्जाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन् ।

बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ । बेइजिङमा प्रति १० हजार मानिससँग औसत दुई सय १८ दशमलव तीन आविष्कार पेटेन्ट छ । यो चीनमा पहिलो स्थानमा छ ।

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतंककारीहरू मारिएका छन् । प्रहरीको आतंकवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतंककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।प्रहरीले छापा मार्दा आतंककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जबाफी कारबाहीमा उनीहरू मारिएका हुन् ।

मारिएका आतंककारीबाट हतियार र गोलबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतंककारीहरू सो प्रान्तमा आतंकवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

मुजिबुर रहमानका हत्यारालाई क्यानाडाबाट निर्वासन गर्न हसिना सरकारले अपिल गर्ने
बङ्गलादेशका राष्ट्रपिता ‘बङ्गबन्धु’ शेख मुजिबुर रहमानका दोषी हत्यारा नुर चौधरी क्यानाडामा स्वतन्त्ररूपमा बसेको नयाँ वृत्तचित्रमा सार्वजनिक भएपछि बङ्गलादेशले क्यानाडासँग उनको निर्वासनका लागि नयाँ सिराबाट अपिल गर्ने भएको छ ।

हमानका अनुसार नुर चौधरी करिब २८ वर्षअघि सन् १९९६ मा क्यानाडा गएका थिए र जघन्य अपराधमा दोषी हत्यारा भए पनि स्वतन्त्ररूपमा बस्दै आएका छन् । बङ्गलादेश सरकारले उनलाई निर्वासन गर्नका लागि विभिन्न उपाय खोजिरहेको छ । रहमानले मानवअधिकारको नाममा ‘दोहोरो मापदण्ड’ का लागि क्यानाडा र अन्य विकसित मुलुकहरूमाथि प्रश्न गरेका छन् ।

उच्चायुक्त रहमानले नुर चौधरीलाई निर्वासनका लागि क्यानाडा सरकारसमक्ष नयाँ अपिल गर्ने तयारी गरिरहेको जानकारी दिए। रहमानका अनुसार नुर चौधरीका साथै अन्य धेरै दोषी अपराधी पनि क्यानाडामा स्वतन्त्ररूपमा बस्दै आएका छन् । यद्यपि ढाकाले यो विशेष मामिलालाई उच्च प्राथमिकता दिनेछ ।

इजराइल-हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ
इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ ।

इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीबार यस्तो नहुने संकेत गरेका छन्।

‘हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ’, उनले एक विज्ञप्तिमा भने, ‘रिहाइको सुरुआत पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुनेछैन ।’

अर्का इजराइली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजाबासीहरूका लागि ठूलो झट्का हो ।

जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजराइल र हमास चार दिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिने छ ।

रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा एक अतिरिक्त दिनको ‘विराम’ हुने इजराइली सरकारले एक दस्तावेजमा बताएको छ । रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् ।

बदलामा इजराइलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ ।

इजराइल, प्यालेस्टिनी लडाकू समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन । कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मकरूपमा भइरहेको’ बताए । ‘अबको केही घन्टामा युद्धविराम सम्झौताको टुङ्गो लगाइने छ’, उनले भने ।

हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह
दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारहरूबाट घुस लिएको आशंकामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो । दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ ।

सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२ मा कतारमा भएको विश्वकप प्रतियोगितामा आफ्नो मुलुकबाट चार खेलमध्ये तीन खेलमा सहभागिता जनाएका थिए । ‘अब हामीसँग क्रिसमसका लागि एउटै इच्छा छ सन जुन–होलाई रिहा गराउनु किनकीसनले गलत गरेको भनेर आजसम्म उनीहरूले केही पनि प्रमाणित गरेका छैनन्’, चीनमा मङ्गलबार भएको विश्वकप छनोट प्रतियोगितामा ३(० ले विजयी भएर दक्षिण कोरियामा ओर्लिएपछि जर्मनीका पूर्वखेलाडी क्लिन्सम्यानले पत्रकारहरूसँग भने, ‘त्यसैले हामीलाई आशा छ चीन सरकारले क्रिसमसभन्दा पहिला नै आफ्नो परिवारसँग भेट्न उनलाई रिहा गर्नेछ ।’

क्लिन्सम्यानले हिरासतमा रहेको भए पनि जुनमा दुई वटा मैत्रीपूर्ण खेलका लागि सनलाई आफ्नो टिममा समावेश गरेका थिए । कोरिया फुटबल एसोसिएसनले त्यो बेला सनको रिहाइका लागि अधिकारीहरूलाई चीन पठाएको तर खेलाडीका वकिल उनीहरूसँग कुराकानी गर्न ‘अनिच्छुक’ रहेको बताएको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ७ : ५९ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने