तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि लम्बियो | Khabarhub Khabarhub

तेमाल बृहत् खानेपानी आयोजनाको समयावधि लम्बियो


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काभ्रे– गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्‍याउन  आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो ।

विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको जनाउँदै यस वर्ष आयोजनाको समयावधि लम्ब्याइएको छ ।

तेमाल बृहत् खानेपानी आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणको काममा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ ।

भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिहरूले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । उनका अनुसार तेमाल गाउँपालिकाको वडा नम्बर २ र ३ मा धारा जडान तथा करिब ५० स्थानमा पानी ‘कन्ट्रोल’का सामग्री जडान बाँकी छ ।

आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पुऱ्याउँदा उक्त आयोजना करिब एक वर्ष धकेलिएको थियो ।

हाल पाइप लाइन विस्तार तथा धारा जडानका काम अन्तिम चरणमा सुस्तगतिमा भइरहेको समितिले जनाएको छ । समितिले गत कात्तिक मसान्तसम्ममा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो । अध्यक्ष लामाले आयोजनाको करिब ९९ प्रतिशत काम सकिएको बताए ।

मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पुर्‍याइसकिएको उनको भनाइ छ ।

उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप बिछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ । साथै प्रशोधन केन्द्रबाट वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालिमाटीका करिब नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय १० घरपरिवार समेटेको छ ।

तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर बिछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको छ । आयोजनाका लागि पाँच करोड बराबरको जनश्रमदान भएको अध्यक्ष लामाले बताए ।

याङ्बेलडाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माण गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा १० करोड ३४ लाख ४१ हजार उपलब्ध भए पनि थप निर्माण भएको छ । उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई खानेपानी उपलब्ध हुनेछ ।

लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीमा कटान गरेको थियो ।

त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पुर्‍याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कीको जोखिमलाई सुरक्षित गरिएको छ । उनका अनुसार बाढीले त्यतिबेला आयोजनाको ६० लाखभन्दा बढी क्षति पुर्‍याएको थियो भने करोडौँका संरचनालाई जोखिम पुर्‍याएको थियो ।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालिकाको नौवटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोसी गाउँपालिकाको ७ नं वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् । 

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । खानेपानी विभागमार्फत एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : २७ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका