विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज आश्विन ९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २६ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अजरबैजानको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु
अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना भएका र त्यसमध्ये केहीको अवस्था भने गम्भीर रहेका अजरबैजानका अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्फोटको कारण भने खुलिसकेको छैन । अर्मेनियाली सरकारले १३ हजार ३५० शरणार्थीहरू एन्क्लेभबाट देश पार गरेको बताएपछि घटना भएको हो । विवादित नागोर्नो–काराबाख क्षेत्रमा करिब १ लाख २० हजार जातीय आर्मेनियालीहरूको बहुमत रहेको छ ।

मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीहरूले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताए ।

गत हप्ता अजरबैजानले नागोर्नो–काराबाख कब्जा गरेपछि येरेभानमा अर्मेनियाली सरकारले लडाइँबाट घरबारविहीन भएकाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेपछि हजारौं मानिसहरूले क्षेत्र छोडेका छन् ।

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’
अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य भएको बताएका छन् ।

हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको हिजोदेखि देशको राष्ट्रिय राजधानीमा सुरु भएको सम्मेलनमा भारतीय सेना प्रमुख मनोज पाण्डेका साथ भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सेना प्रमुखले अमेरिका र भारतीय सेनाबीचको साझेदारीले हिन्द–प्रशान्त क्षेत्रमा स्थायित्व कायम गर्न सहज हुने बताए ।

हिन्द–प्रशान्त क्षेत्रका सेनाहरूबीचको संवाद र छलफलले आपसी विश्वास र मैत्रीलाई सुदृढ बनाउने तथा चुनौतीपूर्ण वर्तमान वातावरणमा सहकार्य र साझेदारी गर्दा यस क्षेत्रका सबैलाई फाइदा हुने बताए ।

अतिवाद, सङ्गठित अपराध नियन्त्रण गर्ने साझा रणनीतिसमेत तयार गर्नुपर्ने परिस्थिति उत्पन्न भएको बताउँदै उनले सेनाहरूबीचको सम्बन्ध बलियो बनाउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।

भारतीय सेनाप्रमुख पाण्डेका अनुसार हिन्द–प्रशान्त क्षेत्रका १९ देशका सेना प्रमुख सहभागी रहेको सम्मेलनको मुख्य उद्देश्य आपसी समझदारी, संवाद र मैत्रीका माध्यमबाट यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्नु हो ।

युक्रेनमा अमेरिकी अब्रामट्यांक ‘जल्ने’ छ : क्रेमलिन

क्रेमलिनले मंगलबार युक्रेनलाई आपूर्ति गरिएको अमेरिकी अब्राम्सट्यांकले आक्रमणको परिणाममा परिवर्तन नगर्ने तर रूसी आक्रमणका कारण ध्वस्त हुने दावी गरेको छ ।

कीएभले सोमबार अमेरिकी ‘अब्राम्स ब्याटल ट्यांक’को प्राप्त गरेको जानकारी गराएको छ । यसले भारी किल्लादार रूसी रक्षात्मक लाइनहरू तोड्न आफ्नो सेनालाई प्रोत्साहन गर्ने युक्रेनी विश्वास रहेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यी सबै कुराले कुनै पनि हालतमा विशेष सैन्य अभियानको मर्म र यसको परिणामलाई प्रभावित गर्न सक्दैन ।’

उनले भने, ‘युद्धको मैदानमा शक्ति सन्तुलन परिवर्तन गर्न सक्ने कुनै पनि हतियार छैन ।”क्रेमलिनले पश्चिमा हतियारका बारेमा प्रयोग गरेको कुरा दोहोर्‍याउँदै उनले भने, ‘ती पनि जल्नेछन् ।’

युक्रेनले रूसको नियन्त्रणमा रहेको भू–भागभित्र आक्रमण गर्न र रूसी नियन्त्रित क्षेत्रभित्र आक्रमण गर्न मद्दत गर्न लामो दूरीका क्षेप्यास्त्रसहित थप पश्चिमा हतियारको माग गर्दै आएको छ ।

वासिङ्टनले यस वर्षको सुरुमा कीएभलाई ३१ वटा अब्राम्सट्यांक उपलब्ध गराउने वाचा गरेको थियो, जुन द्वन्द्व सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्रतिबद्धता गरेको ४३ अर्ब डलरभन्दा बढीको सुरक्षा सहायताको एक हिस्सा हो ।

रूसले युक्रेनमा लगातार पठाइएको क्षेप्यास्त्रको निन्दा गर्दै यसले द्वन्द्व लम्ब्याएको तर्क गर्दै आएको छ ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सारिने
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।

तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् ।

७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।

इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ । इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा रहेका थिए ।

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेता वार्ता गर्न सहमत

चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुने भएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो

सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो ।

टोकियो, वासिङ्टन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकहरूले बताएका छन् । पचिल्लो समय अमेरिकासँगको बिग्रदो सम्बन्धलाई लिएर चीन चिन्तित छ ।

“चीन, जापान र दक्षिण कोरियाबीचको सहकार्यलाई तीन पक्षको साझा हितमा निरन्तरता दिनृ सहमति भएको छ,” विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा मङ्गलबार भने ।

प्रवक्ता वाङका अनुसार तीनवटै देशले आ–आफ्ना विदेश मन्त्रीहको बैठक अर्को केही महिना आयोजना गरेर त्यसपछि उपयुक्त समयमा जति सक्दो चाँडो शीर्ष नेताहरूको बैठक गर्न बेइजिङ, सोल र टोकियो सहमत भएका छन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि तीनवटै देशका कूटनीतिज्ञहरू शीघ्र त्रिपक्षीय शिखर बैठक आयोजना गर्न तथा त्यसको तयारीमा विदेश मन्त्रीस्तरीय बैठकको आयोजना गर्न सहमत भएका बताएको छ । पछिल्लो पटक त्रिदेशीय शिखर सम्मेलन सन् २०१९ मा भएको थियो ।

चीनसँग डब्लूएचओ प्रमुखले फेरि मागे कोरोना भाइरसको उत्पत्तिबारे जानकारी
विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी प्रदान गर्न पुनः आग्रह गरेका छन् ।

उनले आर्थिक अखबार फाइनान्सियल टाइम्ससँगको कुराकानीका क्रममा आफूले चिनियाँ अधिकारीहरुसँगको द्विपक्षीय छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गरेको बताएका हुन् ।

विश्वका औषधि उत्पादक कम्पनीहरुले कोरोना भाइरसका नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता वृद्धि गर्ने प्रयास गरिरहेका बेला डब्लूएचओ प्रमुखको यस्तो भनाइ आएको हो ।

डब्लूएचओले यसअघि नै चीनसमक्ष लिखित रुपमै कोरोना भाइरसको उत्पत्तिबारे ‘आफूहरुलाई सूचना दिन’ आग्रह गरेको उनको भनाइ छ । उनले चीन सहमत भएको खण्डमा कोरोना भाइरसबारे थप अध्ययन गर्न डब्लूएचओले एउटा टोली त्यसतर्फ पठाउन पनि तयार रहेको जनाए ।

उनले यसअघि पनि पटक पटक चीनसमक्ष कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन आग्रह गर्दै आएका छन् । कोरोना भाइरस सर्वप्रथम सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहान सहरमा देखा परेको थियो ।

यसको महामारीका कारण विश्वभर दशौँ लाख मानिसहरुको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ०० बजे

अर्थतन्त्र नै हल्लाइदिने १२ खर्बको दशैँ !

काठमाडौं – निम्न मध्यम वर्गीय परिवारको बाहुल्यता रहेको समाजमा चाडपर्वले

बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

काभ्रे– यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका

आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध

काठमाडौं– भारतका लागि इजरायली राजदूतावासका प्रवक्ता गाय निरले आतंकवाद निर्मूल

बाढीपहिरो पीडित लाभग्राहीको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर– गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन