ती राजा, यी राजा, तासका राजा | Khabarhub Khabarhub

ती राजा, यी राजा, तासका राजा



राजाका नाममा बग्रेल्ती खुलेका अखडाका मालिकहरुको चुरीफुरीसंगै पूर्वराजाको अनुहार चम्किलो देखिए पनि संस्थाको दीर्घकालीन रणनीति नबन्दा त्यो शक्तिको क्षयीकरण रोकिएको छैन । संविधान प्रदत्त अवस्थामा पनि राजनीतिक दलहरुसँग दरबारको सम्बन्ध एक नदीको दुई किनार जस्तै रह्यो । राष्ट्रिय परिधान एउटै भए पनि न नेताको एजेण्डाले राजा तानिए, न राजाप्रति नेताहरुको मनसा, बाचा, कर्मणा इमान्दार देखियो ।

विश्वका काइदा कानुन बदलिए । चार बीस उमेर नपुगेका युवाको काँधमा विश्व राजनीतिले प्रवेश पाइसक्दा एक्काइसौं शताब्दीको राजसंस्था कस्तो हुनुपर्छ भन्ने अवधारणा यो खेमाकाहरुले कहिल्यै सार्वजनिक गरेनन् । राजावादीहरुको अर्जुनदृष्टि राजाको जागिर सुरक्षामा केन्द्रित रह्यो । यो अल्पज्ञान अहिले पनि छारस्ट देखिन्छ ।

राजा महेन्द्रले बीपीको पार्टीका तात्कालीन इञ्जिन मानिने विश्वबन्धु थापा, ऋषिकेश शाह, डा. तुलसी गिरी, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मालाई भित्र्याएर पञ्चायती घरको निर्माण त गरे, तर उनीहरुको औकात जीवनपर्यन्त दरबारको इमान्दार अरौटेभन्दा माथि उठेन ।

बरु पञ्च तह लगाउन पञ्चकै बीँड उपयोग गरियो । सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, डा. तुलसी गिरीजस्ता घागडान व्यक्तित्वहरु पनि राजालाई तिर्खा लाग्दा पानी पिउने घाँटीमा सीमित भए । मुलुकको राष्ट्रिय एजेण्डा भनेकै राजाको अनुहार भन्ने अघोषित परिभाषा बन्यो । राजा वीरेन्द्रका पालाको दरबार त झन् एउटा क्लबभन्दा माथि नरहेको स्पष्ट हुन्छ । राजाका सैनिक सचिव विवेक विक्रम शाहले लेखेको पुस्तकको ‘वजन’ ले पनि त्यही तथ्य पुष्टि गर्छ ।

०७ सालको क्रान्ति घडिलाई आधुनिक राजनीतिको टर्निङ प्वाइन्ट मान्ने हो भने मुलुकको राजनीति घुमिफिरी रत्नपार्कको मुकुन्दे डक्ट्रिनभन्दा माथि उठ्न सकेको देखिदैन । राणा सिध्याउन राजा त्रिभुवनका घरमा जस्केलोबाट छिराइएकी नर्स एरिका लुस्टागको चुरीफुरी साँच्चै आश्चर्यजनक छ । उनीसँग राजा त्रिभुवन यति निरीह देखिन्छन् कि दरबारको गोपनीयता केही बाँकी रहँदैन ।

तिनै नर्सका माध्यमबाट बुनिएको कुटनीतिक गलपासोले राजा त्रिभुवन भारतीय शरणमा पुग्छन् । उनलाई पहिलोपल्ट जहाज देखाउने बाहनाबाजीमा गौचरण पुर्‍याइ भारत लगिन्छ । क्रान्तिको नेतृत्व गरेको नेपाली कांग्रेसको राजालाई पाल्पा लैजाने तयारी बीचमै निष्फल हुन्छ । क्रान्तिको जग नै कमसल भएपछि त्यसले दिने परिणाम सन्देहमूलक हुँदै जानु अस्वाभाविक हैन । त्यही बेलादेखि दुर्गा प्रसाईं प्रवृत्ति पात्रहरु नेपाली राजनीतिमा उदय भएका हुन् ।

राणाको निरंकुशता ढलेपछि प्रजातन्त्रका हिमायतीहरु आफ्नो बचनमा अडिएनन् । राजासँग साथीको सम्बन्ध बनाएका उनीहरुले संस्थागत लक्ष्मणरेखा कोर्न सकेनन् । भरत शमशेरको खुकुरी दलका कार्यकर्ताहरु भौतिक रुपमा आक्रमणमा उत्रिएपछि गृहमन्त्री बीपी कोइरालालाई राजा त्रिभुवनले तीन हप्ता लगेर दरबारमै राखे । राजासँग नेताहरु कुनै अदब राख्दैनथे ।

नेताका मुखमा च्यापिएको चुरोट राजाले बालिदिएको लाइटरले सल्किन्थ्यो । राजाको बेडरुमदेखि किचेनसम्म नेताहरुको अनौपचारिक सम्बन्ध थियो । अरु त अरु, राजालाई भेट्ने पत्रकारले समेत ‘तपाईं’ सम्बोधन पाउँथे । त्यो अनौपचारिक सम्बन्ध ‘बिजुली गारत’ नामको सैनिक पल्टन दरबारको सुरक्षा खातिर हस्तान्तरण गरेपछि तासको महल भयो ।

सिंहदरबारमा रहेको बिजुली गारत पार्श्वदल र कालीबहादुर गणलाई नारायणहिटीको रानीदरबार लगियो । बारुदखाना, हतियार, खरखजानाहरूमा तीन वटा साँचो लगाउने व्यवस्था गरी हरेकको एक, एक साँचो राजाले राख्न थाले । यसपछि राजाको असली चरित्र प्रकट हुन थाल्यो । २०१० को मन्त्रिमण्डलले ‘श्री ५ र मौसूफको परिवारको सम्बन्धमा उहाँ भन्ने शब्द प्रयोग नगरी मौसूफ भन्ने शब्द प्रयोग गर्नू ।’ भनी उर्दी जारी गर्‍यो ।

राणा शासनताका राजा, राजपरिवारसँगै श्री ३ को सुरक्षा बिजुली गारतले हेर्थ्यो । ‘कसैले रोकटोक गरेमा हत्यासम्म गरिदिनू’ भन्ने सनद खड्ग निशाना बिजुली गारतले पाएको थियो । आकाशमा बिजुली चम्के झैं ‘तेजिलो र फूर्तिलो गार्ड’ भन्ने भाव बुझाउने गरी त्यो नाम राखिएको थियो ।

बिजुली गारत राजालाई नबुझाउन मोहनशमशेरले बीपीलाई अनुनय विनय गरेका थिए । उनले भनेका थिए– ‘बीपी बाबु ! तपाईंहरु विदेशमा पढेर दीक्षित हुनु भएको होला । तर, मुलुक चलाउने काइदा कानुन हामीलाई थाहा छ । आज बिजुली गारत सुम्पिनुभयो भने भोलि हेर्नुहोला तिनै राजाले तपाइँहरुलाई सिध्याउने छन् ।’

त्योबेलाका शक्तिकेन्द्र राजा र भारतले दुई दाजुभाइ मातृका र बीपीलाई उपयोगको रणनीति अपनाए । राजनीतिक अस्थिरता बढ्दा केआई सिंहजस्ता पात्रको उदय भयो । कांग्रेसको आर्थिक पाटो चलाउने ठेक्का लिएका सुवर्णशमशेरले बीपीसँग पटक पटक राजासँग सहकार्य गरी अघि बढ्न प्रस्ताव राखे । अहँ, बीपीले टेर पुच्छर लाएनन् । जब इन्दिरा गान्धीको दबदबा बढेर उनको भौतिक शरीरमै संकट आउन लागेपछि भने बीपीले राष्ट्रियताको मामलामा आफ्नो र राजाको घाँटी जोडिएको भन्दै नेपाल भित्रिने निर्णय गरे । १५ वर्षअघि सुवर्णशमशेरको त्यही सल्लाह बीपीका लागि किन ग्रहणयोग्य भएन त ? कांग्रेसभित्र चित्तबुझ्दो उत्तर पाइँदैन ।

राजा महेन्द्रले बीपीको पार्टीका तात्कालीन इञ्जिन मानिने विश्वबन्धु थापा, ऋषिकेश शाह, डा. तुलसी गिरी, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मालाई भित्र्याएर पञ्चायती घरको निर्माण त गरे, तर उनीहरुको औकात जीवनपर्यन्त दरबारको इमान्दार अरौटेभन्दा माथि उठेन ।

नेपालको राजनीतिमा निष्ठा दाउपेचमा पुगेर अन्त्य भएका छन् । सत्यलाई चटकले निलेको छ । पुस्तकको निहुँ बनाएर बीपीलाई जेलमा गएर भेट्ने र राजालाई सुराकीको घान हाल्ने रमेशनाथ पाण्डेले अन्ततः गणतन्त्रका ईन्जिनीयर गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मको ह्याकुलो छाम्न भ्याए ।

राजाको चरणमा लम्पसार पर्नुलाई जीवनको जप, तप बनाएका भूपालमानसिंहका छोरा लोकमान सिंह लोकसेवा नै नलडी हुकूम प्रमाङ्गीबाट मुख्यसचिव हुँदै अख्तियार प्रमुखसम्म भए । उनलाई अख्तियारको हेडसर बनाउन दलहरुमा देखिएको अभूतपूर्व एकताको अहिले पनि चर्चा हुने गर्छ । सिङ्गो शासन व्यवस्थाकै अभूतपूर्व भर पाएपछि उनले आफूलाई सर्वशक्तिमान घोषित गरे ।

अख्तियारको हाताभित्र पाँच पाइलाको दूरीमा रहेको आवासबाट कार्यालय आउँदा फौजीबाट घेरिएर आउन थाले । महत्वाकांक्षा यतिसम्म बढेर गयो कि तिहारमा दिदीको घरमा टीका लगाउन जाँदासमेत फौजले घेर्न थाले । कतिपय अनौपचारिक संवादमा भरौटेहरुलाई आफैं राजा भएको उर्दी फैलाउन लगाए ।

राजा त्रिभुवनलाई भुसको भँगेरोजस्तो निष्प्राण अवस्थाबाट त्राण दिने रणनीतिक नर्स एरिकादेखि दुर्गा प्रसाईंसम्मका क्रियाकलाप पछाडिको रहस्य खुलेका छैनन् । सडकमा सलाईका काँटी त देखिन्छन् तर तिनको ब्राण्ड अदृश्य हुन्छ । दशकौंदेखि मिलको फित्ताजस्तो कम्मरमा बाक्लो पेटी बाँधेका दुईचार सय मोटा मानिस, जोगी सन्यासीधारीको लम्पसारभन्दा माथि दर्शनले राजसंस्थालाई निर्देशित गरेन । पूर्वराजाको सचिवालयबाट आकलझुकल आउने सामग्री कुन्ठाग्रस्त देखिन्छ ।

राजाबिना हावा चल्दैन भन्ने एउटा, राजाको नाम लिनासाथ ज्वरो आउने अर्को, दुईवटै प्रवृत्ति हानिकारक छन् । राजावादको मुखुण्डो लगाएर गणतन्त्रमा व्यापार गर्ने कमल थापा प्रवृत्ति अन्तत : उनकै लागि आत्मघाती ठहरियो । राजाको मुन्टो देखाएर सपनामै भएपनि राजालाई नारायणहिटी भित्र्याएको हेर्ने एकथरि अनि राजाको मुख्तियारी चलाउन ढुकेको कुलीन वर्गसँग भावना त छ, इच्छाशक्ति छैन । राजालाई सत्तामा अन्माउने राजेन्द्र लिङ्देनको अभिष्टमा राजनीतिक चालबाजीको बढी गन्ध छ । कमल थापाविरुद्ध स्वार्थको रोटी सेकाउन लागेको स्पष्ट छ । अहिले उनले ल्याएको मोर्चा अवधारणा पनि आफूलाई एक्लो हुनबाट जोगाउने खेलोमेलो मात्र हो । केशरबहादुर विष्टका लागि यो अभियान दिन कटनी मात्र हो । यसले आत्मरतिबाहेक केही दिँदैन ।

विधिको शासन चलेका दिन जेलका विशिष्ट पाहुना बन्न लायक प्रतिनिधिमूलक पात्र हुन– दुर्गा प्रसाईं । नगर पुलिसले मेसो नपाउँदै व्यापार गर्न खोज्ने रत्नपार्कका झोले व्यापारीजस्तै तत्काल माल बेच्ने भोक उनमा देखिन्छ । नेपालको राजनीति म्युजिकल चियर त हुँदै हो । यसो भन्दैमा घरकै छोरा नातिले नपत्याउने हैसियतमा तीन करोड जनताको व्यवस्थापन तम्सिनु आफूमाथिको धोका हो ।

फेसबुक र युट्युबमा सन्काउनेहरु भेला भए भने सिंहदरबार र बालुवाटार रित्तिन्छ, सेना पुलिसले वाकओभर दिन्छ भन्ने दिउँसै देखेको सपनाले दुर्गा प्रसाईंलाई सुरुङमा पुर्‍याउने निश्चित छ । फेसबुकको लाइक न जन्ती, न मलामी कतै काम लाग्दैन । त्यसो भए नेपालको राजनीतिक मौसमको केन्द्रविन्दु कता त ?

एउटा पक्ष सुतुरमुर्गले झैं दिल्लीतर्फ चिहाउँछ भने अर्को उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको कृपा पात्र बन्न कसरत गर्छ । सिंहदरबारमा चुच्चे नक्सा झुण्डिन्छ तर त्यही नक्साभित्र बस्ने मानिस पारीको निगाहमा प्राप्त चिट लिएर उतैको बजारको दानापानीमा बाँचेको छ । यहाँका राजनीतिक प्राणीहरु घोडाको सुन्दर दृश्य बनाउन पारंगत त भए तर तबेलामा घोडा पाल्न कति कठिन छ भनेर कहिल्यै बुझेनन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  २ : २३ बजे

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

बागलुङ – बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट

‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले

आगामी निर्वाचनसम्म कांग्रेस–एमालेको गठबन्धन कायम रहन्छ : प्रदीप ज्ञवाली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक

क्रोएसियाको नर्सिङ होममा गोली चल्दा पाँच जनाको मृत्यु

क्रोएसिया – क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली

अख्तियारमा उजुरी परेपछि नगर प्रमुखले फिर्ता गरे पैसा

सिरहा – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट