विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

आज आश्विन १० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २७ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अमेरिकाले ग्याबोनलाई सहयोग नगर्ने
संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्याबोनलाई सहयोग नगर्ने घोषणा गरेको छ ।

बाइडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । निजेरपछि मानवीयलगायत अमेरिकी सहयोग नपाउने देशको सूचीमा अब ग्याबोन पनि परेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि सहायता कटौती गर्ने यो अन्तरिम उपाय अवलम्बन गरिएको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । मध्य अफ्रिकी मुलुकका साथै अफ्रिकी सङ्घ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक समुदायले अवलम्बन गरेका नीतिअनुरुप सहायता स्थगनको निर्णय गरिएको उनले बताए ।

“हामी ग्याबोनमा अमेरिकी नागरिकहरूलाई सहयोग गर्ने कूटनीतिक एवं ‘कन्सुलर’ सेवालाई निरन्तर सञ्चालन गर्नेछौँ” विदेशमन्त्री ब्लिन्केनले एक विज्ञप्ति निकालेर भनेका छन् । ग्याबोनका नेता अलि बोङ्गो ओन्डिम्बालाई पदच्युत गरिएको तथा सैन्य सत्ता लागू गरिएको विषयमा समीक्षा गर्न बाँकी रहेको उनले विज्ञप्तिमा बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको कुकुरले फेरि मान्छे टोक्यो
अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड जातको कुकुरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ ।

राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ ।कमाण्डर वाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका एक जना कर्मचारीलाई कमाण्डरले टोकेको हो ।

गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको खोजिभइरहेको बताएका थिए ।

यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन् ।

निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिँदै त्यससम्बन्धमा क्यानडासँग जानकारी मागेको छ ।

साथै नयाँदिल्लीले हरदीपसिंह निज्जर हत्यासम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनुसन्धान अघि बढाउन भारत तत्पर रहेको स्पष्ट गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले मंगलबार आयोजित एक कार्यक्रममा निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताए ।

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँदिल्लीबीचको सम्बन्ध नराम्ररी चिसिएको छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्कासन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।

भारतले क्यानाडको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशंकरले त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्‍याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती पनि दिए।

हरदीप सिंह निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतंकवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोध प्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।

सन् अस्सीको दशकमा शिख बहुल पञ्जाब राज्यमा केन्द्रित हिंसात्मक विद्रोहले खालिस्तान आन्दोलनको रूप लिएको हो । यो आन्दोलन भारतमा मत्थर भए पनि क्यानडा, अष्ट्रेलिया र बेलायत जस्ता देशका शिखले बेलाबखत भारत विरोधि गतिविधि गर्दै आएका छन् ।

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।

अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभामुख एन्थोनी रोटाले मंगलबार ओटावामा पार्टी नेतालाई भेटेर राजीनामा दिएका हुन् । सभामुख रोटाको अभिव्यक्तिलाई लिएर स्वदेश र विदेशमा उनको कटु आलोचना भएको थियो । गत शुक्रबार भएको यो घटनाको विश्वव्यापी निन्दा भएको थियो ।

यसअघि क्यानडाका नागरिक र राजनीतिक दलका नेताले सभामुख रोटाको राजीनामा मागेका थिए । उनले संसद्मा सभामुख पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो अभिव्यक्तिप्रति गहिरो पश्चाताप भएको बताएका थिए । उनले आफूलाई हुन्काको नाजीसँगको सम्बन्धबारे जानकारी नभएको र कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरेर गल्ती गरेको बताए।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार नै सभामुखले हुन्कालाई सदनमा गरेको आमन्त्रण र अभिव्यक्ति दुवै लाजमर्दो भएको टिप्पणी गरेका थिए ।

इराकमा विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु

उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् । प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार मंगलबार राति १०ः४५ बजे आगलागी सुरु भएको थियो ।

आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धानका अनुसार विवाह उत्सवमा गरिएको आतिशबाजीपछि आगलागी भएको हो ।

भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ ।

इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्वीरमा दर्जनौँ अग्निनियन्त्रकले आगो निभाइरहेको देखिएको छ । यस्तै, स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरुमा विवाह कार्यक्रमको मुख्य हल जलेर ध्वस्त भएको देखिएको छ ।

यसैबीच, इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् ।

सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ०० बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने