कुवेतमा १४ नेपाली अलपत्र: दूतावासले सुनेन गुनासो | Khabarhub Khabarhub

कुवेतमा १४ नेपाली अलपत्र: दूतावासले सुनेन गुनासो



दोहा- काठमाडौंको सामाखुसीमा रहेको ओमम म्यानपावरमार्फत् आठ महिनाअघि कुवेत पुगेका १४ जना नेपाली कामदार अलपत्र परेका छन्। नेपालबाट बाइक राइडर अर्थात् डेलिभरी ब्वाइको लागि कुवेतको मेगा अवल्टिनीया कम्पनीमा पुगेका उनीहरु अलपत्र परेका हुन्। म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि तीन लाख लिएर राम्रो कमाई हुने भन्दै कुवेत पठाएको थियो। तर कुवेतमा आठ महिनासम्म पनि उनीहरुले काम नपाएको गुनासो गरेका छन्। काम नपाएपछि उनीहरुलाई त्यहाँ बस्न र खानकै समस्या भएको छ।

‘तिमीहरु त्यहाँ पुगेको डेढ महिनापछि काम सुरु हुन्छ भनेर म्यानपावर कम्पनीले भनेको थियो। डेढ महिना भित्र लाइसेन्स भन्यो भने तलब दिन थाल्छ भनेको थियो। तर यहाँ अझैसम्म हामीले केही काम पाएका छैनौं’, पीडितमध्ये एक रेमन तामाङ भने।

दुई महिनासम्म पनि कम्पनीले काम नदिएपछि नेपाल जान्छौं भनेपछि त्यहाँको कम्पनीले कुवेतको अर्धियास्थित जमेया डटकम भन्ने कम्पनीमा दुई महिना काम दिएको उनले सुनाए। दुई महिना काम दिएर फेरि अहिले कामबिहीन बनाएर राखेको पीडितको भनाइ छ।

‘हामी लामो समय काम तथा बिना तलव कोठामा बन्दी सरह भएर बसेका छौं। यहाँ राम्रो आम्दानी हुन्छ भनेर नेपालमा बैंकबाट चर्को ब्याजदर ऋण काढेर यहाँ आएका छौं। घर परिवारले हामीसँगै अपेक्षा गरेको छ,’ अर्का एक पीडितले भने, ‘हामी यहाँ रहरले घुम्न आएका होइनौं। बाध्यताले आएको हो, काम दिलाउन नसके हामीलाई उद्धार गर्नुहोस हामी यहाँ बन्दी भएर बस्न सक्दैनौं।’

नेपालमा आफूहरुको आमा बुबा म्यानपावरसम्म पुगेर दबाव दिनसक्ने अवस्था नरहेको र साहुले विभिन्न धम्की दिन थालेको पीडासमेत उनीहरुले सुनाएका छन्। काम दिन नसक्ने भए हामीलाई घर पठाइदिनु भन्दा कम्पनीले आठ सय कुबेती दिनार दिनु अनि मात्र जान पाउँछौं भनेको थियो।

अहिले पाँच जनालाई काम दिएको र बाँकी ९ जनालाई कोठामै राखेको उनीहरु बताउछन्। उता आफूहरुलाई पठाउने म्यानपावरलाई पटक– पटक सम्पर्क गर्दा कुनै वास्ता नगरेको उनीहरुले बताए। उनीहरुले आफूहरुको समस्या नेपाल सरकारलगायत सम्बन्धित निकायसम्म पुर्याइदिन र आफूहरुलाई सकुशल उद्धार गरिदिन संचार माध्यममार्फत अनुरोध गरेका छन्।

दूतावासले सुनेन गुनासो

उनीहरुले चार पटक कुवेतस्थित नेपाली दूतावास पुग्दा पनि गुनासो सुनवाइ नभएको बताएका छन्। उनीहरुले आफूले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाइदिन तथा काम भए दिलाई दिन र नभए नेपाल फिर्ता पठाइदिन दूतावासलाई धेरै पटक गुहारे गरिसकेका छन्। तर दूतावासले कुनै सहयोग नगरेको आरोप उनीहरुको छ।

कुवेतलगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासले फोन नउठाउने तथा श्रमिकको गुनासो गर्दा बेवास्ता गर्ने गरेको अधिकांश नेपालीले बताउने गरेका छन्। यता, दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन। यो विषयमा पटक पटक बुझ्न खोज्दा सम्पर्कमा हुन् सकेन।

बोलेको कुरामा सत्यता छैन : म्यानपावर सञ्चालक

नेपाली १४ जना युवालाई कुवेत लाने ओमम म्यानपावरका संचालक एमडी अलिफले नेपाली कामदारले बोलेको कुरामा सत्यता नभएको बताएका छन्। उनीहरु सबै जनाले काम गरिरहेको उनको दाबी छ।

कुवेत पुगेका १४ जनामध्ये दुई जनाले मात्र काम नगरेको अन्य १२ जनाले काम गरिरहेको उनको दाबी छ। तलव पनि हरेक महिनाको १० तारिख कार्यरत कम्पनीले दिएको उनको भनाइ छ।

कम्पनी परिवर्तन गर्नु पर्दा केही समय काम नपाएको भने म्यानपावर कम्पनीका सञ्चालकले स्वीकार गरेका छन्।
आफूले पठाएका कामदारलाई समस्या हुन्छ भनेर आफू नेपाली दूतावास र कम्पनीका प्रतिनिधिसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए।

अलपत्र परेका १४ नेपाली

रेमन तामाङ, गगन राई, दिलिप यादव, मुक्ती चौधरी, निर्मल धन राई, बद्री राम, सुरज पुन मगर, अर्जुन कामी, रजन यादव, रवि गुरुङ, सरोज राम्तेल, राज चम्लिङ राई, सुबश तामाङ
राम चन्द्र सार्की ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ८ : ०७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको