इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत | Khabarhub Khabarhub

इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गाजामा हमाससँग इजरायलको युद्ध दिन प्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।

गाजामा इजरायलको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २१ हजारभन्दा बढी पुगिसकेको छ । मृत्यु सङ्ख्या निरन्तर बढ्दै जाँदा अमेरिकाजस्ता इजरायलका निकटतम सहयोगीले युद्धबारे आफ्नो स्थितिमा पुनर्विचार गरिरहेका छन् । यद्यपि यो संयुक्त राष्ट्रसङ्घमा उनीहरूको मतमा प्रतिविम्बन भएको छैन ।

नेतान्याहु र उनको सरकारका मन्त्रीहरूले इजरायलको उद्देश्य हमासलाई विश्वको नक्साबाट हटाउनु रहेको स्पष्ट पारेका छन् । गत अक्टोबर ७ मा इजरायलमा क्रूर आक्रमण गरी एक हजार चार सय इजरायलीलाई मार्ने लडाकु समूह हमासको गाजा क्षेत्रमा गहिरो प्रभाव छ । जवाफमा व्यापक बमबारीसँगै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजामा हमास कार्यकर्तालाई लक्ष्य गर्दै रणनीतिकस्थलमा आक्रमण गरिरहेको छ ।

इजरायल–हमास द्वन्द्व लम्बिँदै जाँदा र प्यालेस्टाइनीको मृत्यु बढ्दै जाँदा भूराजनीतिक अवस्था बिग्रने छ । यसले पश्चिम एसिया (मध्यपूर्व) मा द्वन्द्व फैलिने ठूलो जोखिमलाई बढाउने छ । इजरायली हवाई आक्रमण र स्थल कारबाहीमा मारिने नागरिकको वृद्धि र इजरायली घेराबन्दीका कारण खाद्यान्न, पानी र औषधिको चरम अभावका कारण गाजामा मानवीय सङ्कट दिन प्रतिदिन बढ्दै गइरहेको छ । राष्ट्रसङ्घजस्ता बहुपक्षीय निकायले गाजामा मानवीय सङ्कटका बारेमा धेरै चेतावनी जारी गरेका छन् । यद्यपि इजरायलले आफ्नो अभियान अन्त्य गर्न अथक प्रयास जारी राखेको छ ।

राष्ट्रसङ्घको बढ्दो आलोचनाबीच इजरायली सरकारले विश्वव्यापी निकायका कर्मचारीका लागि स्वचालित प्रवेशाज्ञा समाप्त गर्ने निर्णय गरेको तथा ‘केस–टु–केस’ आधारमा दिनेबारे विचार गर्ने जनाएको छ ।

चीनको मध्यस्थतामा दुई कट्टर प्रतिद्वन्द्वी इरान र साउदी अरेबियाबीचको सम्बन्ध ऐतिहासिक सामान्यीकरण हुँदै गर्दा अक्टोबरमा इजरायल–हमास द्वन्द्वको सुरुआतले मध्यपूर्वमा शान्तिपूर्ण आशालाई ध्वस्त पारेको छ ।

त्यस्तै, अमेरिकी मध्यस्थतामा इजरायल र साउदी अरेबियाबीचको सम्बन्धलाई सामान्य बनाउन सम्झौता नजिकै रहेको बताइएका बेला अक्टोबरमा दक्षिणी इजरायलमा हमासको आकस्मिक आक्रमणले वर्षको अन्त्यसम्म चलेको घातक द्वन्द्वलाई निम्त्याएको छ । गाजा द्वन्द्व सुरु भएपछि साउदी अरेबियाले विरोधमा इजरायलसँग सामान्यीकरण प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गरेका इजिप्ट र जोर्डन गाजामा भएको इजरायली आक्रमण र प्यालेस्टाइनीको सामूहिक विस्थापनपछि इजरायलसँग चिढिएका छन् । मोरक्को, बहराइन र संयुक्त अरब इमिरेट्सजस्ता हालै इजरायलसँगको सम्बन्धलाई सामान्य बनाएका अन्य अरब राष्ट्रले पनि गाजापट्टीमा इजरायली आक्रमणको निन्दा गरेका छन् ।

हमासले अक्टोबर पहिलो हप्ता इजराइलमा घातक आक्रमण सुरु गरेपछि वर्तमान युद्ध सुरु भएको हो । इजरायल र हमासबीच अस्थायी युद्धविराम गर्न कतारको नेतृत्वमा रहेका मुलुकहरु सफल भएपछि यस क्षेत्रमा मानवीय क्षतिका घटना केही समयका लागि रोकिएको थियो । युद्धविरामका क्रममा युद्धरत पक्षहरूले कैदीबन्दी आदान प्रदानसमेत गरे पनि बन्दी सम्झौतालाई लिएर मतभेद उत्पन्न भएपछि युद्धविराम भङ्ग भयो र फेरि हिंसाको क्रम सुरु भयो ।

अमेरिका र युरोपेली देशहरूले इजरायल र हमासलाई वार्ताको टेबुलमा फिर्ता ल्याउन धेरै प्रयास गरे पनि युद्धको तीव्रताले दुवै पक्षले केही सुन्न मानेनन् । यस पटक युद्धले अपेक्षाकृत शान्तिपूर्ण पश्चिम किनारलाई पनि घेरेको देखिन्छ । यहाँ इजरायली सेनाले क्रिसमसका अवधिमा केही घातक आक्रमण गरेको छ । युद्धविरामका लागि अरब देशहरूले राष्ट्रसङ्घमा धेरै प्रस्ताव पेस गरेका थिए । तीमध्ये केही पारित पनि भए । केहीलाई भने अमेरिकाले रोकिदियो ।

यसैबीच इजिप्टले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ र दुवै पक्षले योजनालाई विचार गर्न इच्छा देखाएका छन् । पछिल्लो शान्ति योजनामा बन्धकहरूको क्रमशः रिहाइ र इजरायली नियन्त्रणमा रहेका गाजापट्टी र पश्चिम किनार दुवैको निरीक्षण गर्न दक्ष पेसेवारहरूले बनेको अन्तरिम प्यालेस्टाइनी प्रशासनको स्थापना समावेश छ ।

इजरायली सरकार पनि गाजामा लामो युद्धका लागि आर्थिक रूपमा तयार छ कि छैन भनेर निश्चित छैन । इजरायल–हमास युद्धले सन् २०२४ मा ५० अर्ब सेकेल (१४ अर्ब अमेरिकी डलर) खर्च हुने बताइएको छ । यस रकमले इजरायलको बजेट घाटा तीन गुणा बढाउने अनुमान गरिएको छ ।

इजरायलको वित्त मन्त्रालयको हालको तयारीले आईडीएफलाई सन् २०२४ फेब्रुअरीसम्म मात्र लड्न अनुमति दिएको छ । आगामी वर्षको पहिलो दुई महिनापछिको आर्थिक अवस्था अन्योल छ ।

उपबजेट आयुक्त इटाइ टेम्किनका अनुसार गाजा युद्धले कुल रक्षा खर्च ४८ अर्ब सेकेलभन्दा धेरैले बढेको छ । मुलुकको वित्तीय सन्तुलनमा गम्भीर प्रभाव पार्न सक्ने भएकाले टेम्किनले सन् २०२४ फेब्रुअरीपछि विस्तार हुने इजरायल–हमास युद्धको सम्भावनाबारे केही बताउन चाहेका छैनन् ।

इजरायलले गाजामा आफ्नो युद्धका लागि ३० अर्ब सेकेलभन्दा बढी छुट्याइसकेको तथा रक्षा मन्त्रालयको बजेट बढाउन केही आर्थिक उपाय विचार गरिरहेको छ । प्रमुख कुरा, युद्धले इजरायलको अर्थतन्त्रमा गम्भीर असर पार्ने सम्भावना छ । विज्ञहरूले यस वर्ष इजरायलको अर्थतन्त्र दुई प्रतिशतले घट्ने अनुमान गरेका छन् ।

अमेरिकाले हालसम्म इजरायललाई आफ्ना प्रयासमा समर्थन गरे पनि आगामी राष्ट्रपति चुनावले यथास्थितिमा केही गम्भीर प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले युक्रेन युद्धका समर्थनमा ७५ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ । यद्यपि उसको घरेलु राजनीतिमा अब किएभलाई दिइएको लगातार सहयोगमाथि प्रश्न उठिरहेको छ । यसबाहेक गाजामा विशेष गरी महिला र बालबालिकाको बढ्दो मृत्युका कारण अमेरिकालाई अन्तर्राष्ट्रिय मञ्चमा इजरायलको रक्षा गर्न कठिन भएको हुन सक्छ ।

रुससँग युक्रेन युद्धका लागि तयारी गर्न बढी समय भएकाले रुस–युक्रेन युद्ध लामो समय जारी रहे पनि इजरायल–हमास युद्ध धेरै लम्बिने देखिँदैन । घरेलु राजनीतिक बाध्यता र अपमानले इजराइली प्रधानमन्त्री नेतन्याहुलाई गाजामा हमासका लक्ष्यविरुद्ध पूर्ण शक्ति प्रयोग गर्न बाध्य तुल्याएको अनुमान गर्न सकिन्छ । इजिप्टको शान्ति योजना एक सुरुआत भए पनि इजराइलले थप युद्धविराम योजनाहरूमा विचार गर्न र सन् २०२४ को पहिलो छ महिनाभित्रै आफ्नो अभियान समाप्त गर्न इच्छुक हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ०८ बजे

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख