व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा | Khabarhub Khabarhub

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

तनहुँ– गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र  मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा संकटमा परेको छ । 

कास्कीको रुपा गाउँपालिका-७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आएका छन् । तर बजार नपाएपछि उनी बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्छन्। पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताए । 

उनीसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आएका छन् । उनले भने, ‘सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।’ 

‘आफूहरुले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ’, उनले भने, ‘ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुई वटासम्म ठेकी बनाउने गर्दछौँ ।’ 

कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरूले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताए । ‘गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने?, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्छौँ’, उनले भने ।

हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरूको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताए । ‘गाउँमा बाबुबाजेले यही पेशा गर्दै आएका थिए’, स्थानीय रामबहादुर विश्वकर्माले भने । समूहगत रुपमा छलफल भएअनुसार आफूहरू कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उनले जानकारी दिए। रामबहादुरले भने, ‘समूह बनाएर बाँडिएर फरक-फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।’ 

केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरुसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका-४ रम्घाका श्रीकृष्ण सोतीले बताए । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उनको भनाइ छ । ‘ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ । तर राम्रो भनेर दुई वर्षअघि किनेको फुट्यो’, सोतीले भने, ‘त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाउँदै गरेको किनेको छु । अब भने ५-७ वर्ष केही नहोला भन्ने ठानेको छु ।’

आफूहरूले परम्परागत रुपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भए पनि लगानी अभावका कारण उद्योग दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताए। गाउँका अधिकांश व्यक्ति साक्षर मात्र छन् । एसइई उत्तीर्ण गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उनको भनाइ छ । 

यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछन् । ठेकी प्रतिमाना रू चार सय तथा गिलास, कचौरा र कप आकारका आधारमा एक हजारदेखि दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए । काठका यस्ता सामान बनाउँदा विभिन्न सामग्रीको आवश्यकता पर्दछ । यसरी विभिन्न काठका सामग्री उत्पादन गर्ने गरेका भए पनि बजार तथा उचित मूल्य पाउन भने समस्या हुने गरेको व्यवसायी बताउँछन् ।  

–पूर्ण विके रासस

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ५ : २० बजे

कास्की–तनहुँको पुँडीटार औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरिने

गण्डकी– गण्डकी प्रदेश सरकारले कास्की–तनहुँको पुँडीटार र नवलपरासी (बर्दघाट सुस्ता

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट 

काठमाडौं– वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली

ठूलो वर्षा हुन थालेपछि मेलम्चीको पानी काठमाडौं नआउने 

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी

प्रचण्डलाई पाँच वर्ष एकलौटी सरकार चलाउन दिऊँ : विप्लव

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थमन्त्री

भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ किलो