असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट « Khabarhub

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा भित्र्याउने बेलाको हिउँदे बाली र तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ ।

अन्नपूर्ण गाउँपालिका–७ हिस्तानलगायत उत्तरी म्याग्दीका विभिन्न गाउँमा दिउँसो परेको बाक्लो असिनाले पाक्नै लागेको हिउँदेबाली नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् । म्याग्दीको उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पुर्‍याएको किसानले बताएका छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको हिस्तानका कृषक रमेश पुर्जाले बताए । शुक्रबार ३ बजेतिर हिउँजस्तै जम्ने गरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ ।

खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिरौलालगायतका तरकारी र बालीका बिरुवामा समेत क्षति पुगेको कृषक देवी पुनले सुनाए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्‍याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापरलगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जनाए । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उनले बताए । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषक भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगत वर्षमा तीन-चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्ष भने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन । जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक कृषकलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक कृषकलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानले बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : ०५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।