विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक ७ ,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चिनियाँ विदेशमन्त्री यी यसै साता अमेरिका जान सक्ने
चीनका विदेशमन्त्री वाङ यीले यसै साताको अन्त्यमा वासिङ्टन डिसीको भ्रमण गर्नुहुने अपेक्षा गरिएको वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले बताएको छ ।

उनको भ्रमण आगमी महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सि जिनपिङबीच सम्भावित बैठकभन्दा अघि हुन गइरहेको छ ।

अधिकारीहरूका अनुसार विदेशमन्त्री वाङले अक्टोबर २६ देखि २८ सम्म अमेरिकी राजधानी वासिङ्टन डिसीको आफ्नो भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्नेछन् ।

यद्यपि वाङले आफ्नो अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनलाई भेट्नुहुन्छ वा हुन्न भन्नेबारे अधिकारीहरूले केही उल्लेख नगरेको सीएनएनले बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बेइजिङमा चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए ।

विदेशमन्त्री वाङको अमेरिका भ्रमणलाई ‘जुनमा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको बेइजिङ भ्रमणपछिको एउटा पारस्परिक भ्रमण’ भएको एक चिनियाँ अधिकारीले बताएका छन् ।

सीएनएनका अनुसार अमेरिका र चीनबीच तनाव बढिरहेको छ तर बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ ।

वाङको भ्रमण यस्तो समयमा हुन गइरहेको छ जतिबेला अमेरिकाले आतङ्कवादी समूह हमाससँग जारी युद्धमा इजराइललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

‘वाङको यो भ्रमण विभिन्न मुद्दामा चीनसँग सञ्चारको खुला च्यानलहरू कायम राख्ने जारी प्रयासको एउटा हिस्सा हो’, चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले भनेको छ ।

यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस(स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्ध र उत्तेजक उत्तर कोरिया’ लगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।

इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मंगलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनकको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा सो बस दुर्घटना भएको हो । सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन् ।

त्यसैगरी कम्तिमा १६ जना अहिले घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ।

गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका छ कामदारको मृत्यु
गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ ।

हमासका बन्दुकधारीहरूले इजरायलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजरायली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन ।

‘शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ’ संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मङ्गलबार पठाएको अपडेटमा भनिएकोछ, ‘तीमध्ये छ जना पछिल्लो २४ घन्टमा मारिएका छन् ।’

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजरायलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् ।

स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीका राष्ट्रपतिद्वारा हस्ताक्षर
टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन् । उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ । अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो ।

स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीले कडा प्रतिक्रिया जनाएको थियो । यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो ।

टर्कीको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई कथित समर्थन गरेका कारण स्विडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्की अनिच्छुक देखिएको थियो ।

स्विडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतंकवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन ।

स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद
स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती आभूषण चोरी गरेर अवैधरूपमा युक्रेनबाट बाहिर लगिएको थियो ।

हार, ब्रेसलेट र झुम्कासहित ११ वटा टुक्रा सन् २००९ र सन् २०१३ को बीचमा किएभ सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो र सन् २०१६ भन्दा पहिला युक्रेनबाट तस्करी गरेर ल्याइएको प्रहरीले एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार ती सामग्री ईसापूर्व आठौँ र चौथो शताब्दीबीचको भएको अनुमान गरिएको छ ।

तीन स्पेनी र दुई युक्रेनी नागरिक (तीमध्ये एक अर्थोडक्स चर्चका पादरी) लाई कारवाहीका हिस्साका रूपमा गिरफ्तार गरिएको थियो । उक्त चर्चलाई युक्रेनका साथै अल्बानिया, बुल्गेरिया, साइप्रस र उत्तरी मेसेडोनियामा अधिकारीहरूको सहयोगमा सञ्चालन गरिएको थियो ।

प्रहरीका अनुसार कलाकृतिहरू युक्रेनी अर्थोडक्स चर्चका हुन् भन्ने देखाउनका लागि अङ्ग्रेजी, युक्रेनी र स्पेनी भाषामा नक्कली कागजात बनाइएको थियो ।

‘यी यस्ता टुक्राहरू हुन् जसलाई लिलामी घरजस्ता सामान्य कानूनी माध्यमबाट बेच्न सकिँदैन’, प्रहरी प्रवक्ता अना रामोनले भने। सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट म्याड्रिडमा एक व्यापारीलाई बिक्री गरिएपछि प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

उक्त अनुसन्धानबाट अन्य १० वटा कलाकृति प्राप्त भयो जसलाई प्रहरीले गत महिना संदिग्धहरूबाट बरामद गरेको थियो । ती टुक्राहरूको अध्ययन स्पेनको राष्ट्रिय पुरातत्व सङ्ग्रहालय र मुलुकको सांस्कृतिक सम्पदा संस्थानले गरिरहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  ७ : ५९ बजे

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा

वर्षासँगै बिजुली उत्पादन बढ्दै, खेर जाने चिन्तामा प्रवर्द्धक

काठमाडौं– पछिल्ला सातादेखि देशभर वर्षा हुन थालेपछि जलविद्युत उत्पादन गृहहरूबाट

एमालेले आजै सरकार छोड्ने

काठमाडौं– नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।

म्याग्दी नदीको कटान रोक्न मंगलाघाटमा पर्खाल निर्माण

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका