काठमाडौँ – मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा संकलित रकम म्याक्रोटेक कम्पनीमार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको प्रकरणसँग सम्बन्धित सक्कल फाइल फेला परेको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको पहलमा मंसिर २ गतेको मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलले उक्त सक्कल फाइल फेला पारेको हो। उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा गठित कार्यदललाई रकम पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी दिइएको थियो।
मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख तथा कागजातको सूक्ष्म अध्ययन र खोजबिनपछि कार्यदलले तोकिएको समयसीमा अगावै सक्कल फाइल फेला पारी हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ।
फेला परेको उक्त सक्कल फाइल थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको छ।














प्रतिक्रिया