आज जेठ १५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे २९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
फिलिपिन्सको सैनिक कारबाहीमा चार जना विद्रोही मारिए
फिलिपिन्सको सेनाले विद्रोही समूह न्यू पिपस आर्मी (एनपीए) विरुद्ध गरेको कारबाहीमा चार जना विद्रोही मारिएका छन् ।
मध्य फिलिपिन्समा आइतबार गरिएको उक्त कारबाहीमा चार जना सन्दिग्ध विद्रोही मारिएका एक जना सैनिक प्रवक्ताले सोमबार बताएका छन् ।
सेनाका क्याप्टेन जेफरसन मारियानोले उत्तरी समर प्रान्तमा एनपीए विद्रोहीसँग भएको झडपमा ती विद्रोही मारिएका तथा उनीहरूबाट हातहतियार र गोलाबारुद बरामद गरिएको बताएका छन् ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू सरकारसँग लड्दै आएका छन् । उनीहरूले ग्रामीण क्षेत्रमा आफ्ना आक्रमण केन्द्रित गर्दै आएका छन् । सोही क्रममा सेनासँग झडप हुने गरेको छ । सेनाको एक तथ्याङ्कअनुसार एनपीएमा दुई हजार सदस्य छन् ।
पुटिनलाई भेटपछि बेलारुसका राष्ट्रपति लुकासेन्को अस्पताल भर्ना, अवस्था गम्भीर
बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ । बेलारूसी विपक्षी नेतालाई उद्धृत गर्दै न्युजवीकले उक्त सामचार उल्लेख गरेको छ ।
उता सन् २०२० का राष्ट्रपति पदका उम्मेदवार भ्यालेरी त्सेप्कालोले लुकासेन्कोको अवस्था गम्भीर रहेको दाबी गर्दै मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालमा लगिएको कुरा आफ्नो टोलीले प्राप्त गरेको बताए पनि त्यसको थप पुष्टि नभएको बताएको अमेरिकी साप्ताहिक समाचार पत्रिका न्युजवीकले जनाएको छ ।
‘हामीसँग भएको जानकारी अनुसार त्यसलाई थप पुष्टि गर्न आवश्यक छ भन्दै लुकाशेन्कोलाई पुटिनसँगको गोप्य बैठकपछि तुरुन्तै मस्कोको केन्द्रीय क्लिनिकल अस्पतालमा लगिएको छ,’ त्सेपकालोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् ।
अमेरिकाको टेक्सासमा रहेको स्ट्रिप क्लबमा गोलीकाण्ड : बन्दुकधारीको मृत्यु, तीन घाइते
अमेरिकाको दक्षिणी राज्य टेक्सासको ट्यारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् ।
घटनामा गोली चलाउने बन्दुकधारीको भने मृत्यु भएको छ । ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
सो घटनामा परी तीन जना घाइते भएका थिए ।
फक्स न्युजको रिपोर्ट अनुसार सशस्त्र सुरक्षाबलले गोली हानेका व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । तीन घाइते अस्पतालमा उपचाररत छन् ।
चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
चीनको शेन्झाउ–१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान भू उपग्रह प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ । योसँगै यान प्रक्षेपणका लागि तयार रहेको छ ।
जहाज र यसको क्यारियर रकेट र प्रक्षेपण केन्द्रमा सबै प्रणाली र तयारी प्रक्षेपणका लागि तयार रहेको प्रक्षेपण केन्द्रले जनाएको छ ।
प्रक्षेपण केन्द्रमा स्थानान्तरण गरिएका अन्तरिक्ष यान र लङ मार्च२ एफ क्यारियर रकेटको संयोजनबाट रकेट र अन्तरिक्ष यानको विभिन्न निरीक्षण र प्रिलन्च पूर्वाभ्यासहरू सञ्चालन गरिएको प्रक्षेपण केन्द्रका वरिष्ठ इन्जिनियर हे पेङ्जुले बताएका छन् ।
बालुवा र वर्षाको पानी रकेटमा पस्न नदिन प्रक्षेपण टावरमा सिल गर्ने सुविधा समेत रहेको उनले बताए । यो गोबी मरुभूमिको बलौटे वातावरण अनुरूप तयार पारिएको छ । प्रक्षेपण केन्द्र यही गोबी मरुभूमिमा अवस्थित छ ।
पुनः निर्वाचित एर्दोगानलाई अमेरिकी राष्ट्रपति बाइडेनको बधाई
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।
बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् ।
बाइडेनले ट्वीटमा लेखेका छन् , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुन: निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमासँगै काम गर्न चाहान्छु ।’
आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो।
त्यसै गरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन्।
ब्लिन्केनले ट्वीट गर्दे लेखेका छन्- ‘राष्ट्रपति एर्दोगानलाई पुन: निर्वाचित भएकामा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ । टर्किए एक मूल्यवान् नेटो सहयोगी र साझेदार हो । म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु।’
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् ।
एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२.१४ प्रतिशत प्राप्त गरेको देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्याङ्कलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।
यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएपछि समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्न राष्ट्रपति भवन पुगेका छन् ।
एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ
जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ ।
नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीले जनाएको छ ।
जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो । तर उनीहरू टसकोमस नभएपछि पक्राउ गरिएको थियो ।
धेरै डच सेलिब्रेटी प्रदर्शनीमा सामेल भएका र उनीहरू पक्राउ परेका कैरिस भ्यान हौटेन, हिट टिभी शृङ्खला गेम अफ थ्रोन्समा मेलिसान्ड्रेको भूमिकाका लागि परिचित, अल जजीराको समाचारमा जनाइएको छ । ती सेलिब्रेटीमध्ये केहीलाई हिरासतमुक्त गरिएको थियो । कारबाहीमा परेका सेलीब्रेटीबारे केही विवरण दिइएको छैन ।
उक्त समूहको अगुवाईमा यसअघि पनि यस्ता विरोध प्रदर्शन हुने गरेका थिए तर यति धेरै सङ्ख्यामा अभियन्ताहरू पक्राउ परेका थिएनन् । वातावरणीय अभियान समूहले हालैका वर्षहरूमा सडकमा अवरोध खडा गरेर मिडियाको ध्यान आकर्षित गरेको छ । गत महिना लण्डनमा पनि यस्तै प्रदर्शन भएको थियो ।
अफगानिस्तानमा पठाएका सहायताको दुरुपयोग भयो : अमेरिकी प्रतिनिधि
अफगानिस्तानमा पठाइएको अमेरिकी सहायताको तालिबानबाट दुरुपयोग गरिरहेको भन्दै अमेरिकाका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएडलाई लेखेको पत्रमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभको विदेश नीति समितिका अध्यक्ष माइकल मकौलले चिन्ता व्यक्त गरेका हुन् ।
पत्रमा उनले युएसएडजस्ता अमेरिकी संस्थाले पठाएका मानवीय सहायताको दुरुपयोग भइरहेको बताउँदै आम अफगान जनतामाझ ती सहायता पुग्न नसकेको उल्लेख गरेका छन् ।
हाउस अफ रिप्रजेन्टेटिभका अन्य केही सदस्यले समेत हस्ताक्षर गरेको उक्त पत्रमा अफगानिस्तानमा मानवीय संकट रहेको सत्य भएको र तालिबानलाई भन्दा अफगान जनतालाई पुग्नेगरी सहायता उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
यता तालिबान प्रशासनले भने सहायताको दुरुपयोग भइरहेको आरोपको खण्डन गरेको छ । तालिबान प्रशासनअन्तर्गतको अफगान अर्थ मन्त्रालयका उपमन्त्री अब्दुल लतिफ नजारीले आफूले प्राप्त गरेका सहायतालाई पारदर्शी रुपमा वितरण गर्दै आएको स्पष्ट पारेको छ ।
मोदीको नौ वर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन्।
“यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,” प्रधानमन्त्री मोदीले भने ।
करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।
“नयाँ संसद भवन मात्र होइन यो भारतका एक अर्ब ४० करोड जनताको आकाङ्क्षाको प्रतीक हो । यसले विश्वलाई भारतको दृढ सङ्कल्पको सन्देश दिन्छ । ‘अमृत काल’ ले राष्ट्रलाई नयाँ दिशा दिनेछ । नयाँ संसद् भवन नयाँ भारतको दृष्टिकोण र सङ्कल्पको ज्वलन्त उदाहरण बन्नेछ,” आफ्नो कार्यकाललाई अमृत कालको संज्ञा दिँदै प्रधानमन्त्री मोदीले भने– केही वर्षको विदेशी शासनले हामीबाट हाम्रो गौरव खोस्यो। तर आज भारतले त्यो औपनिवेशिक मानसिकतालाई पछाडि छोडेको छ । भारत लोकतन्त्रको जननी हो । यो विश्वव्यापी लोकतन्त्रको जग पनि हो । लोकतन्त्र हाम्रो संस्कार, आदर्श र परम्परा हो ।
प्रधानमन्त्रीले पञ्चायत भवनदेखि संसद् भवनसम्मको प्रेरणा एउटै भएको उल्लेख गर्दैै नयाँ संसद्मा बस्दा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण, ४ लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेकोमा मलाई निकै सन्तुष्टि मिलेको बताए ।
प्रतिक्रिया