संविधान भनेको एउटा साधन हो। साध्य त फेरि मान्छेले नै गर्ने हो। काम त मान्छेले नै गर्ने हो। संसारभर हामीले हेर्ने हो भने दुई पन्नाको मात्र पनि संविधान छ। कँही संविधान नै छैन। मलाई लाग्छ संसारमा तीन वटा देशमा संविधान नै छैन।
कतिपय मुलुकहरूमा ठूला-ठूला संविधान छन्। भारतको ६ या सात सय पेजको संविधान छ। संविधान हुँदैमा या नहुँदैमा भन्ने कुरा होइन। त्यो कार्यान्वयन गर्ने व्यक्तिहरूमा भर पर्छ।
संविधानमा राम्रो कुरा लेखेको रहेछ तर राम्रो काम गर्नुपर्ने रहेछ भने केले रोक्छ र ? हाम्रो संविधान ६०१ जनाले धेरै मेहनत, प्रयास गरेर यस्तो गरिब देशले कति खर्च गरेर ल्याएको यो हो यो संविधान।
अमेरिकाको संविधान हेर्दा दुई सय वर्ष पुरानो संविधान छ। त्यहाँ के सबै कुरा पुरा छ र ? चलाई रहेका छन् नि उनीहरूले।
संविधान एउटा राष्ट्रको मूल दस्ताबेज हो। जसलाई राष्ट्रले सम्मान गरेको हुन्छ। तर मूल त कार्यान्वयन गर्ने व्यक्तिहरूको हातमा हो। कार्यान्वयन कसरी हुन्छ ? यो विषयमा हरेकले आफ्नो अनुभवहरू सुनाउँदा एउटा भयावहको अनुभव हुन्छ।
नेपालको सन्दर्भमा यो आठ वर्ष भित्रमा आजको दिनमा राम्रोसँग काम गरिदिएको भएदेखि हामीले २०७२ को संविधान अनुसार कति काम भयो ? कति विकास हुन सक्यो, जनताको हैसियत कति बढ्यो ? भनेर आज त्यो मूल्याङ्कन हामीले गर्नुपर्ने थियो।। तर त्यो कुरा सम्भव भएन।
खास कुरा जो–जो कर्ता भएर बस्नु भएको छ कार्यपालिकामा। यो सबै भर पर्ने नैतिकतामा, अखण्डता, काममा र उहाँहरूको देशप्रतिको दायित्व मुलुकप्रति म यति गर्छु। हरेक कुराको अभाव भएको देशमा चलायमान हुने, संसद्हरूले त्यत्तिकै आफ्नो काम गर्ने, मन्त्रीहरू दिनरात काम गर्ने लागिरहने, सारा सम्पूर्ण व्यक्तिहरू चलायमान भएर देशमा काम गरिरहे पो हुन्छ। जब मानसिकता बिगार्नेमा नै छ। ध्वस्त पार्ने नै छ। अब मलाई लागेको त त्यही ध्वस्त गराउने, त्यही समाप्ति गराउने र त्यसै भित्रमा आफू खेली रहने।
अब हुँदा हुँदा कुनै दिन यस्तो पनि आउला अहिलेको प्रधानमन्त्री को हो भनेर सोध्यो भने मलाई पनि आउँदैन। शेरबहादुरजी हो कि, प्रचण्डजी हो कि, ओलीजी हो कि को हो ? मन्त्रीहरूमा त्यस्तै। अहिले पाँच करोड दिन्छु मन्त्रीहरूको नाम फरर भन भन्यो भने मलाई नै आउँदैन।
यो कस्तो अवस्था हो। आम जनताहरू दुःखी छन्। पीडित छन्। मेरो लगायत सबैका छोराहरू यहाँ काम गर्न नसकेर विदेशमा छन्। सबैको त्यस्तै छ। घरघरमा आमाबाबु मात्र छन्। सबैको त्यो परिस्थिति छ।
त्यसप्रति चिन्तन नै छैन, सोच नै छैन। संविधानलाई गाली दिएर मात्र त सम्भव हुँदैन। संविधान भएन, संविधान भएन भनेर त हुने कुरा होइन। त्यसैले हाम्रोमा सबैभन्दा अभाव भनेको नैतिकताको हो, अखण्डताको हो, दायित्वबोधको हो। तर आज यहाँ लाज पनि छैन।
महात्मा गान्धीले लडाइँ गर्नुभयो। त्यो भारतमा महात्मा गान्धी बन्नलाई हो। नेहरुले भारतको शासन कायम गर्यो त नेहरु बन्नलाई हो। क्यानेडिले गोली खाएर गयो त क्यानेडी अमेरिकामा नाम छन्। यी त नामै चलाउन नसक्ने भए। इतिहासमा बदनाम मात्र आफ्नो बारेमा लेख्नु हुन्छ भने हामीले के भन्ने ? यत्ति नै भन्छु।
(संविधान दिवसका अवसरमा पेभिलियन हल दरबारमार्गमा आयोजित कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राख्नुभएको धारणाको सारसंक्षेप)
प्रतिक्रिया