बागलुङमा अझै चुनौती बन्दै बालविवाह « Khabarhub

बागलुङमा अझै चुनौती बन्दै बालविवाह


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चुनौती पार लाउन सकेको छैन । 

गलकोटले अधिकांश सूचक पूरा भइसक्दा पनि बालविवाह भने रोक्न नसकिएको जनाएको हो । केही स्थानमा बालविवाह भइरहेकाले घोषणामा समस्या भएको पालिकाले जनाएको छ । बालमैत्री नगर बनाउन ५१ सूचक पूरा गर्नुपर्छ । गलकोटमा झण्डै ५० सूचक पूरा भइसकेका छन् । छिटफुटरुपमा बालविवाह भएकाले घोषणामा समस्या आएको नगर शिक्षा अधिकारी रुद्र नारायण सापकोटाले बताउनुभयो । तीन वर्षअघिदेखि सुरु भएको यो अभियानमा बालविवाह  बाधक बनेको हो । 

‘छिटफुट बालविवाह देखिएको छ, त्यो समस्या पनि समाधान गरेर छिटै बालमैत्री नगर घोषणा गर्छौं’, नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘बीस वर्षको उमेर हदले केही समस्या बनाएको छ ।’ पारिवारिकरुपमा सहमत भएका वा केही भागी विवाहमा २० वर्ष उमेर नपुग्दै भएको देखिँदा यो अभियानमा असर परेको उनले बताए। 

बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासनले तोकेका ५१ मध्ये १२ शिक्षा र १३ वटा सूचक स्वास्थ्य क्षेत्रबाट पूरा गर्नुपर्ने व्यवस्था छ । समुदाय तहले पूरा गर्नुपर्ने सूचकमध्ये  बालविवाह अन्त्य गर्नुपर्ने भन्ने उल्लेख छ । विभिन्न समुदायको समस्याले नगरको अभियानमा असर परेको बताइएको छ ।

तथ्याङ्कगतरुपमा उल्लेख्य रेकर्ड भने नभेटिएको सापकोटाको भनाइ छ । ‘बालविवाह उल्लेख्य भने छैन, छिटफुट बालविवाह भेटिएका छन्’, सापकोटाले भने, ‘ती पनि १८ देखि १९ वर्षमा भएको देखियो ।’ जति गर्दा पनि १९ देखि २० वर्षसम्मको उमेरलाई विवाह रोक्न कठिन हुने उनले बताए। शिक्षा शाखाले विद्यालय तहमा पनि अनुगमन गरिरहेको छ । विद्यालयमा त्यस्तो समस्या नभएको, पढाइ छुटेका तथा एसइईपछि विवाह भएका देखिएको उनले बताए।

जनप्रतिनिधिले पनि यो विषय अनुगमन गरिरहेको बताएका छन् । ‘हामीले सबै सूचक पार गर्न सक्छौँ, विवाहको उमेरमा जबर्जस्ती गर्न नसकिने रहेछ’, गलकोट वडा नं ३ का अध्यक्ष फमबहादुर खत्रीले भने, ‘कतिपय विवाह फिर्ता भएका छन्, तर पनि रोक्न कठिन रहेछ ।’ उमेर नपुगेको विवाह रोक्न खोजेपछि कतिपय सानैमा गर्भवती भइसकेकोसमेत भेटिएको उनले बताए। 

गलकोट वडा नं ७ का अध्यक्ष राजबहादुर थापाले पनि दलित समुदायमा बढी समस्या देखिएको बताए। ‘घरघरमा अभियान चलाउँदा पनि पूर्ण रोक लगाउन कठिन भएको छ’, उनले भने, ‘सूचकहरु ५० वटा राख्ने हो भने सबै पूरा भएका छन् ।’ वडा तहमा घोषणा गरेर नगरस्तरीय घोषणाको तयारी भइरहेको हो । केही वडामा भने बालविवाह नभएको भेटिएको हो । ती वडामा सहजै घोषणा गर्न सकिने अवस्था भइसकेको गैरेले जानकारी दिए। 

‘वडावडाबाट घोषणा गर्दै नगरको घोषणामा आइपुग्छौँ’, गलकोटका नगर प्रमुख गैरेले भने, ‘यो हाम्रो नगरको गौरवको योजना पनि हो ।’ बालमैत्री घोषणा गर्दा नगरपालिकालाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक बन्ने उनले बताए। वडा तहमा अनुशिक्षणका दर्जनौँ कार्यक्रम भइरहेका छन् ।

बागलुङ नगरपालिका जिल्लाकै सुगम र सबैभन्दा धेरै शिक्षित नागरिक भएको नगरपालिका हो । बागलुङका १४ वटै वडामा बालविवाह रोकियो भनेर घोषणा गर्नसक्ने अवस्था छैन् । परिवारको मिलेमतोमै बालविवाह हुने गरेको बताइन्छ । परिवारको मिलेमतो नभएका उमेर नपुगी हुने प्रेम विवाह मात्रै बाहिर आउने गरेको स्थानीय भरत पौडेलले बताए ।

जिल्लाको तमानखोला गाउँपालिकाले बालविवाह रोक्नका लागि पाँच वर्ष पहिलेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेको छ । यहाँ कैयौँ बालविवाह न्यायिक समितिले बदर गरेको छ । तमानखोलामा बालविवाह गर्नेलाई मात्रै होइन त्यस्तो विवाहको ञभोज खानेलाई समेत कारवाहीको चेतावनी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ४ : ४५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ