पर्यटनमा नीतिगत सुधार अपरिहार्य : पर्यटनमन्त्री किराती | Khabarhub Khabarhub

पर्यटनमा नीतिगत सुधार अपरिहार्य : पर्यटनमन्त्री किराती


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताए । 

मन्त्री किरातीले भने, ‘जहाज खरिदका  विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।’

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै तीन थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् ।

    पर्यटनमा नीतिगत सुधार अपरिहार्य

पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताए। उनले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताएका छन् । 

पर्यटनमन्त्री किरातीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रले गति लिने चरणमा रहेको भन्दै आगामी वर्ष लक्ष्यअनुसार पर्यटक आगमन हुनेमा विश्वास व्यक्त गरे । ‘पर्यटन क्षेत्रबाट मुलुकले ठूलो आर्थिक लाभ लिन सक्छ, तर पनि कतिपय विषय हाम्रा प्राथमिकतामा छैनन्’, उनले भने, ‘हामीले पर्यटक ल्याउने मात्रै नभइ उनीहरूको बसाइ लम्ब्याउनमा पनि ध्यान दिनुपर्छ ।’ उनले यसका लागि संस्कृति, प्रकृति र साहसिक क्षेत्रलाई आधार बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मुलुकको पर्यटन विकासका लागि नेपालको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर लैजानुपर्ने धारणा राखे। राष्ट्रिय एकतालाई बलियो बनाउन पनि विविध संस्कृति र सम्पदाको जगेर्ना गर्न जरुरी रहेको उनको भनाइ छ । 

‘पर्यावरणमैत्री पर्यटन विकासमार्फत मुलुकको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्छ । दिगो पर्यटन विकासका लागि नेपालको प्रकृति, संस्कृति, सम्पदा, पर्यावरण, परम्परा, भाषा, जातजातिको संरक्षण र प्रवर्द्धन गरिनुपर्ने आवश्यकता छ’, उनले भने ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले बोर्डले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने, नयाँ गन्तव्यको अध्ययन र खोज गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिरहेको बताए। उनले पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पर्यटन क्षेत्रमार्फत सबैभन्दा धेरै विदेशी मुद्राआर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो । सोही अवसरमा पर्यटनमन्त्री किरातीले ललितपुर महानगरपालिकाले महानगरपभित्रको पर्यटकीय क्षेत्रलाई समेटेर तयार गरेको नक्शा सार्वजनिक गरे ।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले ‘पर्यटन र हरित लगानी’ नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन् । दिवसका अवसरमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गरेका थिए । यस्तै ललितपुरको पाटन ढोकादेखि मङ्गलबजारसम्म प्रभातफेरि आयोजना गरिएको छ ।

संस्था र व्यक्ति सम्मानित

सरकारले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने सेभेन समिट ट्रेक्स प्रालि, सिता वल्र्ड ट्राभल प्रालि, एभरेष्ट हस्पिटालिटी एन्ड होटल तथा रिसोर्ट, पोखरा अष्ट्रालाई प्रालि छन् । 

साथै नेपाल वायुसेवा निगम, कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट, नवलपरासीको अमलटारी होमस्टे पनि सम्मानित भएका छन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ दिनमा आरोहण गरी कीर्तिमान राखेका क्रिष्टिन हारिला र लामा तेन्जान शेर्पालाई पनी सो अवसरमा सम्मान गरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : ५६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला