गभर्नर अधिकारी र सिबिफिनका प्रतिनिधिबीच भेटवार्ता | Khabarhub Khabarhub

गभर्नर अधिकारी र सिबिफिनका प्रतिनिधिबीच भेटवार्ता


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सोमबार राष्ट्र बैंकका गभर्नर अधिकारीसँग भेटवार्ता गरी छलफल गरेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलापहरु अपेक्षित रुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायबारे छलफल केन्द्रित रहेको सिबिफिनले जनाएको छ ।

उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष गोल्यानले नेपाल राष्ट्र बैंकबाट हालै जारी चालु आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको देखिएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिएको भन्दै अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरको ध्यानाकर्षण गराएका थिए ।

विषमपूर्ण वर्तमान अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशीलता प्राप्त गर्ने विषयमा जोड दिँदै अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गरेका थिए ।

त्यसैगरी, अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नर अधिकारीसमक्ष हस्तान्तरण गरे ।

विगतमा छिमेकी राष्ट्रहरुको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावहरुको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे ।

त्यस अवसरमा गभर्नर अधिकारीले बाह्य परिसूचकहरुमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने बताए । राष्ट्र बैंकप्रति सबै क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको औल्याए ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले उल्लेख गरे । सिबिफिनले संस्थागतरुपमा समसामयिक विषयहरुमा आवश्यकता अनुसार छलफल तथा बहस चलाउँदै, अध्ययन एव। विश्लेषणका आधारमा महत्वपूर्ण सुझाव राख्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै गभर्नर अधिकारीले उल्लेखित सुझावहरुको विषयमा नेपाल राष्ट्र बैंकले समयानुकुल निर्णय लिने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकस्थित गभर्नर अधिकारीको कार्यकक्षमा सम्पन्न छलफलमा नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनका तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्रप्रसाद पौडेल, लिलाप्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : २३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही