‘नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस्’  « Khabarhub

‘नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस्’ 


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छिन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आएकी उनले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरूले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताइन्।

भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा विमला राई पौडेलसँग भेट भएको र सो अवसरमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको उपविदेशमन्त्री नुल्यान्डले जानकारी दिइन्।

सो अवसरमा उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनको आगामी कदम, सङ्क्रमणकालीन न्याय प्रक्रिया, नेपालमा अमेरिकी लगानी बढाउने वातावरण निर्माणलगायत विषयमा छलफल भएको उनको भनाइ थियो ।  

उपविदेशमन्त्री नुल्यान्डले नेपालको लोकतन्त्र सुदृढीकरण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, आर्थिक वृद्धिलगायत क्षेत्रमा अमेरिकाले सहयोग र सहकार्य गर्दै आएको बताउँदै आगामी पाँच वर्षमा नेपालमा हरित ऊर्जा, विद्युतीकरण, साना तथा मझौला महिला उद्यमका क्षेत्रमा गर्ने सहयोगका बारेमा जानकारी गराउन पाउँदा गौरव महसुस गरेको बताइन्। उनले आजै ललितपुरको पाटन दरबार स्क्वायरस्थित पुरातात्विक महत्वका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकी थिइन् ।

उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिएकी हुन् । त्यसअघि उनी वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन्।

 उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसकेकी छिन् ।

तेत्तीस वर्षयता अमेरिकी कूटनीतिज्ञ रहेकी उनी अमेरिकी राष्ट्रपति ओबामा र विदेशमन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत थिइन्। उनी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकर्ताका विदेश मन्त्रालयकी प्रवक्ता थिइन् भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत थिइन् ।

उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेषदूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति चेनीकी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गरेकी थिइन्। उनले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसकेकी छिन् । उनले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेकी छिन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।