आज दिनभर मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध, थप ६९ जनामा संक्रमण पुष्टि, जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपिठ, ३० वर्षपछि प्रधानमन्त्री प्रचण्डद्वारा चिडियाखाना अवलोकन, प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक,कोरोना संक्रमितको संख्या बढ्दोलगायत समाचारले प्रमुख स्थान पाए ।
यी हुन् आज दिनभरका मुख्य समाचारहरू :
मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध
महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । २ चैतबाट बर्दिबासबाट हिँडेका उनीहरू सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।
काठमाडौँ आइपुगेका उनीहरू खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ ।
उनीहरू आउनु अघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरूलाई रोकेको हो ।
‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
३० वर्षपछि प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा चिडियाखाना अवलोकन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् ।
आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखानामा करिब एक घण्टा बिताएका थिए प्रधानमन्त्रीले जीव जनावरसँगै बाघ र हात्तीलाई बढी चासोका साथ हेरेको चिडियाखानाको व्यवस्थापन प्रमुख रचना शाहले जानकारी दिइन् ।
तीस वर्षअगाडि चिडियाखाना अवलोकन गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई व्यवस्थापन गर्ने जिम्मा प्राप्त भएपछि थप आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रियासमेत दिए ।
अवलोकनका क्रममा उनले हात्तीलाई खानासमेत खुवाएका थिए । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।
ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागि सात सय ५० रुपैयाँ, सार्क देशका लागि पाँच सय रुपैयाँ, नेपालीलाई एक सय ५० रुपैयाँ र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपिठ
जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने गरी सरकारले गरेको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।
सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने भन्दै दरपिठ गरेका हुन् ।
रामेछापका कल्याण बुढाथोकी लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाएर उक्त रिट दायर गरेका थिए ।
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता प्रत्येक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियति जस्तै थियो ।
छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए । सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन । तर, यस पटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने उनीहरूको दाबी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नियमित चासोपछि यस पटक विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने सम्भावना बढेर गएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री दाहालले नियमित चासो देखाएपछि छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले छपाइ र ढुवानी तीव्र बनाएको छ ।
केन्द्रका अनुसार आजसम्म कूल एक करोड ३५ लाख थान पाठ्यपुस्तक छपाई सम्पन्न गरेको छ । अब कूल १५ लाख थान पुस्तक छाप्न बाँकी छ । सात दिनभित्रै सबै पुस्तक छपाई सक्ने केन्द्रको दाबी छ ।
गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री दाहालले विशेष चासोका साथ पाठ्यपुस्तक छपाई र वितरणमा लाग्न केन्द्रलाई शिक्षा मन्त्रालयमार्फत निर्देशन दिएका थिए ।
विवरणअनुसार कक्षा छ का लागि कूल २८ लाख ५० हजार पुस्तक आवश्यकमध्ये हालसम्म २८ लाख थान छपाई भइसकेको छ । कक्षा सातका लागि पनि समान २८ लाख ५० हजार थान पाठ्यपुस्तक आवश्यकमध्ये २८ लाख पाठ्यपुस्तक छपाई भइसकेको केन्द्रका प्रबन्ध निर्देशक अनिल झाले जानकारी दिए।
यस्तै कक्षा आठका लागि २९ लाख थान पाठ्यपुस्तक चाहिनेमा आजसम्म २२ लाख थान पुस्तक छपाई भइसकेको छ । थप सात लाख थान पुस्तक छाप्न बाँकी छ । कक्षा ९ का लागि ३२ लाख थान पाठ्यपुस्तक चाहिनेमा हालसम्म २९ लाख पुस्तक छपाई भइसकेको छ । बाँकी रहेको तीन लाख थान पुस्तक चैतभित्रै छपाई र वितरण गरिसक्ने केन्द्रको तयारी छ । साथै कक्षा १० का लागि ३२ लाख थान पुस्तक चाहिनेमा हालसम्म कूल २८ लाख थान छपाई भइसकेको र अब चार लाख थान छपाई हुन बाँकी रहेको केन्द्रको दाबी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छपाई र वितरणको सूचना हरेक दिन उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि पाठ्यपुस्तक छपाई र वितरणमा कुनै पनि समस्या आउन नदिन केन्द्रलाई बारम्बार निर्देशन दिएका छन् ।
‘नियमितरूपमा अनुगमन पनि भइरहेको छ । छपाइको गुणस्तरमा समेत ध्यान दिइएको छ’, झाले भने, ‘सम्बद्ध निकायबाट प्राप्त निर्देशनलाई अक्षरशः कार्यान्वयन गरिएको छ ।’
चैतभित्रै सबै विद्यालयमा पुस्तक पुर्याउने योजनाका साथ केन्द्रले काम गरिरहेको उनको भनाइ छ । यसका लागि लागि देशभर आठ वटा वितरण केन्द्रमा यही चैत २० गतेभित्रै पुस्तक पुर्याइने छ । हालसम्म ती वितरण केन्द्रमा एक करोड थानभन्दा बढी पाठ्यपुस्तक पुगिसकेको छ ।
शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पुस्तक नपाउँदा विगतका वर्षमा सरकारको आलोचना हुने गरेको थियो । यस पटक भने समयमै पुस्तक पुर्याउन हर सम्भव प्रयास गरिएको प्रबन्ध निर्देशक झाको भनाइ छ ।
केन्द्रले कक्षा एकदेखि पाँचसम्मको पाठ्यपुस्तक भने निजी क्षेत्रलाई जिम्मा दिएको छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुवेदीले सबैको चासो, नियमित अनुगमनलगायतका कारणले गर्दा यस पटक विद्यार्थीले समयमा नै पाठ्यपुस्तक पाउने सुनिश्चितता भएको जानकारी दिए ।
उनले निजी क्षेत्रका छापाखानाले पनि समयमै छपाई सम्पन्न गरी वितरण गर्ने विश्वास मन्त्रालयले लिएको बताए । निजी छापाखानाको अनुगमन र विवरण भने पाठ्यक्रम विकास केन्द्रले दैनिकरूपमा लिइरहेको छ ।
नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक हो : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् ।
सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यसका लागि योगदान पु¥याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरे । उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकका रूपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे ।
संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा आँखा उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
त्यस अवसरमा सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तिमा नेत्रज्योति संघलाई सफलता मिलोस भनि कामना समेत गरे । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पु¥याउनेहरूलाई सम्मान पनि गरिएको थियो ।
काठमाडौँमा सुकुम्बासीद्वारा मेयर बालेनको विरोधमा प्रदर्शन
भूमि अभियान्तामाथि लगाइएका झूठा मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरुले काठमाडौंमा मेयर बालेन्द्र (बालेन) साहविरुद्ध प्रदर्शन गरेका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले सोमबार काठमाडौंको माइतिघरमा भूमि अभियान्ता पक्राउको विरोध र उनीहरुको निसर्त रिहाईको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले खोला किनारलगायतका स्थानमा रहेका सुकुम्बासीलाई हटाउन खोजिएको भन्दै काठमाडौं महानगरविरुद्ध चर्का नाराबाजी गरेका थिए । आफूहरुको भूस्वामित्व नभएसम्म आन्दोलन जारी रहने उनीहरु चेतावनी दिएका छन् ।
पूर्वी नवलपरासीको एउटै गाउँमा नौ वटा बम फेला, सेनाको टोलीद्वारा निष्क्रिय
पूर्वी नवलपरासीको विनयी त्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा फेला परेका नौवटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती–१ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षा गण हात्तीखोरको टोली बम फेला परेको स्थानमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिए ।
प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आइतबार फेला परेका ८१ एमएम मोटरको बम (गोला) लाई निष्क्रिय पारेको हो ।
आइतबार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गल नजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए ।
जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको थियो ।
कोरोना संक्रमितको संख्या बढ्दो, थप ६९ जनामा संक्रमण पुष्टि
नेपालका पछिल्ले समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ४ सय ८८ पीसीआर र परिक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परिक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
ओएस नेपाल म्युजिक अवार्डका लागि आवेदन खुला
चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुला गरिएको छ । ‘सांगीतिक स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्युजिक अवार्ड–२०८०’ आयोजना गर्न लागेको आयोजक ओएस नेपाल मिडिया प्रालिले जनाएको छ ।
अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीत सङ्गीतका ६१ विधा समावेश गरिएको छ । जसमा सहभागिता जनाउन देश तथा विदेशबाट सजिलै फारम भर्न सकिने प्रालिले जनाएको छ ।
यसका लागि एप्लिकेसन पार्टनरका रूपमा नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रो रहेको छ भने अवार्ड र फारमसम्बन्धी थप जानकारीका लागि ओएस नेपालको अनामनगर स्थित कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिनेछ ।
सवारी अनियमितता बढ्दो
पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अगाडि बढाएको हो ।
चालु आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० वटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भने तीव्र रूपमा अगाडि बढिरहेको जिल्ला ट्राफिक रसुवाले जनाएको छ । आठ महिनामा सात सय २५ मोटरसाइकल एवं छ सय २९ कार जीप, एक सय आठ वटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए ।
यो वर्ष सवारीसाधन सञ्चालनको प्रक्रिया नपु¥याइ आफूखुसी हिँड्ने चालक एवं सवारीधनीको सङ्ख्या क्रमशः वृद्वि हुँदै गएको ट्राफिक प्रहरीको विश्लेषण रहेको छ । सवारी नियम उलङ्घन गर्ने सवारी चालक उपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधान अनुरूप आठ महिनामा असूल गरिएको ३० लाख ९४ हजार पाँच सय जरिवाना राज्यकोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक राजस्व अभिलेखकर्ता जयराम लामिछानेले बताए ।
यस्तै चालु आवको आठ महिनामा रसुवाका सडक मार्गका विभिन्न भागमा सानाठुला १२ सवारी साधन दुर्घटना भएको थियो । गत भदौ १७ गते रसुवाको तारूकेमा भएको डुङ्गा दुर्घनाबाट दोलखा गौरीशङ्करका २३ वर्षीय विश्वनाथ भुजेल, कात्तिक ४ गते साङ्जेन हाइड्रो पावरमा भएको लोडर दुर्घटनाबाट दाङ राप्तीका ३६ वर्षीय वसन्तराज घिमिरे, कात्तिक १७ मै रसुवा कालिका– ४ कटुञ्जेमा भएको मोटरसाइकल दुर्घनाका कारण सोही स्थानका ८४ वर्षीय टीकानाथ न्यौपाने र मङ्सिर ५ गते साङ्जेन हाईड्रो पावरको बाँधमा भएको स्काभेटर दुर्घटनामा रसुवा गोल्जुङका ४५ वर्षीय कामी घलेको दुःखद निधन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया