गलकोट नगर अस्पतालमा उपकरण थपिएपछि सेवा सहज बन्दै « Khabarhub

गलकोट नगर अस्पतालमा उपकरण थपिएपछि सेवा सहज बन्दै


८ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार गराउँछन् ।

नगरपालिकाले गत वर्ष पुसदेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृतलगायतका अस्पतालमा आवश्यक दक्ष जनशक्ति थपिँदैछन् । अस्पतालमा आधुनिक उपकरण पनि थपिँदै गएका छन् ।

नगरपालिकाले गलकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाएको हो । अहिले अस्पतालमा विशेषज्ञ डा. राजेश पौडेल र डा. मनोज कार्कीले सेवा दिइरहेका छन् । विशेषज्ञ चिकित्सकसँगै अस्पतालमा अहिले ‘अल्ट्रासाउन्ड’ उपकरण पनि आएको छ ।

नगर अस्पताललाई गलकोट समाज जापानले ३५ लाखको ‘अल्ट्रासाउन्ड’ मेसिन सहयोग गरेको छ । समाजले नगर अस्पताल सञ्चालनका लागि यसभन्दा अगाडि पनि स्वास्थ्य उपकरण तथा भवन निर्माणमा समेत सहयोग गरेको थियो ।

अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससमेत सहयोग आएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । विदेशमा रहेर पनि गलकोटेहरुले आफ्नो समाजप्रति जिम्मेवार भएर सहयोग गरिरहेको उनको भनाइ छ ।

अहिले नगर अस्पतालमा भिडियो एक्स–रे, डेन्टल मेसिन, आँखा उपचार केन्द्र, बिरामी सुत्ने आधुनिक शय्या, फोल्डिङ गर्ने बिरामी कुरुवा कुर्सीलगायतमा पनि समाजबाट सहयोग गरेको भण्डारीले बताए ।

एक वर्षदेखि गलकोटमा १५ शय्याको सेवा प्रवाह गर्दै आएको उनको भनाइ छ । यही अस्पालमा गुणस्तरीय सेवा दिन थालेपछि गलकोटबाट उपचारका लागि बाहिर जानेको सङ्ख्या न्यून भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

गलकोट क्षेत्रमै सहरबजारका सुविधायुक्त अस्पतालमा जस्तै सेवा प्रवाहका लागि आफूहरूले जापानमा सहयोग जुटाएको गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले बताइन् ।

गलकोट समाजले स्वास्थ्यसँगै खेलकुद र विपन्न परिवारलाई सहयोग गर्दै आएको उनको भनाइ छ । लामो समयदेखि समाजिककार्य गर्दै आएको गलकोट समाज जापानले १८ करोडभन्दा बढी रकम विभिन्न क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ ।

नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले सेवा थपिँदै गएपछि बिरामीको सङ्ख्या बढ्दै गएको बताए । पछिल्लो समय ठूला सहरमा उपचार गराउन जाने बिरामीले गलकोटमै सेवा लिइरहेको पौडेलको भनाइ छ । अहिले अस्पतालमा दैनिक एक सय ७० देखि दुई सय जना बिरामीले उपचार सेवा लिने गरेको डा पौडेलले बताए ।

हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् ।

अस्पालमा हाल गलकोट नगरपालिकाबाहेक ताराखोला, बरेङ, बडिगाड गाउँपालिका सहित गुल्मीको मुसिकोट नगरपालिकालगायतबाट बिरामी आउन थालेको उनको भनाइ छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ११ : ५९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको