संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको फिनल्याण्डबाट हामीले के सिक्ने ? | Khabarhub Khabarhub

संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको फिनल्याण्डबाट हामीले के सिक्ने ?



फिनल्याण्ड संसारकै सबैभन्दा समृद्ध मुलुकको सूचीमा आउँछ । फिनल्याण्डका नागरिक संसारकै सबैभन्दा खुशी मानिन्छन् भने यहाँको स्थायित्व, सामाजिक प्रगति, स्वतन्त्रता र सामाजिक सुरक्षा विश्वकै अग्रस्थानमा आउने गरेको छ ।

प्रगतिशील सामाजिक मान्यताकै कारण फिनल्याण्डको समाजलाई विश्वकै उदाहरणीय मानिन्छ । फिनल्याण्ड समृद्धि, शिक्षा तथा साक्षारता, प्रतिस्पर्धात्मक अर्थतन्त्र, न्यून भ्रष्टाचार, स्वास्थ्य सेवा, हरियाली तथा दिगो विकास, मानव संशाधनलगायतका सूचकांकमा शीर्षस्थानमा आउँछ ।

साँच्चै भन्दा फिनल्याण्ड आदर्श समाजको उदाहरण नै हो । फिनल्याण्डको विकास र प्रगतिका लागि भने त्यहाँको शिक्षा प्रणालीलाई जस दिने गरिन्छ । फिनल्याण्डको शिक्षा प्रणाली विश्वका अन्य मुलुकको भन्दा भिन्न र प्रगतिशील रहेकै कारण फिनल्याण्ड प्रगतिको पथमा अघि बढेको हो ।

फिनल्याण्डमा शिक्षा प्रणाली विश्वकै नमुना मानिन्छ । यहाँका हरेक नागरिक साक्षर छन् । बहुसङ्ख्यक लुथेरियन सम्प्रदायका इसाईको बसोबास रहेको र लुथेरियन सम्प्रदायले आ–आफ्नो भाषामा बाइबलको अध्ययनलाई जोड दिने गरेकाले सांस्कृतिक रुपमा नै फिनल्याण्डमा साक्षरतालाई जोड दिने गरिन्छ । १९ औं शताब्दीमा नै फिनल्याडको साक्षरता ८०-९० प्रतिशत पुगेको अनुमान गरिन्छ । पहिलो पटक साक्षरताको अभिलेख राखिने बेला सन् १८८० मै फिनल्याण्डको साक्षरता दर ९७ प्रतिशत थियो ।

आधुनिक शैक्षिक प्रणाली अनुसार त्यहाँ पूर्ण रुपमा निः शुल्क र अनिवार्य ९ वर्षे विस्तृत शिक्षाको अवधारणा छ । विद्यार्थीले विद्या आर्जनका लागि गर्ने सम्पूर्ण खर्च राज्यको जिम्मेवारीका रुपमा रहेको छ ।

विद्यालयको पाठ्यसामग्री, विद्यालयमा दिइने खाना, पोसाक, यातायातदेखि सम्पूर्ण खर्च राज्यले व्यहोर्ने व्यवस्था छ । फिनल्याण्डमा निजी विद्यालय छैनन् । अतः गरिब र धनी वर्गका विद्यार्थीले लिने शिक्षामा भेदभाव हुन्न । त्यसबाहेक त्यहाँको हरेक क्षेत्रमा रहेका हरेक विद्यालयलाई उत्तिकै महत्व दिने गरिन्छ ।

राजधानी हेलसिन्कीमा रहेको विद्यालय र दुर्गम क्षेत्रमा रहेको विद्यालयमा उपलब्ध श्रोत, साधन र सेवामा कुनै भेदभाव हुन्न । त्यसैले फिनल्याण्डमा ‘सबैभन्दा उत्कृष्ट’ विद्यालय वा ‘सबैभन्दा कमजोर’ विद्यालय भन्ने नै हुन्न ।

त्यहाँ बालबालिकाहरूलाई जन्मेको ८ महिनादेखि ६ वर्षको उमेरसम्म ‘डे केयर’ मा वयस्क अभिभावकको निगरानीमा राखिन्छ । यस्ता डे केयरमा बालबालिकाको शारीरिक तथा बौद्धिक विकासका लागि आवश्यक खेल्ने सामग्री तथा समाजमा घुलमिल हुन सहज होस् भन्ने किसिमका सामग्रीहरू उपलब्ध गराइन्छ । त्यस्तै, ६ वर्षको उमेरमा प्रिस्कूलमा राखिने गरेको छ । यस्ता प्रिस्कूलमा बालबालिकालाई ‘कसरी सिक्ने’ भन्ने सिकाइन्छ ।

बालबालिकाको औपचारिक विद्यालय शिक्षा ७ वर्षको उमेर नहुन्जेलसम्म शुरु हुन्न । ७ वर्षको उमेरका बालबालिकाहरूलाई अभिभावकसँग नभई आफैं विद्यालय जान प्रोत्साहित गरिन्छ । ७ वर्षको उमेरमा बालबालिकाहरू विद्यालय जान परिपक्व भइसक्ने र आफैं विद्यालय जानुपर्ने भएकाले उनीहरु विद्यालय जान समेत उत्साहित हुने गर्छन् ।

त्यसपछि बालबालिकाको ९ वर्षे विस्तृत शिक्षा शुरु हुन्छ । उनीहरु विद्यालयमा केबल ३ देखि ४ घण्टासम्म मात्र रहने गर्छन् । ९ वर्षे विस्तृत विद्यालय शिक्षाका क्रममा उनीहरूलाई आधारभूत अध्ययन गराइन्छ । त्यहाँ शिक्षकहरूले विद्यार्थीको रुचिअनुसारका सिकाइ सिकाउने गर्छन् ।

त्यहाँ विद्यार्थीहरूले साहित्य, सङ्गीत, कला, खाना पकाउने देखि विज्ञान, गणित, स्वास्थ्य र सामाजिक शिक्षा लगायतका क्षेत्रमा आफ्नो रुचिलाई अझ परिष्कृत गर्न सक्छन् ।

त्यस्तै, त्यहाँको आधारभूत शिक्षा प्रणालीले प्रतिस्पर्धा भन्दा पनि सहकार्यमा जोड दिने गरेको छ । त्यहाँका विद्यालयमा परीक्षा, गृहकार्य र विद्यालय तथा विद्यार्थीबीचको प्रतिस्पर्धालाई निरुत्साहित गरिँदै आइएको छ भने विद्यालयमा विद्यार्थीको उपस्थितिलाई महत्व दिइँदैन ।

वर्तमान शिक्षा प्रणाली अनुसार त्यहाँ हाइस्कूलको अन्त्यसम्म कुनै परीक्षा लिइँदैन । यसबाट विद्यार्थीमा स्वतः प्रतिस्पर्धाको भाव हराएर जाने र विद्यार्थीबीच सहकार्य बढ्छ ।

त्यस्तै, त्यहाँ विद्यार्थीलाई दैनिक केबल आधा घण्टाको समयमात्रै गृहकार्य गर्न दिइन्छ । फिनल्याण्डको शिक्षा प्रणालीले ‘बालबालिकाको बालापन’ लाई महत्व दिने गरेको छ । त्यहाँको आधारभूत शिक्षा प्रणाली ‘विद्यालय बालबालिकाले खुशी पाउने स्थान हुनुपर्छ’ भन्ने मान्यतामा आधारित छ । सोही अनुसार बालबालिकाहरू कुन क्षेत्रमा रुचि राख्छन् र के गर्दा उनीहरु खुशी हुन्छन् भन्ने दिशामा हरेक शिक्षकको ध्यान रहने गर्छ ।

त्यसबाहेक त्यहाँ शिक्षक बन्न पनि सहज छैन । त्यहाँ आधारभूत शिक्षकले कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेकै हुनुपर्छ भने शिक्षक छनौट पनि धेरै नै जटिल हुने गरेको छ ।

त्यहाँ विद्यार्थी र शिक्षक सङ्ख्याको अनुपात एकदमै थोरै रहेको तथा एकै शिक्षकले विद्यार्थीलाई ६ वर्षसम्म अध्यापन गराउने हुँदा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध एकदमै मजबुत हुने गरेको छ । त्यो सम्बन्ध यति मजबुत हुन्छ कि शिक्षकलाई बालबालिकाका परिवारले परिवारका सदस्यकै रुपमा स्वीकार गर्ने गर्छन् । शिक्षण पेसालाई फिन्निस समाजमा आदर गरी उपल्लो दर्जामा राखिने गरेको छ ।

विद्यार्थीले आधारभूत अध्ययन सकेपछि उच्च माध्यमिक शिक्षा रोज्न सक्छन् । यो अनिवार्य नभएपनि ९० प्रतिशत विद्यार्थीले आधारभूत शिक्षा सकिएलगत्तै उच्च माध्यमिक शिक्षा नै रोज्ने गरेका छन् । तीन वर्षे उच्च माध्यमिक शिक्षामा पनि नियमित वा व्यावसायिक शिक्षा रोज्ने भन्ने दुई विकल्प हुने गरेको छ । ६० प्रतिशत विद्यार्थीले नियमित उच्च माध्यमिक शिक्षा लिने गरेका छन् भने ४० प्रतिशतले व्यावसायिक शिक्षा लिएका छन् ।

नियमित शिक्षा रोज्नेहरु आफूले इच्छाएको विषय थप अध्ययन गर्न सक्छन् । यस्तो नियमित शिक्षा लिनेहरुले अध्ययनको अन्त्यमा मुलुकको एकमात्र राष्ट्रियस्तरको परीक्षा दिने गरेका छन् । कलेजमा भर्ना हुने प्रक्रियाका लागि आवश्यक पर्ने भएकाले परीक्षा दिनुपर्ने व्यवस्था छ ।

व्यावसायिक रुपमा सफल हुन चाहनेले भने आफ्नो क्षेत्रमा केन्द्रित भएर व्यावसायिक शिक्षा लिने गरेका छन् । व्यावसायिक शिक्षाकै क्रममा विद्यार्थीले मुलुकका विभिन्न उद्योगमा काम गर्न समेत पठाइन्छ । व्यावसायिक शिक्षाको अन्त्यमा विद्यार्थी आफ्नो निपुण भएको प्रमाणपत्र प्रदान गरिन्छ ।

यद्यपि नियमित शिक्षा वा व्यावसायिक शिक्षा लिने विद्यार्थीले आफ्नो पढाईका क्रममा आफ्नो क्षेत्र परिवर्तन गर्न समेत सक्छन् । यसअनुसार नियमित शिक्षा लिइरहेका विद्यार्थीले व्यावसायिक वा व्यावसायिक शिक्षा लिइरहेका विद्यार्थीले नियमित शिक्षाको अध्ययनलाई अघि बढाउन सक्छन् ।

विद्यार्थीले उच्च शिक्षा सकिएपछि बल्ल फिनल्याण्डका विश्वस्तरका कलेज तथा विश्वविद्यालयमा भर्ना भई आफ्नो अध्ययनलाई अघि बढाउन सक्छन् । यसअनुसार उनीहरूले स्नातक, स्नातकोत्तर, विद्यावारिधि वा त्योभन्दा माथिको अध्ययनका लागि बाटो खुला हुन्छ ।

नेपालमा भने सानै उमेरमा बालबालिकालाई विद्यालय पठाइने गरिएको छ । त्यसमाथि लामो कक्षा तथा भारी झोला बोकाएर बालबालिकालाई विद्यालय पठाइन्छ । आफ्ना छोराछोरीको शिक्षाका लागि बाबुआमाले आफ्नो कमाईको ठूलो हिस्सा नै खर्च गर्नुपर्ने हुन्छ ।

त्यसबाहेक नेपालमा निजी तथा सरकारी विद्यालयबीचको विभेदका कारण धनी वर्गका बालबालिकाले निजी विद्यालयमा राम्रो शिक्षा तथा गरिब वर्गका बालबालिकाले सरकारी विद्यालयमा गुणस्तरहीन शिक्षा लिनुपर्ने अवस्था छ ।

विद्यार्थीलाई कहिले बिदा आउला र विद्यालय नजानपाए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ । त्यस्तै, नेपालमा शिक्षकले विद्यार्थीलाई कुट्ने गरेको तथा अन्य यातना दिने गरेको समाचार पनि बारम्बार सार्वजनिक हुने गरेका छन् । यसबाट विद्यार्थी र शिक्षकबीचको सम्बन्ध पनि राम्रो देखिन्न ।

अर्कोतर्फ बालबालिकालाई आवश्यकता भन्दा धेरै गृहकार्य दिइने गरेको छ । यसले बालबालिकाले घरमा रहँदा समेत अध्ययनमा ध्यान दिनुपर्ने भएकाले परिवार तथा समाजप्रति घुलमिल हुन समस्या पर्दै आएको छ ।

उत्कृष्ट शिक्षा प्रणालीका कारण फिनल्याण्ड विश्वमा सबैभन्दा प्रगतिशील तथा अग्रगामी मुलुकको सूचीमा शीर्ष स्थानमा आएको हो । नेपालजस्ता मुलुकले पनि फिनल्याण्डको शिक्षा प्रणालीबाट धेरै सिक्न सक्छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  १२ : ५८ बजे

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं – बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं – सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको