विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

आज मंसिर १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

फिलिपिन्समा सरकार र कम्युनिस्ट विद्रोही शान्ति वार्ता गर्न सहमत

फिलिपिन्स सरकार र कम्युनिस्ट विद्रोहीहरू शान्ति वार्ता गर्न सहमत भएका छन् । सरकार र विद्रोहीहरु दशकौँ पुरानो द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएका हुन् ।

“सशस्त्र द्वन्द्वको सैद्धान्तिक तथा शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका छन्”, नोभेम्बर २३ मा नर्वेको राजधानी ओस्लोमा हस्ताक्षरित दुवै पक्षद्वारा संयुक्त विज्ञप्तिमा भनिएको छ, “दुवै पक्ष गहिरो जरा गाडेको सामाजिक–आर्थिक र राजनीतिक गुनासोहरू स्वीकार गर्छन र शान्ति वार्ताका लागि प्राथमिकता निर्धारण गर्ने रूपरेखाका साथ आउन सहमत भएका छन् ।”

फिलिपिन्समा धनी–गरिब विभाजनका कारण सन् १९६९ मा सुरु भएको सशस्त्र द्वन्द्व विश्वव्यापी कम्युनिस्ट आन्दोलनबाट विकसित भएको हो । सन् १९८० को दशकमा आफ्नो चरम अवस्थामा कम्युनिस्ट समूहमा करिब २६ हजार लडाकु थिए ।

सेनाका अनुसार अब यो सङ्ख्या घटेर केही हजार मात्र भएको छ । सन् १९८६ देखि फिलिपिन्स प्रशासनले उसको नेदरल्यान्ड्सस्थित राजनीतिक शाखा एनडिएफको माध्यमबाट कम्युनिस्टहरूसँग लगातार शान्ति वार्ता गर्दै आएको छ । स्वघोषित समाजवादी पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेको सन् २०१६ को निर्वाचनले शान्ति वार्ताका लागि आशावादीको सन्देश लिएर आएको बताइएको छ ।

यद्यपि वार्तापछि धम्की र आरोप–प्रत्यारोपमा परिणत भयो । वार्ता भइरहेको बेला डुटर्टेले आधिकारिक रूपमा सन् २०१७ मा समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गरे र उनीहरूमाथि प्रहरी तथा सैनिकको हत्या गरेको आरोप लगाएर वार्ता भङ्ग गरेका थिए । हालैका वर्षहरूमा सयौँ कम्युनिस्ट विद्रोहीले वित्तीय सहयोग र जीविकोपार्जनका अवसरहरूको बदलामा आत्मसमर्पण गरेको सरकारले दाबी गरेको छ ।

फिलिपिन्सका केही भागमा अहिले पनि घातक झडपहरू भइरहन्छन् । यो मुलुकको दक्षिणी क्षेत्र फिरौतीका लागि अपहरण गर्ने समूह र इस्लामिक पृथकतावादी आन्दोलनबाट पनि ग्रस्त छ ।

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको लिफ्ट खस्दा ११ जनाको मृत्यु भएको छ । उक्त लिफ्ट नियन्त्रण बाहिर गएर खसेको र घटनामा अरु ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् । इम्पाला प्लाटिनमले सोमबार जोहानेसबर्गको उत्तरपश्चिममा रस्टेनबर्ग खानीमा ‘विनाशकारी दुर्घटना’ भएको बताएको छ ।

त्यतिबेला ८० भन्दा बढी मजदुरले आफ्नो सिफ्टको अन्त्यमा मार्ग बनाउँदै थिए । कम्पनीका अनुसार स्थानीय समयअनुसार लिफ्ट अप्रत्याशितरूपमा तल ओर्लन लागेपछि साँझ ५ बज्नुभन्दा पहिला चेतावनी जारी गरिएको थियो । “कन्भेन्स काउन्टरवेटको ज्याक क्याचमा फसेका कारण लिफ्टको द्रुत अवतरण रोकियो”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ज्याक क्याच एउटा सुरक्षा प्रणाली हो जसको उद्देश्य दुर्घटनाको स्थितिमा लिफ्ट र भूमिगत रेलहरूलाई पछाडि जानबाट रोक्नु हो । “यो विनाशकारी दुर्घटनामा जीवन गुमाउने र प्रभावित व्यक्तिहरूका लागि हाम्रो हृदय भारी भएको छ”, इम्पाला प्लाटिनम (इम्प्लाट्स) का प्रमुख कार्यकारी निको मुलरले भने, “हामी आफ्ना सहकर्मीहरू गुमाउँदा स्तब्ध भएका छौँ र निकटका सबै आफन्तसँग सम्पर्क गर्न सकियोस् भनी सुनिश्चित गर्ने प्रक्रियामा छौँ ।”

कम्पनीले ७५ मजदुर घाइते भएको र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको बताएको छ । इम्प्लाट्सका प्रवक्ता जोहान थेरोनले केही मजदुर गम्भीर घाइते भएको बताए । उनका अनुसार अधिकांशको घुँडा र खुट्टा भाँच्चिएको तथा अन्यलाई सामान्य चोट लागेको छ । उद्धार कार्य सकिएको र सबै ८६ मजदुरको अवस्था पत्ता लागेको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनाको अनुसन्धान सुरु भएका कारण मङ्गलबार खानीमा सबै काम रोकिएको छ । “इम्प्लाट्स सेवामा हराएकाहरूको परिवार र सहकर्मीहरूलाई निरन्तर सहयोग गरिँदैछ”, मुलरले भन, “हामी अविश्वसनीय रूपमा कठिन समयमा आफ्ना घाइते सहयोगीहरूका बारेमा पनि ध्यान दिनेछौँ ।” दक्षिण अफ्रिका प्लाटिनमको विश्वको अग्रणी उत्पादक मुलुक हो ।

यो मुलुकमा खानी दुर्घटनाहरू सामान्य मानिन्छ । यहाँ हजारौँ मानिस खानी उद्योगमा काम गर्छन् । दक्षिण अफ्रिकामा सबैभन्दा गहिरा खानीहरू छन् र यो सुन, हिरा, कोइला र अन्य कच्चा सामग्रीको प्रमुख निर्यातक हो । धेरै गहिरा खानीमा लिफ्ट छन् र यिनले एकै समयमा एक सयभन्दा बढी मानिसलाई लैजान सक्छन् ।

प्रत्येक वर्ष दर्जनौँ खानी मजदुर मारिन्छन् तर पछिल्लो दुई दशकमा सुरक्षा मापदण्ड बढाइएकाले मर्नेहरूको सङ्ख्यामा कमी आइरहेको छ । सरकारी आँकडाअनुसार सन् २०२२ मा खानी दुर्घटनामा करिब ५० जनाको मृत्यु भएको थियो ।

हमासले रिहा गरेका बन्दीलाई स्वदेश फर्काउन थाई विदेशमन्त्री इजरायलमा

थाइल्याण्डका विदेशमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् ।

उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् ।

इजरायलमा रहँदा उनले अक्टोबर ७ मा हमासको आक्रमणमा घाइते भएका तीन जना थाई नागरिकलाई पनि भेट्ने छन् । उनले इजरायलमा कार्यरत अन्य थाई कामदारसँग पनि भेट गर्नेछन् ।

उनी १७ जना बन्धकहरूसहित बिहीबार स्वदेश फर्किने जनाइएको छ ।

थाई अधिकारीहरूले पहिले उपलब्ध गराएको संख्या अनुसार १५ थाई नागरिक अझै पनि हमासको नियन्त्रणमा छन् ।

चीनले विदेशी कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्ने चिनियाँ राष्ट्रपति सीको भनाइ

चीनका राष्ट्रपति सी जिन्पिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।

बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो ।

भू–राजनीति, जासुसी विरोधी कानुन, बहुराष्ट्रिय कम्पनीहरूमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिलाभन्दा धेरै नै कठिन भएको बताएका छन् ।

अब बेइजिङले विदेशी कम्पनीहरूलाई फिर्ता लाउने कोसिस गरिरहेको छ । यसै महिना एपीईसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको वाचा गरे ।

साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्यूरोको सोमबारको बैठकमा उहाँले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानुनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताएको सरकारी प्रसारक सीसीटीभीले बताएको छ ।

“चीनको कानुनी प्रणालीले बौद्धिक सम्पत्ति अधिकारहरूको सुरक्षालाई बलियो बनाउनुपर्छ, साथै विदेशी उद्यमहरूको वैध अधिकार र हितको रक्षा गर्नुपर्छ”, उनले भने, “बेइजिङले बजार उन्मुख, कानूनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण सिर्जना गर्नुपर्छ ।”

जलवायु परिवर्तनले जीडीपी घटाएको छ– प्रतिवेदन

जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ ।

डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसङ्ख्याको आधारमा मूल्याङ्कन गर्दा मानव–जनित जलवायु परिवर्तनको असरले गत वर्ष विश्वव्यापी आर्थिक उत्पादन छ दशमलव तीन प्रतिशतले घटेको अनुमान गरेको छ ।

उक्त आँकडाले कृषि र उत्पादनमा अवरोध र उच्च गर्मीबाट उत्पादकत्वमा कमीका साथै विश्वव्यापी व्यापार र लगानीमाथिको प्रभावजस्ता जलवायु परिवर्तनका दुवै प्रत्यक्ष परिणामहरूलाई प्रतिबिम्बित गर्दछ ।

“जलवायु परिवर्तनका कारण विश्व खर्बौं डलरले गरिब भएको छ र यसको अधिकांंश भार गरिब मुलुकहरूमाथि परेको छ”, डेलावेयर विश्वविद्यालयका मुख्य लेखक जेम्स राइजिङले भने, “यो जानकारीले धेरै मुलुकले सामना गरिरहेका चुनौती र तिनीहरूलाई सम्बोधन गर्न उनीहरूलाई तत्काल आवश्यक पर्ने सहयोगलाई स्पष्ट पार्न सक्छ भन्ने मलाई आशा छ ।”

औसत व्यक्तिले सामना गर्ने प्रभावहरूलाई ध्यानमा नराखी गणना गर्दा सन् २०२२ मा विश्वव्यापी कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को घाटा कूल गार्हस्थ्य उत्पादनको एक दशमलव आठ प्रतिशत अर्थात करिब १५ खर्ब अमेरिकी डलर थियो ।

“ती दुई सङ्ख्याबीचको भिन्नताले कम आम्दानी भएका मुलुक र अत्यधिक गर्मी हुने क्षेत्रहरूमा केन्द्रित प्रभावहरूको असमान वितरणलाई प्रतिबिम्बित गर्दछ, यी मुलुकमा सामान्यतया उच्च जनसङ्ख्या र कम जीडीपी छन्”, लेखकहरूले एक विज्ञप्तिमा भनेका छन् ।

अतिकम विकसित मुलुकहरूमा जनसङ्ख्या–भारित जीडीपीमा आठ दशमलव तीन प्रतिशतको नोक्सान भएको छ । यसबाट दक्षिणपूर्वी एसिया र दक्षिण अफ्रिकी मुलुकहरू विशेष रूपमा प्रभावित भएका छन् । यिनीहरूको जीडीपीमा क्रमशः १४ दशमलल एक प्रतिशत र ११ दशमलव दुई प्रतिशतले नोक्सान भएको छ ।

अर्कोतर्फ केही विकसित मुलुकहरूले फाइदा लिएका छन् । कम जाडोका कारण युरोपमा गत वर्ष जिडिपीमा करिब पाँच प्रतिशतको शुद्ध लाभ देखिएको थियो । यद्यपि तातो गृष्मकालले हल्का जाडोसँग सन्तुलन गर्ने भएकाले यस्तै प्रकारको लाभ ‘समाप्त हुने दिशातर्फ अग्रसर’ हुने भन्दै प्रतिवेदनमा चेतावनी दिइएको छ ।

गत वर्ष इजिप्टमा कोप२७ शिखर सम्मेलनमा कमजोर मुलुकहरूलाई जलवायु प्रकोप र चरम मौसमबाट हुने ‘नोक्सान र क्षति’सँग सामना गर्न सहयोग गर्नका लागि एउटा समर्पित कोष स्थापना गर्न सहभागी मुलुकहरू सहमत भएका थिए ।

केही विवरणमा हालै सहमति भए पनि कोष र विशेष रूपमा यसमा कसले योगदान गर्ने र कति गर्ने भन्नेबारे बिहीबारदेखि सुरु हुने यो वर्षको कोप२८ शिखर सम्मेलनमा छलफलको एउटा प्रमुख विन्दु हुनेछ ।

प्रतिवेदनअनुसार पछिल्लो ३० वर्षमा न्यून र मध्यम आम्दानी भएका मुलुकहरूको पूँजी र जीडीपीमा संयुक्त रूपमा २१ खर्ब डलरको नोक्सान भएको छ । यो विकासोन्मुख विश्वको कूल २०२३ जीडीपीको करिब आधा हो । विश्लेषणमा गैर–बजार घाटा र प्रभावहरूको गणना नगरिएको भन्दै लेखकहरूले नोक्सान ‘परम्परागत अनुमान’ भएको बताएका छन् ।

अस्ट्रेलियाले डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेप अर्थात् विद्युतीय चुरोटको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भेपिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताए ।

अस्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म सुरु मिति बताएको थिएन । लामो समयसम्म धूम्रपान गर्नेहरूलाई धूम्रपान छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताए ।

“यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन तर यो त्यही बन्यो”, उनले भने, “अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुर्व्यसनी बन्दैछन् ।”

चौध देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ । विज्ञप्तिमा ‘तर्कसङ्गत प्रमाण’ लाई उद्धृत गर्दै भेप प्रयोग गर्ने युवा अस्ट्रेलियालीहरूमा धूम्रपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ ।

सरकारले अस्ट्रेलियामा डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानूनी घोषणा गर्नका लागि सन् २०२४ मा कानून पनि ल्याइने बताएको छ । भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ ।

“अस्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ”, एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भने ।

इजरायल–गाजा युद्धविराम दुई दिन लम्बियो, हालसम्म ६९ बन्दी मुक्त, विपिनको पालो कहिले आउँछ ?

कतारको मध्यस्थतामा इजरायल र हमासबीचको युद्धविराम दुई दिनका लागि लम्बिएको छ ।

सफलतापूर्वक एक सम्झौता वार्तापछि दोहाको विदेश मन्त्रालयका प्रवक्ताले दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्बाउने सहमति भएको जानकारी दिए ।

इजरायल–गाजा सहमतिअनुसार गाजाले आज र भोलि कम्तिमा १०–१० जना बन्दीलाई मुक्त गर्नेछ भने इजरायलले कम्तिमा ३०–३० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ ।

युद्धविराम विस्तारको तत्काल इजरायली पुष्टि नभएपनि हमासले एक विज्ञप्ति जारी गरी यसको पुष्टि गर्दै कतार र इजिप्टको मध्यस्थता प्रयासलाई जिम्मेवार ठहराएको छ।

सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । जसमा युद्धविराम पछिको पहिलो दिन गत शुक्रबार हमासले २४, शनिबार १७, आइतबार १७ र सोमबार ११ गरि ६९ जनालाई रिहा गरेको छ ।

यस्तैऽ इजरायलले चार दिनमा १५० जना प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । दुवैतर्फबाट छाडिएकामा सबैभन्दा बढी महिला र बालबालिका छन् ।

गत अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि एक्कासि आक्रमण गरेको थियो । सो आक्रमणपछि हमास समूहले विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपहरणपछि बन्धक बनाएको थियो । जसमा नेपालका विपिन जोशी पनि रहेका छन् ।

चार दिनको युद्धविराममा विपिन छुट्ने आशा गरिएको भए पनि उनको अवस्था अझै अज्ञात रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ५७ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष