विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

आज मंसिर ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चट्याङ लागेर भारतमा १८ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ ।

भारतमा हरेक वर्ष बाढी र चट्याङका कारण दर्जनौं मानिसको मृत्यु हुने गरेको भए तापनि वैज्ञानिकहरूले बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले अकल्पनीय मौसमी घटनाहरू निम्त्याइरहेको बताएका छन् ।

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मारिएका छन् ।

गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै मृत्युबाट आफू निकै दुःखी भएको बताएका छन् ।

आगामी ३० वर्षमा दक्षिण कोरियामा युवाहरुको सङ्ख्या आधाले घट्ने

जनसङ्ख्या सङ्कटको सामना गरिरहेको दक्षिण कोरियामा आगामी ३० वर्षमा युवाहरुको सङ्ख्या आधा हुने एक प्रतिवेदनले देखाएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको हो ।

तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख्याको २० दशलमव चार प्रतिशत अर्थात एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको सङ्ख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो सङ्ख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।

सन् २०५० मा कूल जनसङ्ख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत सङ्ख्या तीव्ररूपमा बढ्दो जनसङ्ख्याका बीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ । कूल युवा जनसङ्ख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ ।

यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्ररूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ । कूल युवा महिलाहरूमा आर्थिक रूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ । आर्थिक रूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।

थाइल्याण्डमा बिहेकै दिन दुलाहाद्वारा गोली हानी दुलहीसहित चार जनाको हत्या

एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चार जनाको हत्या गरेका छन् । घटनामा संलग्न बन्दुकधारीले आफैँलाई गोली हानेका थिए ।

आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए ।

“उनीहरूबीच निजी मामिलामा बहस भएको थियो र चतुरोङले आफ्नो कारमा गए र गोली चलाउनुअघि बन्दुक उठाए”, उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारी म्याटिचोन वोङगबाओकुलले भने । उनका अनुसार चतुरोङले स्वयंलाई मार्नुअघि पहिला आफ्नी दुलही र अन्य चार जनामाथि गोली चलाएका थिए । मारिनेमध्ये एक अतिथि पनि थिए ।

पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए ।

उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् ।

कानूनी र अवैध दुवै तरिकाले सजिलै बन्दुक उपलब्ध हुने थाइल्यान्डमा बन्दुक हिंसा सामान्य छ । यद्यपि सामूहिक गोली हानाहान सामान्यतया दुर्लभ हुन्छन् । यो हमला गत महिना एक मलमा भएको हमलामा तीन व्यक्ति मारिएको घटनापछि भएको हो ।

गाजामा युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयास तीव्र

विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई थप लम्ब्याउन मध्यस्थता प्रयासलाई तीव्र पारिएको छ । युद्धविरामलाई थप लम्ब्याउने प्रयास भइरहेको प्यालेस्टाइनी स्रोतले जनाएको हो । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित कतार र इजिप्टले इजरायल र हमासलाई एउटा मस्यौदा सम्झौताबारे जानकारी गराएका छन्”, नाम उल्लेख नगर्ने शर्तमा प्यालेस्टाइनी स्रोतले सिन्ह्वालाई भनेको छ ।

छलफलमा गाजामा ४० देखि ५० बन्दीको रिहाइ तथा मानवीय सङ्कट कम गर्नका लागि प्रभावित क्षेत्रमा मानवीय सहयोगको वृद्धिबारे कुराकानी भएको स्रोतले बताएको छ । हमासले कतार–इजिप्ट प्रस्तावप्रति प्रारम्भिक इच्छा देखाएको छ । आइतबार राति हमासका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै भनेका छन्, “हमास युद्धविरामलाई चार दिनभन्दा अगाडि बढाउन खोजिरहेको छ, यसमा सुरुमा इजरायलसँग सहमति भएको थियो ।”

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले थप बन्धकहरूलाई मुक्त गर्ने हो भने इजरायल हमाससँगको युद्धविरामलाई केही दिनका लागि बढाउन सहमत हुनसक्ने बताएका छन् । एक इजरायली भिडियो बयानअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा नेतान्याहुले कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार रिहा गरिएका प्रत्येक थप १० बन्धकका लागि एक अतिरिक्त दिनका आधारमा युद्धविरामको ‘स्वागत गर्ने’ बताए ।

गाजापट्टीमा अस्थायी युद्धविराम आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । युद्धविराम सम्झौतामा इजरायली कारागारहरूबाट एक सय ५० महिला तथा बालबालिका रिहा गरेको बदलामा गाजाबाट ५० इजराइली महिला तथा किशोर बन्धकलाई मुक्त गर्ने पनि उल्लेख छ । सम्झौतापछिको चरणहरूमा रिहाइको सङ्ख्या बढाउने व्यवस्था गरिएको छ ।

उत्तरले सीमा सुरक्षा चौकी पुन:निर्माणका लागि सेना पठायो : दक्षिण कोरिया

उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । यसै सिलसिलामा उत्तर कोरियाले दक्षिण कोयिासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ । गत साता उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई कम गर्ने उद्देश्यले गरिएको सम्झौतालाई आंशिक रूपमा निलम्बन गरेको थियो ।

जवाफमा उत्तरले पुनः सम्झौता गर्न बाध्य नहुने चेतावनी दिँदै उक्त सम्झौतालाई पूर्ण रूपमा रद्द गरेको थियो । उत्तर कोरियाले हालै सुरक्षा चौकीहरू पुनःस्थापना गर्नका लागि सशस्त्र कर्मचारी र उपकरणहरू पठाएको एक सैन्य अधिकारीले एएफपीलाई सोमबार बताएका छन् । उत्तर कोरियाली सैनिकहरूले ‘शुक्रबारदेखि सुरक्षा चौकीको पुनःनिर्माण गरेको देखेको’ एक सैन्य अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले बताएको छ । पाँच वर्ष पुरानो सैन्य सम्झौताअन्तर्गत हटाइएका सबै ११ चौकीहरू पुनःस्थापना गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको सेनाले जारी गरेको एउटा तस्बिरमा उत्तर कोरियाका चार सैनिकले दुवै मुलुकलाई विभाजन गर्ने असैन्यकृत क्षेत्रमा एउटा काठको सुरक्षा चौकी पुनःनिर्माण गरिरहेको देखाइएको छ । उत्तर कोरियाको हतियार कार्यक्रमहरूको तीव्र विकासले सोललाई चिन्तित बनाएको छ । दक्षिण कोरियाले उत्तर कोरियाको उपग्रह प्रक्षेपणपछि सीमामा ‘निगरानी र जासुसी स्रोत’ तैनाथ गरेको छ । आणविक हतियारयुक्त उत्तर कोरियाको बढ्दो खतराविरुद्ध सुरक्षित रहन ‘आवश्यक उपाय’ भएको उसको सेनाले बताएको छ ।

जवाफमा उत्तरले दुवै कोरियाबीच ‘सैन्य सीमाङ्कन रेखाको छेउमा थप शक्तिशाली सशस्त्र बल र नयाँ प्रकारको सैन्य हार्डवेयर तैनाथ गर्ने’ बताएको छ । गत साता ‘मल्लिगयोङ–१’ को प्रक्षेपण मे र अगस्टमा दुई असफलतापछि आकाशमा सैन्य निगरानी सुरक्षित गर्ने उत्तर कोरियाको तेस्रो प्रयास थियो । विशेषज्ञहरूका अनुसार जासुसी उपग्रहलाई अन्तरिक्ष कक्षमा सफलतापूर्वक स्थापना गरेपछि विशेषगरी दक्षिण कोरिया तथा कुनै पनि सैन्य सङ्घर्षमा महत्वपूर्ण तथ्याङ्क प्राप्त गर्ने दिशामा उत्तर कोरियाको जासुसी जानकारी एकत्रित गर्ने क्षमतामा सुधार हुनेछ ।

जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति सहभागी नहुने

यूएईको दुबईमा आयोजना हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी नहुने भएका छन् । दुबईमा आयोजना हुने जलवायु शिखर सम्मेलन कोप२८ मा अमेरिकी राष्ट्रपति सहभागी नहुने अमेरिकी अधिकारीले बताएका हुन् ।

बिहीबार सुरु हुन लागेको कोप२८ मा विभिन्न मुलुकका सरकार एवम् राष्ट्र प्रमुखसहितका नेताहरू र पोप फ्रान्सिसलगायत करिब ७० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन हुनसक्छ । राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसका लागि ह्वाइट हाउसले जारी गरेको तालिकामा यो साता उनीहरू दुबई जाने उल्लेख छैन । बाइडेनको व्यस्ततामा वायु ऊर्जामा अमेरिकी लगानी उजागर गर्नका लागि कोलोराडोको भ्रमण, अङ्गोलाका राष्ट्रपतिसँग बैठक र राष्ट्रिय क्रिसमस ट्रिको प्रकाश सामेल छन् ।

बाइडेनले यो साता कोप२८ मा वा डिसेम्बर १२ को वार्ताको अन्त्यको दोस्रो सत्रमा भाग लिने योजना नबनाएको एक अमेरिकी अधिकारीले पुष्टि गरेका छन् । दुबईमा एउटा उच्चस्तरको अधिकारीलाई पठाउने वा नपठाउने भन्नेबारेमा बाइडेन प्रशासनले छलफल गरिरहेको नाम नछाप्ने शर्तमा ती अधिकारीले बताए । पूर्वविदेशमन्त्री, सिनेटर तथा अमेरिकी जलवायु दूत जोन केरीले अमेरिकाका लागि प्रत्येक दिन बैठकको नेतृत्व गर्नेछन् । बाइडेनले कोप२८ मा भाग नलिने निर्णयको कारणबारे ती अधिकारीले केही बताएनन् ।

यद्यपि बाइडेनले एक महिनाभन्दा लामो समयदेखि इजराइल र हमासबीचको युद्धमाथि ध्यान केन्द्रित गरिरहेका छन् र अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक वर्षभन्दा पनि कम समयमा घरेलु एजेन्डालाई उजागर गर्न खोजिरहेका छन् । बाइडेनसम्म अमेरिकी राष्ट्रपतिका लागि प्रत्येक कोप शिखर सम्मेलनमा भाग लिने चलन थिएन । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प पेरिस जलवायु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले पुनः जलवायुमाथि विश्वव्यापी नेतृत्वको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गर्नका लागि सन् २०२१ मा बाइडेनले ग्लासगोको भ्रमण गरेका थिए ।

ह्वाइट हाउस जान खोजिरहेका ट्रम्प जलवायुप्रति संशयवादी हुन्छ र यो कार्य अमेरिकाका लागि अत्यन्त महङ्गो हुने बताउँछन् । राष्ट्रपति बाइडेनले गत वर्ष पुनः इजिप्टको शार्म अल–शेखमा कोप२७ को एउटा छोटो भ्रमण गरेका थिए । तथाकथित मुद्रास्फीति न्यूनीकरण ऐन र विद्युतीय कारका लागि प्रोत्साहनसहित हरित अर्थतन्त्रका लागि अर्बौं डलरको लगानी गर्दै उनले घरेलुस्तरमा जलवायुलाई उच्च प्राथमिकता दिएका छन् ।

कोप२८ शिखर सम्मेलनअघि केरीले आफ्ना चिनियाँ समकक्षी झि झेनहुआसँग विस्तारित वार्ता गरेका थिए । उनहरूले विश्वका सबैभन्दा दुई ठूला हरितगृह ग्यास उत्सर्जक आ–आफ्ना मुलुकले दुबईमा प्रगतिका लागि मिलेर काम गर्ने वाचा गरेका थिए ।

भारतको गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु

भारतको गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ । गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङ लागेर दाहोदमा ३, भरुचमा २ तथा अहमदाबाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ गरी १३ जनाको मृत्यु भएको छ ।

यस्तै, चट्याङका कारण पशुपन्छीको मृत्यु भएको खबर पनि आएको छ । हालसम्म ३९ जनावरको मृत्यु भइसकेको छ ।

सौराष्ट्र र उत्तरी गुजरातसहित लगभग सम्पूर्ण राज्यमा बेमौसमी वर्षा भएको छ। सौराष्ट्रका केही स्थानमा सबैभन्दा बढी पानी परेको छ ।

हिउँ झैँ अचानक भारी असिना परेपछि गाडीबाट हिँडेका मानिसले सेल्फी लिन थाले । जसका कारण सडकमा सवारीसाधनको लामो लाइन लागेर जामसमेत भएको थियो ।

वर्षाका कारण कृषकलाई ठूलो नोक्सान भएको अनुमान गरिएको छ । यद्यपि त्यसको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : ०८ बजे

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…

काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२/०८३ को

कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्डे पेु ‘लिउ

विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति

काठमाडौं– राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् ।

प्रकाशमानलाई प्रभु साहको व्यंग्य- गणेशमानको बदनाम गर्नुभयो, म भए मुख छोपेर हिँड्थेँ

काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रमु साहले उपप्रधान तथा सहरी विकासमन्त्री

अमेरिकी आक्रमणले इरानका आणविक स्थल ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य