विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज आश्विन ७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानमा रेल दुर्घटना

पाकिस्तानमा आइतबार बिहान रेल दुर्घटना भएको छ । पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक रेल र मालवाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन् ।

प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको हो ।

“रेलका कर्मचारीले यात्रुवाहक रेललाई रोक्न सङ्केत गर्ने स्वीच थिच्नबाट चुकेको र त्यस बखत मालबाहक रेल पहिले नै पार्क गरिएको स्थानमा ठक्कर दिन पुगेको थियो,” अतीकले भने ।

यात्रुबाहक रेल कम गतिमा चलिरहेकोले दुर्घटनाका कारण ठूलो क्षति नभएको बताइएको छ । दुर्घटनामा अधिकांश मानिसहरू सामान्य घाइते भएका छन् ।

“घाइतेमध्ये २७ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ भने दुई जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ,” उनले भने ।

पाकिस्तानी रेल सेवा स्रोतहरूका अनुसार सुरक्षा टोलीले घटनास्थलमा दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ । यदि यो रेल सेवा कर्मचारीहरूको लापरवाही पुष्टि भएमा उनीहरूविद्ध कडा कारबाही गरिनेछ ।

सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु

सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४५ जना घाइते भएका छन् ।

एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा उक्त भवन भत्किएको छ । भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

एक जना प्रहरी अधिकारीले आइतबार एएफपीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या १३ नाघेको छ तर उनले मृतकको यकिन सङ्ख्या बताउन सकेनन् । विस्फोट भएको ठाउँमा खोजी जारी छ । भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको सङ्ख्या बताउन कठिन भएको उनले जनाए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब लडाकुहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “यस्ता घटनाहरूले हामीलाई आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्” उनले एक विज्ञप्तिमा भनेका छन् ।

इजरायली सेनासँगको झडपमा परी दुई जना प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनासँगको झडपका क्रममा आइतबार दुई जना प्यालेस्टाइनीको ज्यान गएको छ । आइतबार बिहान प्यालेस्टाइनको पश्चिम किनारमा रहेको शरणार्थी शिविरमा झडप हुँदा दुई जना प्यालेस्टाइनीको ज्यान गएको हो ।

नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टाइनीको टाउकोमा गोली लागेर मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेमा २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय अब्दुल रहमान अबु दगास रहेका छन् ।

इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टाइनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम किनारमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भीषण भिडन्तमा परिणत भएको छ । गत मङ्गबारदेखि त्यहाँ भड्किएको हिंसामा परी कम्तीमा आठ जना प्यालेस्टाइनी मारिएका छन् ।

शिविरबाट इजरायली सेनाले भारी मात्रामा विष्फोटक पदार्थ, उपकरण र हतियार बरामद गरिएको एक विज्ञप्ति निकालेर जानकारी दिएको छ । शिविरबाट संदिग्ध आतङ्वादीहरूले गोलीसहित विस्फोटक उपकरणबाट आक्रमण गरेपछि प्रतिरक्षात्मक कारबाही गरिएको स्पष्ट गरेको छ ।

सन् १९६७ मा छ दिनको युद्धपछि इजरायलले पश्चिमा किनारमा आफ्नो नियन्त्रण कायम गरेको छ । स्वतन्त्र प्यालेस्टाइन राज्यको माग गर्दै आएका प्यालेस्टाइनीहरूले छ दिने युद्धमा कब्जा गरेको सबै भूभागबाट इजरायल फिर्ता हुनुपर्ने र त्यहाँका यहूदी बस्तीहरू भत्काउनुपर्ने माग गर्दै आएका छन् । यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी गठबन्धन सरकारले बस्ती विस्तारलाई अगाडि बढाएको छ ।

पाकिस्तानमा बलात्कारी बुबाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्नै बुबाको गोली हानेर हत्या गरेकी छिन् ।

मृतककी १४ वर्षीया छोरीले प्रहरीलाई दिएको बयानमा बुबाले तीन महिनादेखि बलात्कार गर्दै आएको बताइन् ।

किशोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेकाले बलात्कारी बुबालाई मार्ने निधो गरेर गोली हानेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी किशोरीविरुद्ध मुद्दा दर्ता गरिने छ ।

किशोरीले बुबामाथि गोली प्रहार गरेपछि परिवारका अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले किशोरी, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।

घटनाको एक दिन अघि आइतबार मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुँदा ३४ जनाको मृत्यु

नाइजेरियाको सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागीपछि भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।

एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारीले जनाएका छन् ।

बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए ।

दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको जानकारी दिए ।

उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अवैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए । डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी पुगेका थिए ।

नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो । त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २९ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको