‘अलिकति पढ्यो हलो छोड्यो, धेरै पढ्यो थलो छोड्यो’ केही वर्षअघि सम्म प्रचलित आहान संशोधन भएर अब ‘प्लस टु पढ्यो देश छोड्यो’ भन्नेमा रुपान्तरण भएको छ ।
अनौपचारिक तथ्यांकअनुसार अहिले दैनिक १५ सय बढीले देश छोड्छन् । विदेशबाट आउने हवाई चापले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा व्यस्त हुन्छ । वैदेशिक रोजगारी र पठनपाठनका नाममा विदेशिने प्रतिस्पर्धा बढेको छ । अझ दश जोड दुई पढेका पिँढीमा विदेशिने एकखाले भूत नै चढेको छ भन्दा फरक पर्दैन ।
देशमा बस्नु भनेको भविष्यको समाप्ति भन्ने निधोमा उनीहरु पुगेका छन् । प्लस टु जेनेरेसनका केही प्रतिनिधि पात्रलाई खबरहबले सोध्यो– ‘तपाईं बस्न योग्य देश बनाउन कसले के गर्नुपर्छ ?’
उनीहरु अधिकांश राजनीतिक गतिविधिबाट आजित देखिन्थे । शिक्षा, स्वास्थ्यको व्यापारीकरण र रोजगारीको अभावलाई विदेशिनुको कारण देखाए । उनीहरुको भनाइ छ– ‘बाउ पुस्ताले बिताएको जीवनशैलीले हाम्रो व्यवहार धानिँदैन । यहाँको शिक्षा प्रणाली सीप नभएर सिद्धान्तमा रमाएको छ । तलदेखि माथिसम्म राजनीतिक सेटिङ छ । हाम्रा आवश्यकता र चाहना कसैले बुझ्दैन । योग्यताअनुसार रोजगारी नै नभएपछि त्यो देशमा कसरी जीविकोपार्जन हुनसक्छ ।’
हुन त विदेशिँदा आफ्ना परिवार ऋणमा डुबेको, रेमिट्यान्सबाट चल्ने मुलुकबाट अरबौं रुपैयाँ विदेशिएको यथार्थसंग परिचित उनीहरु आशाको उज्यालो कतै देख्दैनन् । ‘देशमा बसेर अहिले काम गर्दा आफूलाई खान लगाउन पनि नपुग्ने अवस्था छ । त्यसमा पनि राम्रो काम नै पाइँदैन ।’ हिमालय कलेजमा कक्षा १२ पढ्ने सलिना अधिकारी आफ्नो भावी योजना सुनाउँदै भन्छिन्, ‘अहिले १२ मा पढिरहेकी छु । १२ को रिजल्ट नआउँदासम्म आईएलटीएस र पीटीईमध्ये एक गरेर अस्ट्रेलिया जाने योजना जाने हो ।’
उनी भन्छिन् ’सुरुमा ११ कक्षामा भर्ना गर्दा बिजनेस पढेर नेपालमा केही गर्छु भनेर खुशी भएकी थिएँ तर अब नेपालमा बसेर ४ वर्ष ब्याचलर गर्नु भन्दा बाहिर ४ वर्ष पढेर काम गर्दा पैसा पनि कमाइने र पढाइ पनि राम्रो हुने रहेछ ।’
त्रिभुवन विश्व विद्यालय मानविकी संकायको स्नातकोत्तरमा अध्ययनरत छात्रा अस्बिना गुरुङका अनुसार पहिलो प्राथमिकता आफ्नै देश हो । तर, कुनै क्षेत्रमा आशलाग्दो भविष्य देखिँदैन । उनी थप्छिन् ‘नेपालमा केही होला, गरौँला भन्दाभन्दै मास्टर्स पनि सकिन लागिसक्यो, जागिर त पाएकी छु , भात किन्यो तरकारी किन्न पुग्दैन, तरकारी किन्यो, भात किन्न पुग्दैन । दुबै किनौं, भाडा तिर्न समस्या । यस्तो अवस्थाबाट कसरी करियर बन्न सक्छ ?’
विश्व निकेतन पढ्ने सालीन अधिकारी भन्छन् ‘अहिले देशको राजनीति र देशको अर्थतन्त्रमा जुन हिसाबले गिरावट आइरहेको छ, त्यो हामी युवाका लागि निराशाजनक छ । यही अवस्थाका कारण हामी युवा देशमा बसेर केही गरौँ भन्दा भन्दै पनि परदेशिनु बाध्यता बन्दोरहेछ । अवसर पाउने भए आफ्नो थातथलो छोड्ने रहर कसलाई हुन्छ र ?’
‘युवासँग अहिले बिदेसिनु भन्दा अर्को उपाय छैन । घरमा बुढा भएका बाबु आमा र भाइबहिनीको जिम्मेवारीका कारण बाध्यतावश मैले पनि बाहिर जाने निर्णय गरेर कोरियन भाषाको तयारी गरिरहेको छु, उनले भने ।
देशको सक्षम जनशक्ति सबै विदेश पलायन हुँदा यहाँ काम गर्ने अर्थात् उत्पादनशील गतिशील क्षेत्रमा काम गर्ने जनशक्ति नै छैन । जसले गर्दा हामीले हरेक कुरा खाद्यान्नसम्म आयात गर्नुपर्ने भएको छ । फलस्वरुप देशमा महंगीले सीमाना नै नाघिसकेको कालिञ्चोक माध्यमिक विद्यालयककी छात्रा निरु बस्नेतले बताउँछिन् ।
पछिल्लो समय युवाहरू आफ्नो भविष्यका लागि अन्योलमा परेका छन् । आफ्नै देशमा रोजगारी र अवसर प्राप्त नहुँदा दैनिक बिदेसिनेको संख्या दिन प्रतिदिन बढिरहेको छ भने नेपालमै बसेर भर्खरै पढ्दै गरेका युवाले पनि भविष्यको चिन्ताले जीवनको गन्तव्य नै विदेश रहेछ भन्ने निष्कर्ष निकाल्न थालेका छन् ।
देशको बढ्दो महँङ्गी, असीमित आवश्यकता र अस्थिर राजनीतिक प्रणालीका कारण युवाहरू देशमा बस्नु नै सजाय जस्तै ठान्न थालेका छन् ।
नेपाल कृषिप्रधान देश हो, मेहनत गरे सुन फलाउन सकिन्छ भनेर धेरै भनिन्छ तर देशमा केही गरौँ भन्ने युवाको लागि बैंकिङ क्षेत्रदेखि लिएर हरेक खुड्किलोमा अवरोध बनेका छन् । कृषिमा युवा आकर्षित हुँदा समयमा मल बिउ नपाउने र उत्पादित सामग्रीमा पनि बिचौलियाको बिगबिगी रहँदा त्यहाँ पनि समस्या खेप्नु परेको छ ।
अहिले नेपालमा अभिभावकहरु पनि आफ्ना छोराछोरी बाहिर जाउन् भन्ने अपेक्षा गर्छन् । अभिभावकहरूलाई आफ्ना छोरा छोरीको विदेशको भिसा लाग्दा खुसीको सिमाना नै रहँदैन । मेरा छोराछोरी विदेश गएका छन्, पैसा पठाएका छन् भनेर सामाजिक सञ्जालदेखि समाजभर सुनाउनेको संख्या पनि कमी छैन नेपालमा । तर वास्तविक यथार्थ र विदेशको पीडा ऋण गरेर बाहिर गएका युवाहरूबाट सुन्न सकिन्छ ।
प्रतिक्रिया