ठूलठूला राजनीतिक परिवर्तन भए पनि देश बन्न नसकेको आक्रोश आम नागरिकमा छ। दलप्रति कार्यकर्ता र नागरिकको आक्रोश बढ्दै गएको छ। नेपालका राजनीतिक दलमध्ये एमालेको संगठनात्मक संरचना बलियो देखिन्छ। एमालेसँग देश बनाउने योजना के छन् ? सुदूरपश्चिम प्रदेशमा एमालेको पकड कस्तो छ ? नयाँ रणनीतिका लागि एमालेले के गरिरहेको छ ? लगायतका विषयमा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :
कुराकानीको सुरुवात प्रदेश अधिवेशनको माहौलबाट गरौँ। प्रदेश अधिवेशन कसरी सम्पन्न भयो ?
हाम्रो पार्टीले सात वटा प्रदेशहरूको सबै अधिवेशन सम्पन्न गरेको छ। प्रदेश विशेष कमिटी भन्ने छ। त्यसको पनि अधिवेशन गर्यौं। ती सबैमा काठमाडौं विशेष प्रदेश र सम्पूर्ण प्रदेश पदमा निर्विरोध सर्वसम्मत नेतृत्व चयन भयो। सुदूरपश्चिम र मधेस प्रदेशमा पनि पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भयो।
लुम्बिनीबाट सुरु भएको प्रदेश अधिवेशनमा केन्द्रीय नेतृत्वको आकर्षण देखियो। पोलिटब्युरो सदस्य सरह भएकोले धेरैको चासो बढ्यो र यसले प्रतिस्पर्धा भयो। सुदूरपश्चिममा त्यो भएन। केन्द्रीय सदस्य कसैले पनि धेरै चासो लिएर लड्ने प्रतिस्पर्धा गर्नुभएन। सर्वसहमत नेतृत्व चयन भयो। दिन बढ्यो तर उत्साहका साथ सम्पन्न भयो।
यो प्रदेश अधिवेशनले गुट अन्त्य गर्ला भन्ने थियो। तर दोस्रो धार पनि जन्माएको हो कि भन्ने प्रश्न उठ्यो नि ?
कम्युनिस्ट पार्टीमा विचारमाथि छलफल भइरहन्छ। नेपालको कम्युनिस्ट आन्दोलनबारे सबैलाई थाहा नै छ। स्थापना कालदेखि र पछि दरबारले त्यसमा खेल्न खोजेपछि डा.केशरजंग रायमाझीहरूले दरबारकै चाकडी गरेर त्यहाँ बसे। कयौँ मान्छेहरूले टुटफुट भोग्नु परेको छ। अहिले पनि पार्टी भित्र केही विचारहरू नेतृत्वको हुँदा ठिक होला वैचारिक हिसाबको नेतृत्व को हो र कसले राम्ररी नेतृत्व गर्न सक्ला र अहिले भएका कमजोरी के के हुन् ? त्यसमा पनि विचार र बहस हुन्छ।
एमाले भित्रको राजनीति सबैलाई थाहा छ। गुटको अन्त्य होला भन्ने अपेक्षा राख्दा राख्दै त्यसको बाछिटा पनि लाग्यो। अब एमालेको राजनीति कसरी अगाडि बढ्छ ?
हाम्रो पार्टीका जननेता मदन भण्डारीले कार्यकर्तालाई बहुदलीय प्रतिस्पर्धामा भाग लिनुपर्छ भन्नुभयो। पुँजीवादीहरुले मात्र हैन हामीले यसलाई उपयोग गर्नुपर्छ भन्ने उहाँको विचार थियो। जनता जहाँ छन् त्यहाँ जाँउ भनेर माओले भनेको कुरा पनि हामीले पढेका छौं।
एमाले संगठनात्मक ढंगले बलियो पार्टी हो। पछिल्लो समयमा हाम्रा केही बानी परिस्थितिहरू र जनताको घर दैलोमा जाँदा उनीहरूकै घरमा रमाउने उनीहरूकै विषयमा दुःख पीडामा सामेल हुने विभिन्न जनसङ्गठनहरू छन्। किसान, विद्यार्थी, युवा र मजदुरका मुद्दाहरूलाई उठाइरहेको छ।
सरकारमा हुँदा र सरकारबाट बाहिर हुँदा ती जनसंगठनहरुले सरकारलाई दबाब दिने मुलुकलाई सुधार्ने युवा पलायन बढिरहेको छ। यसलाई रोक्ने योजना अब राजनीतिक पार्टीमा आवश्यक छ।
एमाले भित्र ठुला नेताको पछि लागियो भने पद पाइन्छ पनि भनिँदो रहेछ। अछाममा स्थापित नेता कतै ओझेलमा परेको जस्तो देखियो।
पछिल्लो समय एमाले अध्यक्षको साथ रह्यो र त्यही कारणले पनि अहिलेको अधिवेशनमा जीत हासिल गर्नुभयो होइन ?
यो नेताको कारणले होला जस्तो लाग्दैन। राजनीति गर्ने नेतृत्वलाई सक्रियता र धैयताले काम गर्छ। म ४७ सालमा माध्यमिक विद्यालयमा पढाउँथे र कार्यकर्ताको अभावमा राजनीति गरेको हुँ। त्यहि बेलादेखि निरन्तर काम गर्दै हिडेँको छु। ४७ सालमा राष्ट्रिय युवासंघ नेपालको अध्यक्ष केपी ओली हुनुहुन्थ्यो। सुरुमा त संयोजक हुनुहुन्थ्यो। उहाँ अध्यक्ष हुँदा पहिलो अधिवेशनबाट म केन्द्रीय सदस्य थिएँ। दोस्रो अधिवेशनबाट केन्द्रीय सदस्य र सचिवालय सदस्य बनेँ। कयौँ विषयमा उहाँसँग छलफल हुने गर्दथ्यो। राजनीतिक संयोगले कहिलेकाहीँ आरोप लाग्ने हुन्छ। पार्टी विभाजन गर्ने मन्त्री खाने भन्नेमा म कहिले लागिन।
सुदूरपश्चिममा भीम रावलको गुट सशक्त छ भनिन्छ नि के छ माहौल?
मलाई त्यो गुट भन्ने लाग्दैन। उहाँ १०औँ महाधिवेशनमा अध्यक्ष लड्नु भएको थियो। अध्यक्ष लड्दै गर्दा सल्लाह व्यवस्थित भएन भन्ने उहाँको तर्क छ। तर उहाँलाई उपाध्यक्षको प्रस्ताव भएको थियो। केन्द्रीय सदस्यको योजनामा मसँग धेरै छलफल भएन भन्ने उहाँको तर्क छ। तर ढिलो र चाँडो जे भए पनि उहाँ उपाध्यक्ष भएको भए सुदूरपश्चिमलाई पनि फाइदा हुन्थ्यो। अहिले पनि अध्यक्ष लडेको मान्छेले पार्टी भित्र सक्रिय हुनुपर्छ। यसले पद पाउने नपाउने भनेको माथिल्लो उचाइ छ। कार्यकर्ताले त्यसको मूल्यांकन गरिरहन्छन्। पछिल्लो समय चाहिँ कुन पदमा कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको छ। त्यो वार्ता भइरहेको छ। उहाँले सुरुदेखि नै स्थानीय चुनावमा र यो भन्दा अघिल्लो प्रदेश र संघीय निर्वाचनमा लागि परेको भए उहाँ र पार्टी दुवैलाई फाइदा हुन्थ्यो।
सुदूर पश्चिममा राजनीतिभन्दा पनि मान्छेलाई विकास चाहिएको हो कि जस्तो देखिन्छ। तपाईं जिल्ला विकास समितिका पूर्व सभापति पनि हुनुहुन्छ। प्रदेशमा केन्द्रको राजनीतिले कत्तिको प्रभाव छ ?
मेरो विचारमा राजनीति भनेको नै विकासको लागि हो। यसका सिद्धान्त हुन्छन्, आ–आफ्नो बाटो हुन्छ। आफ्नो बाटोबाट जान सकिन्छ। म ५४ सालमा जिल्ला विकास समितिको निर्वाचित सभापति भएको थिएँ। त्यो समयमा धेरै काम भएका छन्। जिल्लाको स्रोत, आन्तरिक आम्दानी र अनुदान छुट्याएर विकास निर्माणका काम भए। सडक निर्माण भएको छ। यसले ढुवानी सहज भएको छ।
पहिले कुनै पनि बेलामा मोरङ र सुनसरीको बजेट बराबर सुदूरपश्चिमको बजेट हुन्थ्यो। हामी त्यसलाई उठाइरहन्छौँ। अहिले प्राकृतिक स्रोतबाट अरु राजस्वको क्षेत्रबाट संविधानमा अनुसूचीको आधारमा प्रस्ट ढङ्गले त्यहाँ बजेट जाने भएको छ। अहिले प्रत्येक पालिकाले आफ्नो डोजरहरू पनि किनेका छन्। सडकहरू बनाएका छन्। त्यहाँ केही प्रक्रिया नमिलेको भए त्यसलाई मिलाएर विकासमा प्रदेश आगाडि बढेको छ। सुदूरपश्चिम प्रदेश बिस्तारै माथि उठ्दै छ। नेतृत्वले गर्नुपर्ने काम गर्न सकेको छैन। नयाँ नेतृत्व आए पनि केही कानुन निर्माण प्रक्रियामै भएकाले हामीलाई समस्या परेको छ। लोकतन्त्र भनेको जीवन पद्धति हो। यसमा बिस्तारै सिक्ने आफूले नबिगार्ने र अरु राम्रा भएका कुरालाई खोजी गर्ने र जोगाउने हो।
राजनीति विकासको लागि चाहिन्छ तर यहाँ विकासमा नै राजनीति भएको छ नि ?
यो कुरा विकसित देशहरूले बुझेको छन्। अविकसित मुलुकमा हरेक विषयमा राजनीति भइरहेको हुन्छ। धेरै मुलुकमा यो समस्या देखिन्छ। पछिल्लो उदाहरण श्रीलंकालाई मान्न सकिन्छ। यो हुनु हाम्रो वा लोकतन्त्रको लागि दुर्भाग्य हो। राजनीति गर्नुपर्छ, राजनीतिले नै विकास हुने हो। तर संस्कारको राजनीति गर्नुपर्छ। अरुबाट राम्रा कुरा सिकेर मात्र राजनीति गर्नुपर्छ।
नयाँ पुस्ताले नयाँ कुरा खोजिरहेका छन्। पुरानो नेतृत्वको काम गर्ने शैलीले पार्टी नै धरापमा पर्ला नि ?
समयले यसलाई सच्याउँछ जस्तो लाग्छ। किनभने संसारका कयौँ देशहरू छन्। बेलायती साम्राज्य, अमेरिका र यूरोप त्यत्तिकै सम्पन्न भएका होइनन्। त्यहाँका शिक्षक बुद्धिजीवी सबैले मिलेर बनेको हो। हाम्रो देश पनि बिस्तारै बन्छ।
सङ्घीयतामा प्रदेशमा हामी नेता हुँदा के गर्यौं एउटा र दोस्रो कानून कस्तो बनायौँ र हामीले बनाएको समावेशिताको जुन सिद्धान्तका आधारमा संरचना बनेको भन्ने विषयमा गम्भीर बन्नुपर्ने देखिन्छ। प्रदेशमा पनि र केन्द्रमा पनि बहुमत कसैको आउन नसक्ने अवस्था छ। सबै मिलेर जानुको विकल्प देखिँदैन।
जसरी भए पनि सत्ता बदल्नको निम्ति जे मन लाग्यो त्यो गर्न थाल्ने हो भने हामी कुनै ठाउँमा पुग्दैनौँ। त्यसकारणले मान्छेहरूले पुरानो कुरा सम्झिन्छन् र अग्र गतिको गणतन्त्रको बाटो जनताका छोराछोरी राष्ट्रपति प्रधानमन्त्री हुने राम्रो बाटो भनेर लडेको बाटोलाई प्रश्न उठाउँछन्।
युवाको जोस र बुढापाकाको होस् भनेर त्यसरी जाँदा के भन्नु हुन्छ ?
हामी नेतृत्वको मान्छेहरूले प्रविधि कता गएको छ। युवाले यो क्षेत्रमा के गरिराखेका छन् भनेर खोज्नुपर्छ। हाम्रो शिक्षित जनशक्तिलाई देशमा बस्ने वातावरण बनाउनुपर्छ। हाम्रा डाक्टर र इन्जिनियरलाई नेपालमा सम्मानसँग बस्न पाउने वातावरण बनाउन सके हाम्रो मुलुक बनाउन सक्छौँ।
देशलाई कसरी माया गरेर विकास गर्न सकिन्छ त ?
आफ्नो मुलुकलाई आमालाई जस्तै प्यारो गर्नुपर्छ। यो देशलाई बिर्सिएर अर्कै देशको मोह मनमा राखेर यो देश बन्दैन। जस्तो सुकै अवस्थामा पनि प्यारो आमा हो। त्यस कारण अलिकति धैर्यता युवा पुस्ताले पनि गर्नुपर्छ । भ्रष्टाचार नगरी अगाडि बढौँ। लोकतन्त्रमा विकास हुन समय लाग्छ। सबैले धैर्य गरौँ। सबै मिलेर अगाडि बढे सुखी नेपाली, समृद्ध नेपाल बनाउने हाम्रो सपना पुरा हुनसक्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रतिक्रिया