बिक्न छाडे डालो, नाङ्लो र ठेकी « Khabarhub

बिक्न छाडे डालो, नाङ्लो र ठेकी


१४ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भिडभाड छ । यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र युवा आफ्नै धुनमा देखिन्छन् । चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ तर सयौँका संख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा देखिन्छ ।

त्यहीबीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन् । उनी हुन्, जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन् । एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गर्थ्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन । मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन् ।

डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ । झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ ।

दिनभरिमा दुई/चार वटा डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ । मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन् । उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ । चार दिनमा आठ÷दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन् ।

उनी कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन् ।

विक भन्छन्, ‘चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ ।’

उनीहरुको टोलीले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन् । सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन् । उनी बडिगाडबाट रु चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको बताउँछन् ।

चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको हेमबहादुर उल्लेख गर्छन् ।

उनी भन्छन्, ‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा ?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनू न ।’

केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले त सानाठूला कुनैले पनि बजार पाएको छैन । आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ ।

बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन् । परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उनको भनाइ छ । डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ ।

विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ ।

अचेल ठेकी पनि बिक्दैनन्

त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन् । दुई दिन अगाडि ठेकीहरु लिएर यहा आएँ आएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन् ।

उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन् । ठेकीसँगै मदानी पनि छन् । सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बताउँछन् । पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ ।

अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ ।’ उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राखेका छन् । पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : ३१ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को