आर्थिक

भारतले थप निर्यात अनुमति नदिँदा दसैँमा दैनिक ५ सय मेगावाट विद्युत् खेर 

By खबरहब

October 25, 2023

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले दसैँको समयमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा दैनिक ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

उनले बचत भएको थप करिब ३ सय मेगावाट विद्युत निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाए पनि स्वीकृति नपाएको बताए । उनले स्वीकृति नपाए अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था रहेको बताए । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको हो । 

बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुनेहुँदा यो समयमा प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरूबाट बिनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।

प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०–८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ  । जेठ र असारमा भारतर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले यस वर्षको दसैँमा बिनाअवरोध विद्युत् आपूर्ति गरेको छ । यसवर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्टफुट्ट बाहेक दसैँमा विगत वर्षमा झै बिनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले दसैँमा विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरूलाई तयारी अवस्थामा राखेको थियो ।