भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा « Khabarhub

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो । 

रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहजरूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रधानाध्यपक पेशलकुमार तिमल्सेनाले बताएका छन् । 

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील र उत्पादनमुखी बनाउनका लागि प्राविधिक शिक्षाको सुरुआत गरेको उनको भनाइ छ ।

‘शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यक छ’ उनले भने, ‘हामीले व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीमा जीवनयापनको वातावरण बन्छ । विद्यार्थीलाई कृषि विषयको प्राविधिक शिक्षा दिँदै आएका छौँ ।’ शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको हो ।

विद्यार्थीलाई सहज प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न प्राविधिक शिक्षामा जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए । यस वर्ष पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत पाँच लाख लागतमा च्याउखेती गर्न घर निर्माणसँगै प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरिद गरिने उनको भनाइ छ । आवेदन माग गरेर विद्यार्थीको रोजाइको आधारमा च्याउखेती, टमाटर खेती, फलफूल खेती, तरकारी खेतीमा जोड दिइएको उनको भनाइ छ । आगामी दिनमा यसको विस्तारमा थप जोड दिने लक्ष्य रहेको उनले जानकारी दिए । ‘प्राविधिक शिक्षासँगै हामीले पढ्दै कमाउँदै कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ’, उनले भने, ‘विद्यार्थीको रुचिका आधारमा विभिन्न प्रकारका शिक्षा दिने व्यवस्था मिलाएका छौँ । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आषर्कण बढ्दो छ ।’

विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन् । तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ । विद्यार्थीले च्याउखेती, टमाटर खेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् । आर्थिक स्रोतको दिगो व्यवस्थापनका लागि विद्यालयको जग्गामा करिब सय बोट एभोकाडोका बिरुवा रोपिएको विद्यालयले जनाएको छ । 

विद्यार्थीलाई प्राविधिक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा रामप्रसादराई गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गाउँपालिकाले ध्यान दिइरहेको अध्यक्ष राईको भनाइ छ । ‘अहिलेको आवश्यकता प्राविधिक  शिक्षा हो’, अध्यक्ष राईले भने, ‘हामीले सीपमूलक शिक्षामा जोड दिँदै आएका छौँ । प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन सहयोग पुग्नेछ ।’

विद्यालयमा आएर अभ्यासमूलक शिक्षा लिँदा सिकाइ प्रभावकारी हुने गरेको विद्यार्थीको भनाइ छ । उनीहरूलाई अभ्यासका लागि विद्यालयले आफ्नो तथा लिजमा जग्गा लिएर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने गरेको छ । आफूले सिकेको सीप घरपरिवारलाई सिकाएर काम गर्ने गरेको विद्यार्थी सचिन चर्मकारले बताए । विद्यालयका कृषि पढ्न चाहने विद्यार्थीले कक्षा ९ बाट ऐच्छिक विषयका रूपमा पढ्दै आएका छन् ।

भोजपुरमा  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा छन् । भोजपुर नगरपालिका–६ मा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट र रामप्रसादराई गाउँपालिका मानेभञ्याङमा राममिथिला बहुप्राविधिक शिक्षालय सञ्चालनमा छन् । यीसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर विभिन्न माध्यमिक विद्यालयले प्राविधिक शिक्षा पढाउँदै आएका छन् । 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ०५ बजे

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको

गाजासम्बन्धी ट्रम्पको १५ बुँदे प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

शिक्षासहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।