‘टाइगर कप’ भलिबलमा चम्केका रवि केसी | Khabarhub Khabarhub

‘टाइगर कप’ भलिबलमा चम्केका रवि केसी


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा राष्ट्रिय टिमबाट खेलेका थिए ।

पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले २५ हजार रुपैयाँ र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् ।

“खुसी छु, मेहनतको फल पाएँ, यसले भलिबलमा अझ राम्रो गर्न प्रेरित गरेको छ”, २२ वर्षीय रविले भने, “दर्शकबाट पाएको माया र हौसलाले पनि उत्साहित छु ।”

गण्डकीका टिम प्रशिक्षक रमेश केसीले प्रतियोगिताभर रविले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले स्पाइक गर्न सक्छन्, उनको एडभान्टेज भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो ।”

“भलिबल टिम वर्क हो, खेल जिताउन सबै खेलाडीको उत्तिकै भूमिका हुन्छ र पनि यसपालि नतिजा निकाल्न रविले उत्कृष्ट योगदान गरे”, प्रशिक्षक केसीले सुनाए । प्रतियोगिताको अनुभव कम भए पनि रवि प्रतिभावान खेलाडीका रूपमा नेपाली भलिबलमा उदाएको उनको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’ बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । ओपन स्पाइकर रविले पछिल्लो नवौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकी प्रदेशबाट खेलेका थिए । चौध–पन्ध्र वर्षको उमेरदेखि भलिबल खेल्न सुरु गरेका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छैनन् ।

प्रतियोगिताअघि हुने अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर नपाएको रविले बताए । उनी अहिलेसम्म कुनै क्लबमा पनि आबद्ध छैनन् । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने रवि बताउँछन् ।

खेल कौशलसँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । उक्त प्रतियोगितामा महिलातर्फको खेलमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेकी थिइन् । उनले पनि नगद २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ शनिबार भएको फाइनल खेलमा ३–२ सेटले साविक विजेता एपिएफलाई हराउँदै गण्डकी च्याम्पियन बनेको थियो । उपाधिसँगै गण्डकीले पाँच लाख रुपैयाँ हात पारेको छ ।

गण्डकी पहिलो संस्करणको टाइगर कपमा पनि च्याम्पियन बन्न सफल भएको थियो । सात दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फको उपाधि भने एपिएफले हात पार्‍यो । त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको थियो । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबले सहभागिता जनाएको थियो ।

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश सहभागी थियो । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : १० बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले