विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज आश्विन ७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानमा रेल दुर्घटना

पाकिस्तानमा आइतबार बिहान रेल दुर्घटना भएको छ । पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक रेल र मालवाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन् ।

प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको हो ।

“रेलका कर्मचारीले यात्रुवाहक रेललाई रोक्न सङ्केत गर्ने स्वीच थिच्नबाट चुकेको र त्यस बखत मालबाहक रेल पहिले नै पार्क गरिएको स्थानमा ठक्कर दिन पुगेको थियो,” अतीकले भने ।

यात्रुबाहक रेल कम गतिमा चलिरहेकोले दुर्घटनाका कारण ठूलो क्षति नभएको बताइएको छ । दुर्घटनामा अधिकांश मानिसहरू सामान्य घाइते भएका छन् ।

“घाइतेमध्ये २७ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ भने दुई जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ,” उनले भने ।

पाकिस्तानी रेल सेवा स्रोतहरूका अनुसार सुरक्षा टोलीले घटनास्थलमा दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ । यदि यो रेल सेवा कर्मचारीहरूको लापरवाही पुष्टि भएमा उनीहरूविद्ध कडा कारबाही गरिनेछ ।

सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु

सोमालियामा भएको आत्मघाती आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४५ जना घाइते भएका छन् ।

एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा उक्त भवन भत्किएको छ । भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

एक जना प्रहरी अधिकारीले आइतबार एएफपीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या १३ नाघेको छ तर उनले मृतकको यकिन सङ्ख्या बताउन सकेनन् । विस्फोट भएको ठाउँमा खोजी जारी छ । भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको सङ्ख्या बताउन कठिन भएको उनले जनाए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब लडाकुहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “यस्ता घटनाहरूले हामीलाई आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्” उनले एक विज्ञप्तिमा भनेका छन् ।

इजरायली सेनासँगको झडपमा परी दुई जना प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनासँगको झडपका क्रममा आइतबार दुई जना प्यालेस्टाइनीको ज्यान गएको छ । आइतबार बिहान प्यालेस्टाइनको पश्चिम किनारमा रहेको शरणार्थी शिविरमा झडप हुँदा दुई जना प्यालेस्टाइनीको ज्यान गएको हो ।

नुर शाम्स शरणार्थी शिविरमा भएको झडपका क्रममा दुई जना प्यालेस्टाइनीको टाउकोमा गोली लागेर मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिनेमा २२ वर्षीय ओसैद अबु अली र ३२ वर्षीय अब्दुल रहमान अबु दगास रहेका छन् ।

इजरायली सेनाले पनि आतङ्वादविरुद्धको कारबाहीमा दुई जना प्यालेस्टाइनी मारिएका पुष्टि गरेको छ । गत वर्षको प्रारम्भदेखि पश्चिम किनारमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भीषण भिडन्तमा परिणत भएको छ । गत मङ्गबारदेखि त्यहाँ भड्किएको हिंसामा परी कम्तीमा आठ जना प्यालेस्टाइनी मारिएका छन् ।

शिविरबाट इजरायली सेनाले भारी मात्रामा विष्फोटक पदार्थ, उपकरण र हतियार बरामद गरिएको एक विज्ञप्ति निकालेर जानकारी दिएको छ । शिविरबाट संदिग्ध आतङ्वादीहरूले गोलीसहित विस्फोटक उपकरणबाट आक्रमण गरेपछि प्रतिरक्षात्मक कारबाही गरिएको स्पष्ट गरेको छ ।

सन् १९६७ मा छ दिनको युद्धपछि इजरायलले पश्चिमा किनारमा आफ्नो नियन्त्रण कायम गरेको छ । स्वतन्त्र प्यालेस्टाइन राज्यको माग गर्दै आएका प्यालेस्टाइनीहरूले छ दिने युद्धमा कब्जा गरेको सबै भूभागबाट इजरायल फिर्ता हुनुपर्ने र त्यहाँका यहूदी बस्तीहरू भत्काउनुपर्ने माग गर्दै आएका छन् । यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कट्टर दक्षिणपन्थी गठबन्धन सरकारले बस्ती विस्तारलाई अगाडि बढाएको छ ।

पाकिस्तानमा बलात्कारी बुबाको गोली हानी हत्या

पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्नै बुबाको गोली हानेर हत्या गरेकी छिन् ।

मृतककी १४ वर्षीया छोरीले प्रहरीलाई दिएको बयानमा बुबाले तीन महिनादेखि बलात्कार गर्दै आएको बताइन् ।

किशोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेकाले बलात्कारी बुबालाई मार्ने निधो गरेर गोली हानेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी किशोरीविरुद्ध मुद्दा दर्ता गरिने छ ।

किशोरीले बुबामाथि गोली प्रहार गरेपछि परिवारका अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले किशोरी, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।

घटनाको एक दिन अघि आइतबार मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुँदा ३४ जनाको मृत्यु

नाइजेरियाको सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागीपछि भएको विस्फोटमा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।

एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारीले जनाएका छन् ।

बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए ।

दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको जानकारी दिए ।

उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अवैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए । डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी पुगेका थिए ।

नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो । त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २९ बजे

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल