विद्यार्थीलाई भर्ना गर्न सजिलो, टिकाउन साह्रो, बिकाउन अझ गाह्रो ! | Khabarhub Khabarhub

विद्यार्थीलाई भर्ना गर्न सजिलो, टिकाउन साह्रो, बिकाउन अझ गाह्रो !


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालबालिकालाई विद्यार्थी भर्ना अभियानका क्रममा स्कुल ल्याउन सहज भएपनि टिकाउन धेरै चुनौति थपिएको भन्दै शिक्षाका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी भर्ना अभियान सुरु भएको दुई दशक पूरा भएर विद्यालयमा ९७ प्रतिशत बालबालिका आएपनि उनीहरुलाई गुणस्तरीय शिक्षा दिलाउन र स्कुलमै टिकाइराख्न धेरै चुनौति रहेको उनीहरुको भनाइ छ ।

शुक्रबार शिक्षा पत्रकार समूहले काठमाडौँमा आयोजना गरेको ‘विद्यार्थी भर्ना अभियान : विगत र वर्तमान’ विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् । शिक्षा पत्रकार समूह लगायत शिक्षाका संघ संस्थाहरुले थालेको अभियानका क्रममा २०६१ सालमा सरकारले औपचारिक रुपमा विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेको थियो ।

तत्कालीन शिक्षा विभागका निर्देशकपछि महानिर्देशकसमेत रहेका पूर्वसचिव जनार्दन नेपालले कास्की र चितवनबाट सुरु भएको विद्यार्थी भर्ना अभियानको दुई दशक उपलब्धिमूलक भएपनि विद्यार्थीको गुणस्तरीय सिकाईमा भने ठूलो चुनौति थपिएको बताए ।

‘त्यतिबेला शिक्षाको विश्वव्यापी अभियान चलेका बेला नेपालमा पनि विद्यार्थी भर्ना अभियान सुरु गरिएको थियो । कास्की र चितवनबाट सुरु भएको विद्यार्थी भर्ना अभियान देशैभरका विद्यालयमा सुरु भएर अहिले झण्डै ९८ प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेका छन्, यो राम्रो उपलब्धी हो’, उनले कार्यक्रममा भने ।

उनका अनुसार विद्यार्थी भर्ना अभियान सुरु गर्ने बेलामा ३० प्रतिशत बालबालिका विद्यालयबाहिर थिए । पछिल्लो २० वर्षमा बाहिर रहेका २७ प्रतिशत बालबालिका विद्यालय आएपनि उनीहरुलाई टिकाइराख्न ठूलो चुनौति रहेको उनले बताए ।

‘हामीले त्यतिबेला हामीले गर्ने पहलका रुपमा विद्यार्थी भर्ना अभियान सुरु भएर बाहिर रहेका बालबालिका विद्यालयभित्र ल्याइयो’ उनले भने, ‘तर उनीहरुलाई अहिले टिकाउन सकिएन । त्यो भन्दा बढी पास आउट भएका विद्यार्थी पनि नेपाली श्रम बजारमा बिक्न सकेका छैनन् ।’

विद्यालय व्यवस्थापन समिति महासंघका संस्थापक अध्यक्ष कृष्ण थापाले विद्यार्थी भर्ना अभियानले धेरै उपलब्धी दिएपनि विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण उपलब्ध गराउन नसकिएको बताए । व्यवस्थापन समिति, अभिभावक र शिक्षक मिलेर गुणस्तरीय सिकाईमा लागेमात्रै बालबालिकालाई स्कुलमा टिकाउन सकिने उनको धारणा छ ।

यस्तै अभिभावक महासंघका संस्थापक सुप्रभात भण्डारीले २० वर्षपहिले विद्यार्थी भर्ना अभियान सुरु गरेर बाहिरका बालबालिका विद्यालयको पहुँचमा आएपनि उनीहरुको गुणस्तरीय सिकाईमा धेरै प्रश्न र चुनौति रहेको बताए ।

‘हामीले विद्यार्थी भर्ना अभियान सुरु गर्दा कोही पनि विद्यालयबाहिर नरहोस् भन्ने थियो । अहिले धेरैजसो विद्यालयभित्र आएपनि विद्यार्थी पटक पटक स्कुलबाट बाहिरिएको छ’, उनले भने, ‘अब यसबारे कोही एउटा निकाय वा सरकार मात्रै होइन । धेरै पक्ष मिलेर विद्यार्थी विद्यालयमा टिकाउने र हाम्रै श्रमबजारमा बिकाउने हुनुपर्छ ।’

यस्तै शिक्षा अभियान्ता टीका भट्टराईले अहिले पालिका सरकारले विद्यालय सञ्चालनको अधिकार पाएपछि भइरहेको विद्यार्थी भर्ना अभियान बढी प्रभावकारी रहेको बताए ।

सबै पालिका र विद्यालय विद्यार्थी भर्ना अभियान र उनीहरुलाई विद्यालयमा टिकाइराख्न आकर्षक कार्यक्रम ल्याउने र गुणस्तरीय सिकाईमा लागिरहेका नभएपनि आफूले काम गरेका सर्लाही, मकवानपुर लगायतका जिल्लामा पालिका सरकारका जनप्रतिनिधिले राम्रो काम गरिरहेको टिप्पणी गरे ।

‘पालिका सरकारका जनप्रतिनिधिमा राम्रो सोच पलाएको छ । आफ्नो गाउँठाउँका विद्यालय र विद्यार्थीलाई राम्रो बनाउने सोच उहाँहरुमा देखेको छु’ उनले भने, ‘यसका लागि तीन तहका सरकार एक ठाउँमा उभिनुपर्छ । पालिका सरकारलाई मात्रै जिम्मा दिएर हुँदैन ।’

यस्तै विद्यालय व्यवस्थापन समिति महासंघकी सचिव मञ्जु नेपालले अब सरकार, विद्यालय व्यवस्थापन समिति महासंघ र स्थानीय तहका जनप्रतिनिधि मिलेर विद्यार्थी विद्यालयमा टिकाउने अवस्था सिर्जना गर्न लाग्नुपर्ने बताइन् ।

यस्तै सामाजिक अभियान्ता हीरा विश्वकर्माले विद्यार्थी भर्ना अभियानका क्रममा लाखौँ दलित तथा गरिब बालबालिका विद्यालय आएपनि देशभरका सामुदायिक विद्यालयको हालत नै खराब अवस्थामा रहेको बताए ।

सामुदायिक र निजी विद्यालयबीच ठूलो खाँडल रहेको र त्यसैले नेपाली समाजको वर्गविभेद भइरहेको भन्दै उनले दलित र गरीब बालबालिका मात्रै पढ्ने सरकारी विद्यालयको संरचना र गुणस्तर सिकाईको अवस्था परिवर्तन गर्नुपर्ने बताए ।

यस्तै जनज्योती माविका प्रधानाध्यापक तथा पढ्दै कमाउँदै कार्यक्रमका संयोजक नारायण सिग्देलले विद्यार्थीलाई विद्यालयमा पठनपाठनका क्रममा सीप दिन नसक्दा ‘ड्रपआउट’ को समस्या भएको बताए ।

विद्यार्थीलाई विद्यालयमै काम गर्दै पढ्ने र पढ्दै काम गर्दै आम्दानी गर्न सक्ने कार्यक्रम देशैभरका विद्यालयमा लागू गराउनुपर्ने आवश्यकता रहेको औँल्याए ।

जनज्योतीबाट सुरु भएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ देशभरका अरु विद्यालयमा पनि लागू हुने क्रममा रहेकाले यसले विद्यार्थी स्कुलबाट मात्रै नभई देशबाटै बाहिर जाने अवस्था रोकिने पनि उनले विश्वास व्यक्त गरे ।

‘अहिले विद्यार्थी भर्नाका लागि जुन जुन कार्यक्रम र गतिविधि भइरहेका छन् । ती अझै पर्याप्त छैनन्’ उनले भने, ‘अब विद्यालयमै विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम लागू गरेर स्कुलमै टिकाउने र नेपाली श्रमबजारमा बिकाउने बनाउन सक्नुपर्छ । हाम्रो अभियान पनि त्यही छ ।’

कार्यक्रममा शिक्षा विभागका निर्देशक गणेश पौडेलले विद्यार्थी भर्ना अभियानमा धेरै उपलब्धी हासिल भएपनि अब थप बाहिर रहेका ३ प्रतिशत विद्यार्थी विद्यालय भर्ना गर्न पनि सबैको सहयोगको आवश्यकता रहेको औल्याए ।

साथै उनले विद्यार्थीलाई विद्यालयमा टिकाउन र नेपाली श्रमबजारमै अभ्यस्त गराउनका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिए । शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति सबै लागेर गुणस्तरीय सिकाईमा ध्यान दिन सके विद्यार्थी विद्यालय ल्याएर टिकाउन र नेपाली बजारमै बिकाउन सकिने उनले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०४ बजे

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र

चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता

कास्की – गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

काठमाडौं – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले

सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलरको हुने

काठमाडौं – सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब