दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज दिनभर राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, प्रहरी महानिरीक्षकमा कुँवर नियुक्त, गण्डकीमा माओवादीका दुई मन्त्रीद्वारा राजीनामा,सगरमाथा आरोहणका लागि आजदेखि अनुमति दिन सुरु, थप दुई जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

यससँगै नेपालको आधिकारिक जनसंख्याको घोषणा गरिएको छ । तर प्रारम्भिक तथ्याङ्कभन्दा अन्तिम जनसङ्ख्या घटेको छ । १२औँ जनगणना–२०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालको जनसङ्ख्या कुल २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

जसमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८ दशमलव ९८ प्रतिशत पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१ दशमलव ०२ प्रतिशत महिला रहेका छन् । कुल जनसङ्ख्यामा अन्य लिङ्गी दुई हजार ९ सय २८ जना रहेका छन् ।

सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला काठमाडौँ रहेको छ । काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७ जनसङ्ख्या छ भने सबैभन्दा कम मनाङमा पाँच हजार ६ सय ८५ जना रहेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२औँ राष्ट्रिय जनगणना गरेको थियो।

यसअघि २०७८ माघ १२ मा तत्कालीन केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको थियो ।

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक कुँवरलाई महानिरीक्षक नियुक्त गरेको हो ।

यससँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमार्फत उनले विश्वासको मत प्राप्त गरेका हुन् । यो उनले दोस्रोपटक विश्वासको मत पाएका हुन् ।

गत १३ फागुनमा राप्रपाका ३ जना मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई समर्थन समेत फिर्ता लिएका कारण शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री जम्कट्टेल राखेको विश्वासको मतको पक्षमा ६७ मत परेको हो भने विपक्षमा १७ मत प¥यो । साथै ७ जना सांसद भने तटस्थ बसेका छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिए भने एमाले र राप्रपाले दिएन ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

गण्डकीमा माओवादीका दुई मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारमा माओवादीका तर्फबाट दुई जना मन्त्रीले आज राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।

एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । उनले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे ।

सत्ताइस सदस्यसहित प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ ।

रास्वपाले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले भने, “तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन बिना उम्मेदवार दिने निर्णय भएको छ । ”

बैठकले निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । चितवन–२ मा उपसभापति डोलप्रसाद अर्याल, तनहुँ–१ मा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र बारा–२मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकिएको हो ।

बैठकमा पार्टीको विभागीय जिम्मेवारी बाँडफाँटका विषयमासमेत छलफल भएको उपसभापति अर्यालले बताए ।

पटक पटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पटक पटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँको ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवस र बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पटक पटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्कोपटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने डर रहेको बताएका हुन् ।

कार्यक्रममा उनले विद्यालय तहका बालबालिकालाई यस्तो डर देखाउन नहुने बताए । “पटक पटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्कोपटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने जस्तो डर बालबालिकालाई परीक्षाका बेला गराइनुहुन्नँ, हाँस्दै, खेल्दै, रमाउँदै सिक्ने शैक्षिक वातावरण निर्माण गर्न सबै लाग्नुपर्छ”, उले भने ।

उनले परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिए ।

कतिपय युरोपियन देशमा साना बालबालिकाको परीक्षा नै नलिने शिक्षा प्रणाली रहेको उल्लेख गर्दै काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचित सङ्घीय सांसदसमेत रहेका नेता थापाले शिक्षक र अभिभावक मिलेर त्यस्तै शैक्षिक वातावरण निर्माण गर्नुपर्ने बताए ।

सगरमाथा आरोहणका लागि आजदेखि अनुमति दिन सुरु

यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले वसन्तकालीन यामका लागि सगरमाथा आरोहण गर्न आज पहिलो आरोहण अनुमति जारी गरिएको बताए । उनका अनुसार आरोहण अनुमति लिनेमध्ये १० पुरुष र पाँच महिला छन् । उनीहरू अष्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, अमेरिकाका नागरिक हुन् ।

सगरमाथाको एकसहित आजसम्म अन्य विभिन्न हिमाल आरोहणका लागि १० आरोही समूहले अनुमति लिएको विभागका निर्देशक खतिवडाले जानकारी दिए । विभागका अनुसार वसन्तकालीन याममा विभिन्न हिमालका लागि धमाधम आरोहण अनुमति जारी भइरहेको छ । सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएका छन् ।

आरोहीहरूले सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३६ पुरुष र १७ महिला छन् । यो वर्षको वसन्तकालीन यामका लागि यही चैत ३ देखि आरोहण अनुमति दिन सुरु गरिएको थियो । वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण सुरु हुन्छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो सिजनमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अहिले आरोहण अनुमति लिएर आरोही गन्तव्यतिर निस्किएका छन् ।

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

मुठ्ठीदान गरेर शिक्षकलाई तलब

विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।

कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन । गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए । ‘मुठ्ठीदानमार्फत चामल सङ्कलन गर्यौँ । त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने ।

त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ । हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ । नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए ।

विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन् । ‘सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ’, उनले भने, ‘अहिले चार सय ५० विद्यार्थी छन् ।’ प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्दछन् । विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ । विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन् ।

घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन् । उनीसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए । केही समय उनले निःशुल्क काम गरे । ‘सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाउनुभयो’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, ‘छ महिनापछि एक हजार रुयैयाँ तलब तोकिदिएका थियौँ ।’

‘नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरेका हौँ’, अभिभावक निर्मल परियारले भने ।

उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृष्ट विद्यालयका रूपमा ज्ञान ज्योति आधारभूत विद्यालय लिने गरेको छ । आर्थिक अवस्था कमजोर भएका, दलित तथा अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले विद्यालयलाई उपमहानगरपालिकाले प्रोत्साहन स्वरूप सहयोग गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताए । उनले खोलाको किनारलाई व्यवस्थित गरेर विद्यालय भवन निर्माण गरी पठनपाठन सञ्चालनमा गरिएको उल्लेख गरे ।

‘उक्त विद्यालय एउटा नमूना विद्यालयका रूपमा हामीले लिएका छौँ, जहाँ गिट्टी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्’, निरीक्षक भण्डारले भने, ‘विद्यालयको संरचना र पढाउने तरीका पनि उत्तिकै राम्रा छन् ।’ आधारभूत विद्यालयमा साढे चार सय विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक रहेको उनको भनाइ छ । हाल विद्यालयमा १० शिक्षक, चार बाल विकास, एक निजी तथा एक जना परिचारिका कार्यरत छन् ।

घर नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा अहिले कक्षा ८ सम्म मात्रै पढाइ हुने भएकाले त्यसभन्दा माथि पढ्नका लागि बाहिर जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । ‘अहिलेसम्म हामी यही विद्यालयमा पढ्यौँ’, विद्यार्थी लीला चलाउनेले भनिन् , ‘अब कक्षा १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामीभन्दापछि आउने विद्यार्थीले १० सम्म यही पढ्न पाउन् भन्ने चाहना छ ।’

चितवनको भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

चितवनको भरतपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका ९ केन्द्रीय बसपार्कनजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैरेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ५९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन