काभ्रेपलाञ्चोकमा नमूना एकीकृत बस्तीकाे निर्माण अलपत्र | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकमा नमूना एकीकृत बस्तीकाे निर्माण अलपत्र


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्ने गरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ ।

नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा  बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि घर निर्माण तथा फिनिसिङको काम अलपत्र बनेको हो ।

बाँकी काम सम्पन्न गर्नका लागि नगरपालिकाले  ४० लाख रुपैयाँ सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबाले पहिलो चरणमा लगेको पेस्की फर्छ्यौट भएपछि बस्ती निर्माणका लागि उपलब्ध गराउने रकम निकासा गरिने बताए । यसअघि पालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो । प्राधिकरणबाट समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।

समितिका अध्यक्ष आइतमान तामाङले पटक पटक ५४ लाख रुपैयाँ ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणलाई निरन्तरता दिइएको बताए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा दुई करोड ८० लाख रुपैयाँ निकासा भएको छ ।

तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमूना तामाङ बस्ती निर्माण थालिएको हो । एक तले तीन कोठा भएका एकै डिजाइनका घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक १३ लाख रुपैयाँ लाग्ने समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ दुई वर्षअघि एक सय ५० दिन खटेकी थिइन् । नमुना तामाङ बस्ती निर्माण थालेपछि कामको दिन हेरेर उनीसँगै गाउँका महिला, पुरुष जनश्रमदानमा जुटेका थिए । ‘गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउँथ्यौँ, अहिले पैसा छैन भनेर काम रोकिएको सुनेका छौँ’, पञ्चकुमारीले भनिन् ।

उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पाँच वर्षअघि सोही बस्ती निर्माणका लागि दिएकी थिइन् । सरकारसँग सम्झौता गरी तीन धारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रुपैयाँ रकम निकासा भएको थियो । स्थानीय विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत सहयोग गरिरहेको बताए । ‘भूकम्प पीडितको आवास निर्माणका लागि भनेर आएको पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि बस्ती निर्माणमा खर्चिइएका छौँ’, उनले भने  ।

बस्ती निर्माण कार्य योजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ । ४० लाख रुपैयाँमा निर्माण भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायत सामाग्री सङ्ग्रहित गरिने समितिका अध्यक्ष तामाङले बताए । उनका अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । ‘छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर निर्माण गरिएको हो’, उनले भने ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ४ : ०६ बजे

सेनाले राख्न थाल्यो खुर्कोटको सुनकोशीमा बेलिब्रिज

काठमाडौं– खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको

एनपीएलमा आरिफ र अविनाश सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने

काठमाडौं– विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क

सरकारविरुद्ध अन्तर्राष्ट्रिय निकायमा जाने भूपू गोर्खा सैनिकको चेतावनी

काठमाडौं- ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला

स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता 

काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि