विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आज भदौ ७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ब्रिक्समा छ सदस्य थपिए

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको सङ्गठन ब्रिक्समा छ सदस्य थपिएका छन् ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गरेका हुन् । नयाँ सदस्य अब जनवरी १ देखि सङ्गठनमा आबद्ध हुनेछन् ।

“हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब अधिराज्य र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्ण सदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,” राष्ट्रपति रामाफोसाले घोषणा गरेका छन् ।

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ ।

रुसको नागरिक उड्डयन एजेन्सीका अनुसार विमानमा सवार सबैको मृत्यु भएको छ। विमान राजधानीबाट करिब ३०० किलोमिटर उत्तरमा टभर क्षेत्रको कुझेनकिनो गाउँ नजिकै दुर्घटना भएको हो।

जहाजमा तीन जना चालक दलका सदस्यसहित १० जना सवार थिए। प्रारम्भिक जानकारीका अनुसार जहाजमा सवार सबैको मृत्यु भएको छ,’ रुसको आपत्कालीन अवस्था मन्त्रालयले भनेको छ।

यो विमान कसैले आक्रमण गरेर जमिनमा खसालेको हो या अरु कुनै कारणले दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन ।

रुसको संघीय हवाई यातायात एजेन्सी रोसाभिएट्सियाले प्रिगोजिन र वाग्नर समूहका कमाण्डर दिमित्री उटकिनसहित सात यात्रुहरूको नाम प्रकाशन गरेको छ।

निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जना कामदारको मृत्यु

भारतको मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर पर अवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको थियाे । दुर्घटनामा घाइते भएकाहरूका पूर्ण विवरण प्राप्त भईनसकेको बताइएको छ ।

यसैबीच, घटनास्थलमा खोज तथा उद्धार जारी रहेको जनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले मृतकका परिवारलाई रु दुई लाख क्षतिपूर्ति दिइने जनाएको छ ।

प्रधानमन्त्री मोदीले दुर्घटनाको खबरबाट आफू मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी डलरको प्रभुत्वलाई अन्त्य गर्ने ब्राजिलको प्रस्ताव

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी डलरको प्रभुत्वको सामना गर्न ब्रिक्स मुलुकका लागि साझा व्यापारिक मुद्रा सिर्जना गर्न बुधबार आह्वान गरेका छन् ।

‘ब्रिक्स बिजनेस फोरम लिडर्स डायलग’मा लुला दा सिल्भाले ब्रिक्स राष्ट्रहरूबीच सीमापार व्यापारका लागि साझा मुद्रा निर्माण गर्न वकालत गर्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विकल्प खोज्नुपर्ने बताए ।

उनले उदीयमान राष्ट्रहरुबीचको व्यापारलाई सहज बनाउन साझा मुद्राको प्रयोग गरिने बताए । लुला डा सिल्भाले भने, “हामी ब्रिक्स एक बहुपक्षीय संस्था बनोस् भन्ने चाहन्छौं, न कि कुनै विशेष क्लब । हामी केवल आफूलाई व्यवस्थित गर्न चाहन्छौं ।”

उनले गत अप्रिलमा व्यापारमा अमेरिकी डलरको निर्भरता कम गर्न सम्भवतः साझा क्षेत्रीय मुद्रा वा यस्तै संयन्त्र सिर्जना गर्ने प्रस्ताव गरेका थिए ।

मङ्गलबार नै ब्राजिलका राष्ट्रपतिले आफ्नो सरकारले अर्जेन्टिनासँगको व्यापारमा चिनियाँ युआन प्रयोग गर्ने सम्भावनाबारे विचार गरिरहेको घोषणा गरेका थिए ।

उनले भने, “हामी कुनै एक देशमा निर्भर हुन सक्दैनौं जहाँ डलर छ, जसले डलरमा अधिक पैसा प्रचलनमा ल्याउँछ, र हामी त्यो मुद्राको उतारचढावबाट बाँच्न बाध्य छौं । यो सही होइन ।”

युट्युबमा चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

भारतले फेरि इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ ।

योसँगै इसरोको लाइभ स्ट्रिमिङ लिंकले पनि य ट्युबमा इतिहास रच्यो। चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए।

युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बुधवारबाट पछाडि पारेको छ । ब्राजिल– कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्राजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए।

इसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको सङ्ख्या २.६ मिलियन अर्थात् २६ लाख थियो, जुन सफल अवतरण पछि बढेर ३५ लाख पुगेको छ ।

अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र इशरो ले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्‍यो। इशरो को प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको सङ्ख्या तीन गुणा भन्दा बढीसमेत रह्यो ।

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह सुरु

चीन र दक्षिण कोरियाको चर्को विरोधका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।

लगभग पाँच सय ४० वटा ओलम्पिक पौडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।

सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रियाक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आईएईएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।

जापानले ट्रिटियमबाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ । ती तत्वलाई पानीबाट हटाउन सकिदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ ।

आईएईएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षित रूपमा महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ ।

चीन र दक्षिण कोरियाले जापानको उक्त कदमलाई अत्यन्त स्वार्थी भन्दै त्यसको कटु आलोचना गरेका छन् । उनीहरूले महासागर कुनै पनि देशको फोहर विसर्जन गर्ने स्थल नभएको बताएका छन् ।

“समुद्र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हो र फुकुसिमाको आणविक फोहोर पानीलाई जबरजस्ती समुद्रमा मिसाउनु अन्तर्राष्ट्रिय सार्वजनिक हितको बेवास्ता गर्ने अत्यन्त स्वार्थी र गैरजिम्मेवारपूर्ण कार्य हो,” चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ ।

यसअघि चीन, मकाउ र हङकङले फुकुसिमा र टोकियो वरपरबाट जापानी समुद्री उपज आयातमा प्रतिबन्ध लगाएर विकिरण अनुगमनलाई तीव्र पारेका थिए । हङकङका प्रमुख कार्यकारी जोन लीले जलप्रवाहलाई गैरजिम्मेवार कदम भनेका छन् ।

वैज्ञानिकहरूले पानी प्रवाहबाट कुनै समस्या नहुने बताए तापनि सार्वजनिक चिन्ताका बीच दक्षिण कोरियाले पनि फुकुसिमाबाट माछा र खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले उक्त कदमविरूद्ध मैनबत्ती बालेर राजधानी सोलमा विरोध प्रदर्शन गरेको छ ।

सोलस्थित जापानी दूतावासमा पनि विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारी युवाको एउटा समूह दूतावास रहेको आठौं तलामा पुगेको थियो । त्यहाँ प्रवेश गरेका १४ जना प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।

सन् १९८६ मा भएको चेर्नोविल दुर्घटनापछि फुकिसिमा आणविक केन्द्र दुर्घटना विश्वकै दोस्रो भयानक विपत्ति हो । सुनामीसँगै भएको नौ रिक्टर स्केलको भूकम्पमा परी उत्तरपूर्वी जापानका २० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

मधुशालामा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा बन्दुकधारीसमेत चार जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोली हानाहान भएका बेला सुरक्षा अधिकारी पनि नजिकै रहेकाले घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ । घटनामा कुनै पनि सुरक्षा अधिकारी घाइते भएका छैनन् ।

“घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ । घाइते छ जनालाई अस्पतालमा लगिएको छ,” ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन् । स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ । वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ । बन्दुक आक्रमणमा परी यो देशमा हरेक वर्ष हजारौँले ज्यान गुमाउँदै आएका छन् । आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो । यो स्थान ‘बाइकर’ हरूको लागि लोकप्रिय मानिन्छ ।

आक्रमणकारी कानुन कार्यान्वयन गर्ने पूर्वअधिकारी भएको अनुमान गरिएको छ । घटनास्थलबाट एउटा हतियार पनि बरामद गरिएको छ ।

अमेरिकामा गोलीकाण्डका घटना नियमित रुपमा हुने गरेका छन् भने सञ्चारमाध्यममा बन्दुक हिंसाका समाचार प्रमुख शीर्षक बन्ने गरेका छन् । यो महिनाको पहिलो दिनसम्मको तथ्याङ्कअनुसार यो वर्ष २५ हजार एक सय ९८ जनाले ज्यान गुमाएका छन् ।

बन्दुक हिंसाको अभिलेख राख्ने संस्था गन भइलेन्स आर्काइभले सरदर दैनिक एक सय १८ जना मारिने गरेको जनाएको छ । सात महिनाको यो अवधिमा आठ सय ७९ किशोर र एक सय ७० बालबालिकाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार  ८ : ०९ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य