चर्चामा सुमित्राको ‘घन्किसक्यो मादलु’ | Khabarhub Khabarhub

चर्चामा सुमित्राको ‘घन्किसक्यो मादलु’

स्कुटरमा गुड्दागुड्दै लय आउँछ


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समयमा सार्वजनिक भएको गायिका सुमित्रा कोइरालाको तीज गीत ‘घन्किसक्यो मादलु’ चर्चामा छ। गायिका कोइरालाका यसभन्दा अगाडि ‘चट्ट माया फरर’, ‘झुम्के बुलाकी’, ‘तारा झलमल’लगायतका धेरै गीत सार्वजनिक भइसकेका छन्। कोइरालाको व्यक्तित्व अध्यापनमासमेत सक्रिय छ। नेपाली गीत संगीत र समसामयिक विषयमा गायिका सुमित्रा कोइरालासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

‘घन्किसक्यो मादलु’ गीत कसरी सिर्जना भयो ?
सामान्य कुराकानीकै आधारमा तयार भएको हो। दिदी बहिनीलाई ‘मादलु घन्किसक्यो’ देउ मलाई फरिया, माइत जान हतार भयो’ भनेजस्तै गरेर यो गीत तयार भएको हो।

अध्यापन, पढाइ र गीत संगीतलाई कसरी संयोजन गरेर अगाडि बढ्नुभएको छ ?
सङ्गीत पढाउँदै गर्दा पनि आउँछ। नेपाली र सामाजिक विषय पढाउँछु। नेपाली विषय भनेको नै साहित्यसँग सम्बन्धित हो। त्यसैबाट शब्द सिर्जना गर्न सिकेको छु।

अहिलेसम्म अरूको सिर्जना गाउनु भएको छ कि छैन ?
धेरै गाएकी छु। एउटा मैले ‘केटो फिलिली’, ‘सर सर हावा’ रमेश परियारको गीत हो। अहिले तीजमा पनि अरूका गीतहरू गाएको छु। अरूको सिर्जना मैले गाएको छु। मेरो सिर्जना अरूले पनि गाउनुभएको छ।

बजारमा चल्न चाहिँ कस्तो गीत चल्छ ?
अहिले टिकटकको माध्यमबाट पनि गीत चल्छ। तर सधैँ फरक शैलीको गीत नै खोजिन्छ। कस्तो गीत चल्छ भन्ने थाहा नै हुँदैन।

तपाईं किन लोक गीत मन पराउनुहुन्छ ?
अरु गीत पनि ल्याउने तरखरमा छु। लोकगीत मन नपर्ने कसैलाई हुँदैन होला। पहाडमा सुस्केरा हाल्दै गाएर हुर्केको कारणले पनि मेरो लगाव लोकभाकामा भयो। सुन्दा पनि लोकगीत नै सुनेर हुर्किएँ।

अहिलेसम्म धेरै गीत ल्याउनु भएको छ। आफूले सङ्गीत सिर्जना गर्दैगर्दा आफूलाई कहाँ पाउनु हुन्छ ?
मैले यो स्थानमा छु भन्दा पनि म संघर्ष गर्दै छु भनेर बुझ्नुपर्छ। भर्खरै फूलहरू फक्रिँदै छन्। त्यसमा कहिले फल लाग्ने, त्यसमा कति उपमा दिने भनेको त दर्शकले दिने हो। म सिक्दै छु यही ठाउँमा यति नै नम्बर भन्ने हुँदैन।

अहिले गीत सङ्गीतले खर्च बढाइरहेको छ। पहिला गीत गाउँदा मात्र हुन्थ्यो अहिले देखाउनु पनि पर्छ ?
अहिले गाउँदा भन्दा देखाउँदा धेरै खर्च छ। गीतसङ्गीत हामीलाई एक खालको नशा जस्तो भएको छ। चाडपर्व आउँदा हामी बढी गीत गाउँछौँ। हामीले गाएका गीतलाई आर्थिक हिसाबले भन्दा पनि सपोर्टलाई लिनुपर्छ।

तपाईंले कमाउनको लागि गीत गाउनु भएको छैन ?
गाएर थोरै धेरै कमाएको होला। तर आफ्नो कला देखाउनु र रमाउनु मात्र होइन अरुलाई सुनाउनु पनि हो संगीत। कमाउनको लागि गीत गाउने होइन जस्तो लाग्छ। गीत गाएर आफ्नो क्षमता बाहिर ल्याउन भने सकिन्छ।

तपाईंको विचारमा पछिल्लो समय लोकदोहोरीमा शब्द संयोजन कस्तो छ ?
समग्रमा गीत शीर्षक अनुसार हुन्छ। सर्जकमा थेगो कस्तो राख्ने भन्ने हुन्छ। लाइभ दोहोरीमा भन्दा यता अलि शब्दमा ख्याल गरिन्छ भन्ने लाग्छ। लाइभ दोहोरी हामीले रमाइलोको लागि पस्किएका हुन्छौँ। यो आफ्नो सिर्जना जीवन्त राख्न पनि पस्किरहेका हुन्छौँ।

तपाईंलाई सङ्गीत सिर्जना गर्दा गाली आएको छ कि के प्रतिक्रिया पाउनु भएको छ ?
म यही शब्द लेख्छु भनेर कहिल्यै पनि लेख्दिन। तर बुझ्नेले कसरी बुझ्नु हुन्छ भन्ने हो। मलाई धेरै गाली आएको छैन। जे गाएको छु राम्रो भन्नु भएको छ। आफूले गीत बनाउँदा म यस्तो बनाउँछु भन्ने हुँदैन। तर मैले लेखेका शब्दमा शृङ्गारिक शब्द धेरै हुन्छन्।

‘कोही चाख्दैनन् बाटैको भोगटे’ गीतमा तपाईंले एउटा फललाई संकेत गर्नुभएको थियो। तर मान्छेले अर्कै तरिकाले बुझे। त्यो समयमा चाहिँ कस्तो लाग्यो ?
मैले आफ्नो तर्फबाट सिर्जना प्रस्तुत गरेँ। त्यसलाई कसरी बुझ्नुभयो भन्ने हो। त्यसलाई सोझो अर्थमा पनि बुझ्न सकिन्छ। साँच्चै मेरो घरछेउमा भोगटेको नै फल छ। मान्छेले अरु फल जस्तो टिपेर खाँदैनन्। त्यसलाई फरक अर्थ लगाउनु आवश्यक छैन।

त्यो गीतले गर्दा तपाईंलाई हेर्ने नजर र प्रतिक्रिया दिने कस्तो पाउनुभयो ?
स्कुलमा त्यो केही समस्या छैन। तर बाहिर कसैले त्यस्तो नगरेको भए हुन्थ्यो भनेर सल्लाह पनि दिनुहुन्छ। कसैले हैन गीतमा अलिकति बिम्ब पनि मिसाउन सकिन्छ भन्नुहुन्छ। मैले त्यही बिम्ब मिसाएको हो। त्यसमा महिलाको अङ्गलाई मैले लक्षित गर्न खोजेको होइन। अर्थ चाहिँ गलत ढंगले लगाइयो। मैले कहिल्यै पनि कुनै पनि विषयलाई लक्षित गरेर गीत गाएकै छैन। पछि ‘मौरीले टोक्यो मलाई हिर्काइदेऊ लौरीले’ गीतलाई पनि मान्छेले दुई अर्थले बुझ्नुभयो। तर यी गीत दुई अर्थी होइनन्।

तपाईंले अहिलेको तीजमा पनि धेरै गीत निकाल्नु भएको छ। गीतमा भाका कसरी सिर्जना हुन्छ ?
सुरुमा भाका हुन्छ। त्यसअनुसार शब्द बनाउँछु। लय बनाउँदा हार्मोनियममा बसेर प्राक्टिस गरेर लय निकालिन्छ। मेरो कहिले काहीँ बाटोमा स्कुटरमा हिँड्दा पनि लय आउँछ। गुनगुनाउन मन लाग्छ। विद्यार्थीलाई पनि कविताहरूमा लयबद्ध रूपमा पढाउछु। पढाउँदै गर्दा लय बन्दैन। तर विषय बन्नसक्छ। मेरो स्कुलका कुरा, विद्यार्थीका कुराहरू प्रशासनको कुराहरूको विषय चाहिँ बन्नसक्छ। तर लय बसेर समय लगाएर बनाउनुपर्छ।

एउटा गीतमा प्रारम्भदेखि समाप्त सम्मको शब्द कसरी पुर्याउनु हुन्छ ?
लयपछि एउटा थेगो बन्छ र त्यो थेगोलाई मिल्ने खालको शब्द बनाइन्छ र शब्द बनाउँदा भिडियोमा कुनै एउटा विषलाई लिइन्छ। जस्तो मेरो घन्किसक्यो मादलुमा भर्खर विवाह गर्ने उमेर भएका नानीलाई अब मादल घन्किसक्यो, अब फरिया लेउ त्यो लगाएर तीजमा नाच्न चाहन्छु। त्यसैले एउटा एउटा कथा राखेर बनाइन्छ।

कुन समयमा लेख्नु हुन्छ ?
म तुरुन्त शब्द लेख्ने र रेकर्ड गर्न गइहाल्छु। धेरै समय नै लाग्दैन। लेखनका लागि समय हुँदैन।

यो वर्ष तपाईंको गीतहरू के आउदै छन् ?
अरूको गीत मैले धेरै गाएको छु। ४/५ जना भएर हामीले एउटा घरायसी गीत पनि गाएका छौँ। त्यो पनि आउँदै छ। अन्य गीत पनि तयारीमा छन्।

गीत सार्वजनिक गर्ने खर्चको व्यवस्थापन कसरी हुन्छ ?
मैले आफैले घर परिवारबाट नै मिलाएर खर्च गर्छु। सबै व्यवस्थापन गर्दा अलिअलि खर्च त लाग्छ।

खर्च अनुसार लगानी उठाउनु भएको छ ?
खर्च उठेर आम्दानी दिन्छ। युट्युब च्यानल आफ्नो भएपछि अहिले हाम्रो अडियो प्लेटफर्म पनि छ। अडियोमा हामीले पहिला नै गीत दर्ता गर्छौँ। त्यसपछि कुनै टेलिभिजनमा बजाइयो भने पनि हाम्रो अडियोमा जान्छ। रेडियोमा पनि दिन्छौँ। समाजिक सञ्जाल टिकटक जहाँ जहाँ गीतहरू बज्छ त्यहाँबाट थोरै थोरै आउँछ। युट्युबबाट पनि अलिअलि आउँछ। लाइभ कार्यक्रममा स्टेजमा गयौँ भने त्यहाँबाट पनि हुन्छ। एउटा कलाकार भएको कारणले मलाई विद्यालय प्रशासनले पनि सहयोग गरेको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ५२ बजे

कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने

भैरहवा– सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ

रोशीले विपद्प्रभावितलाई विशेष योजना ल्याउँदै

काभ्रेपलाञ्चोक– रोशी गाउँपालिकाले विपद् प्रभावितको राहत, पुनःस्थापना एवं पुनर्बासका लागि

ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु

काठमाडौं– ब्राजिलको सर्वोच्च अदालतबाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान- घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको

मकवानपुरमा बाढीपहिरोबाट एक अर्ब ६९ लाख बढीको क्षति

बागमती– हालैको बाढीपहिरोले मकवानपुरमा एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक