बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक अभियान औपचारिक रूपमा सकियो ।
एक महिना २८ दिनसम्म सञ्चालन गरिएको अभियानमार्फत करिब ८० प्रतिशत सदस्यले ‘एनसी आईडी’ अर्थात् डिजिटल सदस्यता परिचयपत्र प्राप्त गरिसकेको संस्थापन पक्षको दाबी छ। तर, अभियान सकिए पनि निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइरालालगायत शीर्ष नेताहरू यो अभियानबाट बाहिर नै छन् । उनीहरूले डिजिटल्ली सदस्यता अद्यावधिक गरेका छैनन् ।
उता, संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा सहभागी हुन सदस्यता अद्यावधिक अनिवार्य हुने संस्थापनले निरन्तर भन्दै आएको छ । तर, गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधता प्राप्त गगनकुमार थापा नेतृत्वले असन्तुष्ट पक्षसँग अर्थपूर्ण संवाद वा प्रत्यक्ष वार्ताको पहल नगर्दा पार्टीमा दुई धार कायमै छ ।
यही परिस्थितिले संस्थापन पक्षले विशेष महाधिवेशन इतर समूहलाई क्रमशः किनारामा पार्ने रणनीति अख्तियार गरेको हो कि भन्ने प्रश्नलाई बल दिएको छ। के अब पार्टीमा जीवनको लामो समय बिताएका नेताहरूका लागि महाधिवेशनमा सहभागी हुने आधार नै बन्द भएको हो ? कुनै वैकल्पिक बाटो खुला गरिदैन यिनै प्रश्नबारे नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंहरू डिजिटल सदस्यता अद्यावधिकलाई कांग्रेसको आधुनिकीकरणको आधार भन्दै खुसी साटिरहनुभएको छ । पार्टीलाई यहाँसम्म ल्याउन भूमिका खेलेका धेरै नेता–कार्यकर्ता अहिले पनि पार्टीबाहिर देखिन्छन् । यस्तो अवस्थामा डिजिटल प्रणालीले मात्रै कांग्रेसलाई बलियो बनाउँछ कि एकता पनि उत्तिकै आवश्यक छ ?
भुइँ तहका कार्यकर्ताको राजनीतिक पृष्ठभूमि, योगदान र सक्रियतालाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै पार्टीभित्र समान अवसर, न्यायको अनुभूति र पारदर्शिता स्थापित गर्न डिजिटल प्रणाली महत्वपूर्ण साधन हो । राज्यका अधिकांश संरचना म्यानुअल प्रणालीबाट डिजिटल प्रणालीमा रूपान्तरण भइरहेका बेला पार्टी सञ्चालनको पद्धति पनि समयअनुकूल हुनुपर्छ भन्ने मान्यताका साथ सदस्यता अद्यावधिकलाई डिजिटल बनाइएको हो ।
यो विषयलाई राजनीतिक विवादको रूपमा भन्दा पनि संगठनको आधुनिकीकरणका रूपमा बुझ्न आवश्यक छ । कसले अद्यावधिक ग¥यो वा गरेन भन्नेभन्दा पनि यो सबैका लागि आवश्यक र उपयोगी प्रणाली हो भन्ने भावना विकास हुनुपर्छ । पार्टीभित्र राजनीतिक मतभेद, असहमति वा फरक धारणा हुन सक्छन्, तर संगठनलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने विषयमा साझा सहमति हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।
अद्यावधिक प्रक्रियामा केही साथीहरू राजनीतिक कारणले, केही प्राविधिक समस्याका कारण, केही विशेष वा नियमित महाधिवेशनको असहमतिका कारण छुट्नुभएको हुन सक्छ । तर अन्ततः यो प्रणाली सबै कार्यकर्ता र पार्टीको दीर्घकालीन हितका लागि भएकाले सबैले अपनाउनु आवश्यक छ । उहाँहरुको असन्तुष्टिमा पार्टीले जे निर्णय गर्छ त्यो सबैका लागि मान्य हुन्छ अहिले अन्य कुरा मेरो एकल विचारले यसो हुन्छ भन्न मिल्दैन् ।
असहमत पक्षका लागि विशेष व्यवस्था हुन्छ ?
समान लक्ष्यका समान यात्री भएका कारण पार्टीमा नेतादेखि कार्यकर्तासम्म सबैका लागि समान विधि निर्माण गरिएको हुन्छ । पदले मात्रै जिम्मेवारीको अन्तर गरेको हुन्छ । पार्टीको सबै सदस्यले एउटै पद्धति र प्रकृयाबाट हामीले भाग लिनुपर्ने हुन्छ । त्यसमा विशेषाधिकार र अवस्था कसैका लागि हुँदैन ।
यो पाटो सबैले विचार गर्नुपर्ने हो । अब यसमा कतिपय नेताहरुले गर्नुभएको छैन भन्ने सुनिन्छ । त्यसका बारेमा के गर्ने भन्नेबारे तत्कालै केही भन्न मिल्दैन । पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ र त्यो निर्णय सबैले मान्नुपर्छ ।
पार्टीको सुधारमा हठ र अडान राखेर अवरुद्ध पार्नु कुनै जरुरी थिएन । राजनैतिक विषयका समाधानका विधि र तौरतरिका अर्कै हुन्छन् । विधानले निर्दिष्ट गरेको संरचनाभित्र पार्टीको अधिवेशनलाई सुनिश्चित गर्ने र निष्पक्षता प्रत्याभूति गराउने प्रकृयामा हामी कुनै कसर बाँकी राख्दैनौं । त्यसभित्र सबैलाई समावेश गर्नेकुरा अन्यथा होइन तर, यहीँ विषयलाई लिएर पार्टीको आगामी गतिविधि अवरुद्ध हुन्छ भन्ने हुँदैन ।
२०७९ र २०८१ फागुन २१ को निर्वाचनमा पार्टीले प्राप्त गरेको मत परिणाममा फराकिलो अन्तर देखिए पनि यहाँहरुले सार्वजनिक गरेको तथ्यांक हेर्दा क्रियाशील सदस्यता अद्यावधिकमा त्यस्तो भिन्नता देखिँदैन, किन ?
कतिपय ठाउँ र साथीहरुले यसपटक पार्टी हैन, मत परिवर्तन गरेको देखिएको थियो । हाम्रा केही कमिकमजोरीसँगै निरासाका विषय र पार्टी परिवर्तनको सन्देश समयमै तल्लो तहसम्म पुर्याउदै कांग्रेसमा विश्वास जागृत गर्न नसक्दा त्यो परिस्थती निर्माण भयो होला । ती कमजोरीलाई सुधार्दै पार्टीलाई फेरि लयमा फर्काउन कार्यकर्तालाई भरोसा दिलाउँदै उनीहरुको आत्मबल विकास गर्नु हाम्रो कर्तव्य हो ।
पछिल्लो समय पार्टीले अख्तियार गरेको नीति कार्यक्रमले पार्टीप्रति विश्वास जागृत भएको हुनुपर्छ । अदृश्य रुपमा मत परिवर्तन गरेका साथीहरुमा फेरि पार्टीप्रति भरोसा फर्केको हामीले बुझ्नुपर्ने हुन्छ । यही भरोसालाई पूँजीकृत गर्दै हामी शक्तिशाली पार्टी निर्माण गरेर आगामी निर्वाचनमा सुदृढ कांग्रेस, जनताले खोजेको जस्तो कांग्रेस बनाएर हामी फकिन्छौँ ।
वैकल्पिक शक्तिबाट बनेको बहुमतको सरकारको कार्यशैलीबाट विस्तारै मतदाता आफ्नै पार्टीमा फर्केको भनेर बुझ्न सकिन्छ ?
वास्तवमा यस पटकको चुनाव प्रतिक्रियात्मक थियो । यसको न दर्शन, न विचार, न भरोसा, न पुग्ने गन्तव्य छ । यसले तत्कालका लागि मत संग्रह गर्दै त्यसकै परिणाममा सरकार बन्यो । तर यसको लक्षण के देखिएको छ भने यसले प्रारम्भमा नै आफ्नो पहिचान, जनताको भरोसा गुमाएको देखिदै गएको छ ।
पाँचै वर्ष सरकार चलोस् भन्ने हाम्रो शुभकामना हो । तर, सरकारको शैली र गन्तव्यहिनताले सरकार अनिश्चिततको भुमरीमा फस्दै गएको देखिएको छ । लोकतन्त्रप्रति कटिवद्धताको कमी, शासन सञ्चालनको अनुभवको कमी अन्य धेरै कारणले गर्दा सरकारले आफ्नो पतनको मार्ग आफै रोज्दै गएको हामी देख्छौँ । यसबीच हामी कार्यकर्ता र जनताबीच गएर उनीहरुलाई जोड्छौँ ।
पाँच वर्षपछि हामी फर्कन्छौँ । सरकारको आफ्नै काम कारबाहीले आफैँ आलोचित हुँदै गएको छ । जनविश्वास पनि आफैँले गुमाउँदै गएको छ ।












प्रतिक्रिया