सुरुङबाट उद्धार गरिएका भारतीय कामदार भन्छन्- बाँच्छौ बाँच्दैनौँ हामीलाई थाहा थिएन « Khabarhub

सुरुङबाट उद्धार गरिएका भारतीय कामदार भन्छन्- बाँच्छौ बाँच्दैनौँ हामीलाई थाहा थिएन


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले आफूहरुलाई बलियो बनाएको बताएका छन् ।

“हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो”, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भने, “बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।” म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेष रूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट) लामो स्टिल पाइपको माध्यमबाट तानिएपछि यी कामदारलाई नायकका रूपमा स्वागत गरिएको थियो । सुन्तला रङको सयपत्रीको माला लगाएर उनीहरूलाई जयजयकार गर्दै स्वागत गरिएको थियो ।

“हाम्रा लागि संसार फेरि सुन्दर छ”, जीवित कर्मचारी सबा अहमदले भने । उनले सुरुङमा फसेका बेला आफ्नी श्रीमतीको ‘चिन्तित र निराश’ आवाज सुन्दाको दुःख वर्णन गरे । भारतको सबैभन्दा गरिब राज्यमध्येको एक बिहारका अहमदले भने, “मलाई थाहा छ, भित्रका मानिसका लागि एउटा कठिन क्षण थियो र बाहिर परिवारहरूका लागि पनि अझ कठिन थियो तर अन्ततः हामी बाहिर आएका छौँ र यो नै महत्वपूर्ण कुरा हो ।” “म कति खुशी छु भनेर बताउनका लागि कुनै शब्द नै छैन”, बिहारबाट उनकी श्रीमती मुसर्रत जहाँले टेलिफोनबाट भनिन्, “मेरा श्रीमान्ले मात्र होइन हामीले पनि नयाँ जीवन पायौँ, हामी यसलाई कहिल्यै बिर्सने छैनौँ ।”

आफूहरूसँग पुग्ने पछिल्ला अपेक्षाबीच बारम्बार भग्नावशेष खस्दा र थुप्रै ड्रिलिङ मेसिन बिग्रिँदा आफ्नो आत्मालाई जोगाउन कति कठिन भएको थियो भनेर उनीहरूले बताएका छन् । “यो सजिलो थिएन”, कुमारले भने, “तीन वा चार दिनपछि र उद्धार टोली हामीसँग पुग्न असफल भएपछि हाम्रो आत्मविश्वास घटेको थियो ।”

सुरुङभित्र फसेका अधिकांश मानिस आप्रवासी कामदार हुन् । उनीहरू रोजगारीका खोजीमा आफ्नो घर छाडेर उत्तरी राज्य उत्तराखण्डको सिल्कयारा सुरुङमा काम गरिरहेका थिए । उक्त सुरुङ निर्माणस्थल उनीहरूको घरदेखि सयौँ किलोमिटर टाढा अत्यन्त चिसो हिमालयको फेदमा छ ।

पछि घटनास्थलबाट टाढाका परिवारहरूसँग सम्पर्क गर्न उद्धार टोलीले एउटा टेलिफोन एक्सचेन्ज स्थापना गरेको थियो । “मैले परिवारसँग भनेँ– म ठीक र स्वस्थ छु, चिन्ता नलिनू, सबै ठिक हुनेछ, हामी चाँडै बाहिर आउने छौँ”, कुमारले भने, “मैले उनलाई यी शब्दहरू भनिरहँदा मलाई कहिलेकाहीँ मैले अब कहिल्यै आफ्ना बुबाआमालाई देख्न पाउने छैन भन्ने महसुस हुन्थ्यो ।”

उद्धार गरिएका कामदार सुशील कुमारकी श्रीमती गुडियादेवीले भनिन्, “परिवार डरलाग्दो समयबाट गुज्रिएको थियो र कहिलेकाहीँ हामीले आशा गुमाएका थियौँ ।” झारखण्ड राज्यका ३२ वर्षीय चमरा उराउँले नोभेम्बर १२ मा पहाडी सुरुङ मार्गभित्रको गहिराइमा गडगडाहटको आवाज सुन्दा, भग्नावशेष खस्दा र ढुङ्गा झरेर बाहिर निस्कने एकमात्र मार्ग बन्द हुँदा आफूलाई कति डर लागेको थियो भनी वर्णन गरेका छन् । “म आफ्नो ज्यान बचाउन भागेँ तर गलततिर फसेँ, हामी लामो समयसम्म त्यहाँ रहने छौँ भन्ने स्पष्ट भयो,  हामी बेचैन भयौँ र भोकायौँ तर हामीले सहयोगका लागि चुपचाप प्रार्थना गर्यौँ”, उनले इन्डियन एक्सप्रेस अखबारलाई भने ।

सुरुङमा पहिलो २४ घन्टा कसरी सबैभन्दा खराब थियो भन्नेबारे सुबोधकुमार बर्माले बताए । त्यहाँ पहिला हावा सकिएन भने भोकले मर्ने उनलाई डर लागेको थियो । “हामीले त्यहाँ २४ घन्टा खाना र हावासँग सम्बन्धित समस्याहरूको सामना गर्नुपर्यो”, उनले भने । अक्सिजन लैजानका लागि उद्धार टोली एउटा सानो पाइप जोड्न सफल भएपछि मनोबल बढेको उनले बताए ।

सुरुमा मुरै र बीजहरूको सानो प्याकेट पठाइएको थियो । केही दिनपछि दाल र भातको उचित खाना पठाउन ट्युबलाई चौडा बनाइयो र प्लास्टिकको बोतलमा प्याक गरेर तल पठाइयो । “पाइपमार्फत खाद्य सामग्री पठाइएपछि अवस्था सहज भयो”, बर्माले भने । “जब हामीले पहिलो गाँस मुखमा हाल्यौँ, कुनै भगवान् हामीसँग आउनुभएको छ जस्तो लाग्यो”, उराउँले एक्सप्रेसलाई भने । यद्यपि उद्धारको प्रतीक्षामा व्यस्त रहन कठिन थियो । कामदारहरू आफ्नो मोबाइल फोनमा खेल खेलिरहन्थे । मोबाइल फोन चार्ज गर्न त्यहाँ बिजुली उपलब्ध थियो ।

“हामीले मोबाइलमा आफैँलाई लुडोमा व्यस्त राख्यौँ, हामीले आपसमा कुराकानी गर्यौँ र एकापसका बारेमा बुझ्यौँ”, उराउँले भने । सुरुङमा फसे पनि कामदारहरूलाई पर्याप्त स्थान थियो । भित्रको क्षेत्र आठ दशमलव पाँच मिटर उचाइ थियो र लम्बाइ करिब दुई किलोमिटरसम्म फैलिएको थियो । इन्जिनियरहरूलाई सल्लाह दिइरहने इन्टरनेसनल टनलिङ एन्ड अन्डरग्राउन्ड स्पेस एसोसिएसनका अध्यक्ष आर्नोल्ड डिक्सले भने, “उद्धारको प्रतीक्षामा कामदारहरू क्रिकेट खेल्न व्यस्त थिए भन्ने मैले सुनेको छु ।”

अन्ततः त्यो समय मङ्गलबार आयो । भग्नावशेषमा गाडिएको धातुको स्तम्भको बोरिङ ड्रिल भाँच्चिएपछि उद्धार टोलीले सानो ट्युबभित्र प्रविधिको प्रयोगमार्फत हातैले अन्तिम खण्ड खन्यो । भारतीय मिडियाले खन्ने व्यक्तिलाई ‘रक स्टार’ भनेका छन् । टाइम्स अफ इन्डियाले उनीहरूलाई ‘नाइट्स इन माइनिङ आर्मर’ र ‘सुरतको एक्का’ भनेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ३० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको